काठमाडौ, पुस ५ - ओरालो लागेको घरजग्गा र अन्य लगानीका स्रोतबाट पनि सन्तोषजनक कमाइ नभइरहेका बेला बढेको डलरले बैंकहरूलाई निकै राहत दिएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकमा विदेशी मुद्राबाट हुने आम्दानी दोब्बर भएको हो । दोस्रो त्रैमासिकमा अझ आक्रामक देखिएको अमेरिकी डलरले बैंकिङ क्षेत्रको खातालाई तन्दुरुस्त राख्न सहयोग पुर्याउने देखिन्छ ।
असोज मसान्तसम्म वाणिज्य बैंकले विदेशी मुद्रा मार्फत ७४ करोड १ लाख रुपैयाँ कमाएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिभन्दा यो १ सय १० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा यो रकम ३५ करोड १६ लाख रुपैयाँ थियो । नाफामा गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७ प्रतिशत मात्र योगदान दिएको विदेशी मुद्राको आम्दानीको हिस्सा यस अवधिमा १५ प्रतिशत छुन खोजेको छ ।
'पहिलो त्रैमासिक भन्दा दोस्रोमा डलरको वृद्धि निकै भएकाले ठूला बैंकलाई चिट्ठा परेजस्तै हुन्छ,' राष्ट्र बैंकका एक पूर्वअधिकारीले भने । ठूलो बासलात भएका बैंकले धेरै सञ्चिति राख्न पाउने हुँदा विशेषगरी ठूला बैंकलाई राहत पुग्ने भए पनि चुस्त व्यवस्थापन गरेका साना बैंक पनि लाभमै रहेका छन् ।
'पर्यटक बढ्नु, सेवा व्यवसाय राम्रो हुनु र केही मात्रामा निर्यात सुधार भएकाले वाणिज्य बैंकको विदेशी मुद्राबाट हुने आम्दानी बढेको हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने । यसबाहेक सेवा क्षेत्रबाट भित्रिने डलर पनि वाणिज्य बैंकमा जम्मा
हुन्छ । विदेशी मुद्राको व्यवस्थापनबाट हुने यस्तो नाफाको २५ प्रतिशत सञ्चितिमा राखेर बाँकी नाफामा देखाउन सकिने प्रावधान छ ।
एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशी विदेशी मुद्राबाट हुने आम्दानी बढेसँगै अन्यबाट आम्दानी घटेकाले यसको वृद्धिदर उच्च देखिएको बताउँछन् । 'पछिल्लो समय डलर बढी अस्थिर भएकाले अब आउने नजिता फरक हुन सक्छ,' उनले भने । रेमिट्यान्स आउने क्रम बढेकाले विदेशी मुद्रा बढिरहेको उनले बताए ।
दोस्रो त्रैमासिक आउँदासम्म पनि डलरको मूल्य, रेमिट्यान्स र सेवा क्षेत्रबाट आय बढ्ने क्रम जारी छ । यसले बैंकको आम्दानी वृद्धि गर्न सहयोग गर्ने देखिन्छ । तर अस्थिर डलरको मूल्यले असर गर्न सक्ने सम्भावना पनि छ । 'वृद्धि नै हुन्छ भन्न सकिँदैन,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने, 'व्यवस्थापनमा सही निर्णय नभएर घाटा भएको पनि हुन सक्छ ।' डलरको मूल्य तल-माथि भइरहँदा डलर आफूसँग राख्ने समयले नाफा-घाटा निर्धारण गर्छ । 'बैंकहरूले आआफ्नो योजना अनुसार डलर राख्छन्,' पौडेलले भने, 'समय अनुसार नाफा- घाटा दुवै हुन सक्छ ।'
जोशी पनि डलर बढी अस्थिर भएकाले घाटा हुने सम्भावना बढी रहेको बताउँछन् । 'कुन बैंकको कस्तो अवस्था छ भनेर बाहिर आइसकेको छैन,' उनले भने, 'घाटा भएको पनि हुन सक्छ ।' बैंकहरूको बासलातको आकार वृद्धि भइरहे पनि नाफामा देखिनुपर्ने वृद्धि दोस्रो त्रैमासिक पनि उत्साहजनक नहुने बैंकर बताउँछन् ।
पहिलो त्रैमासिकमा बैंकहरूको पुँजी तथा दायित्व १२ प्रतिशतले बढे पनि खुद ब्याज आम्दानी भने १ प्रतिशतले घटेको छ । बैंकले निक्षेपकर्तालाई दिने ब्याज र ऋणीबाट लिने ब्याजको अन्तरले ब्याज आम्दानी हुन्छ । आर्थिक वर्षको पहिलो त्रैमासिकमा वाणिज्य बैंकको कुल ब्याज आम्दानी ६ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको उक्त शीर्षकमा ६ अर्ब ९६ करोड ३४ लाख रुपैयाँ थियो ।
No comments:
Post a Comment