काठमाडौ, मंसिर १५ - देश भित्रिने र बाहिरिने रकमबीचको फरक शोधनान्तर बचत असोज मसान्तमा ३३ अर्ब रुपैयाँ नाघेको छ । गत फागुनमा साढे २३ अर्ब रुपैयाँले ऋणात्मक रहेको शोधनान्तर स्थितिमा रेमिट्यान्स, डलर अधिमूल्यन र निर्यातमा भएको सामान्य वृद्धिले सुधार भएको हो । गत वर्षको सोही अवधिमा यो ६ अर्ब ८८ करोड रुपैयाँले घाटा थियो ।
'डलरको मूल्य वृद्धि, दसैंका बेला वृद्धि भएको रेमिट्यान्स आप्रवाह र निर्यातले शोधनान्तरमा सुधार देखिएको हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने । रेमिट्यान्स यस वर्षको पहिलो ३ महिनामा २८ दशमलव ३ प्रतिशतले बढेर ७५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यो १४ दशमलव २ प्रतिशतले बढेको थियो ।
पहिलो ३ महिनामा २ अर्ब २० करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी बापत १८ करोड रुपैयाँ मात्र प्राप्त भएको थियो । रुपैयाँको तुलनामा अमेरिकी डलरको मूल्य १० रुपैयाँसम्म बढेको छ । एक वर्षको अवधिमा मूल्य वृद्धिमा भने कुनै परिवर्तन आएको छैन । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो ८ दशमलव ९ प्रतिशत नै
थियो । सबैभन्दा बढी खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि भएकाले मुद्रास्फीतिमा चाप परेको हो । आर्थिक वर्ष २०६८/६९ को तीन महिनासम्ममा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ९ प्रतिशतले बढेको छ । यो १८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १६ अर्ब ८७ करोड रुपैयाँको निर्यात थियो । असोज मसान्तमा विदेशी विनिमय सञ्चिति ३ खर्ब २५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । २०६८ असार मसान्तसम्म २ खर्ब ७२ अर्ब १० रोड रुपैयाँबाट १९ दशमलव ५ प्रतिशतले बढेको हो ।
निर्यातमध्ये भारततर्फ सबैभन्दा ठूलो वृद्धि देखिएको छ । समीक्षा अवधिमा भारततर्फको निर्यात १२ दशमलव १ प्रतिशतले बढेको छ । योे निर्यात अघिल्लो वर्षको सोही अवधिमा ११ दशमलव ९ प्रतिशतले बढेको थियो । अन्य मुलुकतर्फको निकासीमा नकारात्मक अवस्था जारी छ । यस आर्थिक वर्षको तीन महिनामा अन्य मुलुकतर्फको निकासी १ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो १ दशमलव ८ प्रतिशतले घटेको थियो । भारतमा जुटको सामान, जस्ता पाता, लत्ताकपडा, कपर वायर रड, तार र अलैंचीको निर्यात बढेको छ ।
अन्य मुलुकमा भने दाल, हस्तकलाका सामान, जडिबुटी र छालाका तयारी सामानको निर्यातमा कमी आएको छ । निर्यात मात्र नभएर आयात पनि बढ्दै गएको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ७ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यो १ खर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ५ दशमलव १ प्रतिशतले बढेर ९२ अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो ।
भारतबाट हुने आयात अघिल्लो वर्षभन्दा कम भएको छ । यस आर्थिक वर्षको तीन महिनामा भारतबाट हुने आयात ० दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ३२ दशमलव ७ प्रतिशतले बढेको थियो । अन्य मुलुकबाट हुने आयातमा भने वृद्धि आएको छ । गत वर्षको तीन महिनामा २७ दशमलव ४ प्रतिशतले घटेको अन्य मुलुकबाट आयात यस वर्षको सोही अवधिमा २३ दशमलव ४ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट विशेषगरी सुन तथा चाँदी, भटमासको कच्चा तेल, रासायनिक मल, विद्युतीय सामान र अन्य मेसिनरी तथा पार्टस्को आयातमा वृद्धि भएको छ ।
निर्यातमा देखिएको वृद्धिसँगै आयात पनि बढेकाले कुल वस्तु व्यापार घाटामा चाप परेको छ । यो तीन महिनामा ८ प्रतिशतले बढेर ८२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
No comments:
Post a Comment