बिर्तामोड -झापा, मंसिर १७ - यहाँ सञ्चालित कृषिउपज थोक बजारमा कोल्ड स्टोर निर्माण गर्न सके तरकारीको आयात रोकेर निर्यात गर्न सकिने कृषकले बताएका छन् ।
यो बजारले कारोबारको २६ प्रतिशतका हाराहारीमा भारत निर्यात गरिरहेको छ । यसलाई अझ बढाउन सकिने उनीहरूको दाबी छ । 'कोल्ड स्टोर र क्वारेन्टाइनको व्यवस्था हुने हो भने भारतका साथै तेस्रो मुलुकतर्फको निकासी सजिलै बढाउन सकिन्छ,' बजार सञ्चालक समितिका अध्यक्ष मोहन शिवाकोटीले भने, 'यसले कृषकका साथै समग्र अर्थतन्त्रमा सकारात्मक असर पुग्ने थियो ।'
बजारबाट गत आर्थिक वर्षमा १३ अर्ब ९६ करोड रुपैयाँ बराबरको १९ करोड ५२ लाख किलो बराबरको कृषिउपज बिक्री भएको थियो । सजिलै निकासी गर्न सकिने बंगलादेशमा भने भन्सार दर महँगो रहेकाले कृषिउपज निकासी ठप्पजस्तै छ । 'हामीले भन्सारमा ४५ प्रतिशत कर बुझाउनुपर्छ,' बजार सहव्यवस्थापक ध्रुव खनालले भने, 'भुटानले सहुलियतमा २४ प्रतिशत पाएको छ ।' सरकारले छलफलबाट भुटानसरह सुविधा दिन सके सुन्तलाको प्रशस्त निर्यात गर्न सकिने उनले बताए ।
बजारमा झापा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, तेह्रथुम लगायतका स्थानबाट फलफूल र तरकारी जम्मा हुने गरेको छ । पूर्वाञ्चलमा व्यावसायिक कृषि फस्टाएपछि बजारले लक्ष्यभन्दा दोब्बर कारोबार गर्दै आएको छ । गत आर्थिक वर्ष ३६ लाख आम्दानी गरेको बजारले चालू वर्षमा ४३ लाख रुपैयाँ आम्दानीको लक्ष्य लिएको छ । यूएनडीपीको आर्थिक सहयोगमा भवन निर्माण गरेर २०३९ सालदेखि अनरमनीमा बजार सुरु भएको हो । सुरुमा सरकारले सञ्चालन गरेको बजार २०५२ पछि स्थानिय सञ्चालक समितिले काम गरिरहेको छ । एक तलाको भवनबाट कारोबार गरिरहेको बजारमा एसियाली विकास बैंकको सहयोगपछि दोस्रो तला थपिएको छ । बजारको ४ करोड ५० लाख स्थिर पँुजी र करिब १० अर्ब रुपैयाँको सम्पत्ति छ ।
No comments:
Post a Comment