काठमाडौ, पुस २ - अमेरिकी डलरको बढ्दो र भारतीय रुपैयाँको घट्दो मूल्य नियन्त्रणका लागि भारतीय रिजर्भ बैंकले १४ वर्षपछि बजार 'हस्तक्षेप' गरेको छ । हस्तक्षेपले नेपालमा पनि अमेरिकी डलरको मूल्य बढ्ने क्रम रोकिने भएको छ ।
डलरको माग घटाउन विभिन्न कदम चालेर विनिमय दर नियन्त्रण गर्न थालिएको हो । व्यावसायिक बैंकलाई आवश्यकताभन्दा बढी डलर खरिद गर्न नदिने र भएको बिक्री गर्नेलगायत नीति केन्द्रीय बैंकले लिएको छ ।
विनिमय दर भनेको दुई प्रकारका मुद्रा साट्न प्रयोग हुने दर हो । भारतसँग रहेको स्थिर विनिमय दरअनुसार एक भारतीय रुपैयाँ नेपालीमा साट्दा १ रुपैयाँ ६० पैसा हुन्छ । अमेरिकी डलरसँग भारतको खुला बजार विनिमय दर छ ।
भारतीय कदमले आक्रामक रूपमा बढिरहेको डलरको मूल्य स्थिर हुनेछ । 'भारतमा डलरको भाउ बढ्न रोकिएपछि नेपालमा पनि रोकिन्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने ।
भारतमा ५२ रुपैयाँको हाराहारीमा अमेरिकी डलरको मूल्य रहने देखिन्छ । यसले नेपालमा डलरको मूल्य ८४ रुपैयाँको हाराहारीमा पुग्छ । भारतले डलरको मूल्य निश्चित अंकमा नतोकेका कारण थोरै घटबढ भने भइरहनेछ । अमेरिकी डलरको मूल्य भारतमा सबैभन्दा बढी ५४ रुपैयाँ ६५ पैसा र नेपालमा ८६ रुपैयाँ ३७ पैसासम्म पुगेको थियो । केन्द्रीय बैंकले चालेका कदमपछि डलरको मूल्य कम हुन सुरु भइसकेको छ । शुक्रबार भारतमा बजार खुल्दा डलरको मूल्य ५२ दशमलव २१ पैसासम्म भएको थियो । बजार बन्द हुने समयमा ५३ दशमलव ५२ रुपैयाँ पुगेको छ ।
भारतमा डलरको माग कम गर्न रिजर्भ बैंकले १९९७ को एसियाली संकटपछि पहिलो पटक बजार हस्तक्षेप गरेको हो । माग कम भएपछि मूल्य पनि घट्छ । माग घटाउन भारतीय रिजर्भ बैंकले स्थानीय बैंकको डलर राख्न सक्ने क्षमतालाई कम गरेको छ ।
प्राविधिक भाषामा 'ओपन पोजिसन' भनिने अवस्थामा बैंकहरूले जति पनि विदेशी मुद्रा खरिद गर्न सक्छन् । बिहीबार राति रिजर्भ बैंकले ओपन पोजिसनलाई परिवर्तन गरेको छ । जसबाट व्यावसायिक बैंकले आफ्नो पुँजी र आवश्यकताको आधारमा मात्र निश्चित डलर खरिद गर्न पाउनेछन् । अन्य बैंकले फाइदाका लागि धेरै डलर खरिद गरेपछि बजारमा माग बढेको थियो ।
फरवार्ड कन्ट्राक्ट -निश्चित समयपछि आजकै मूल्यमा गरिने कारोबारको सम्झौता) मा हुने सट्टेबाजीलाई पनि केन्द्रीय बैंकले रोक लगाएको छ । व्यवसायीले यस्तो सम्झौता अवधिअगावै रद्द गरेर पुनः नवीकरण गर्न पाउने छैन । यसले बजारमा डलरको माग घटाउनेछ ।
माग घटाउने यी दुई कदमसहित केन्द्रीय बैंकले डलर बिक्री गर्ने क्रम पनि बढाउने भएको छ । बजारमा बढी डलर पठाउँदा त्यसले पनि मूल्य वृद्धि रोकिन्छ ।
माग कम गरेर मूल्य बढ्न नदिए पनि अमेरिकी डलरलाई भारतले कमजोर नबनाउने विश्लेषक बताउँछन् । 'भारतले वृद्धि रोक्ने कदम चाले पनि ५२ रुपैयाँको हाराहारीमा राख्ने देखिन्छ,' एक मौदि्रक ज्ञाताले भने, 'धेरै कम गर्दा भारतमा हुने लगानी र व्यापार घाटा बढ्छ ।' अमेरिकी डलर भारतमा बलियो हुँदा महँगी बढे पनि व्यापारमा सुधार आउँछ । भारतमा लगानी गर्दा मूल्य धेरै हुने भएकाले विदेशी लगानीकर्ता पनि आकषिर्त हुन्छन् । यसका साथै निर्यात व्यापारमा पनि सुधार आउँछ ।
हालको अवस्थामा नेपाललाई पनि डलर महँगो भएकोभन्दा सस्तो हुँदा धेरै फाइदा छ । डलर महँगो हुँदा रेमिट्यान्स बढ्छ र विदेशी लगानीकर्ता आकषिर्त हुन्छन् । पस्मिना, गलंैचा, चिया, कफी लगायतका वस्तुले डलर महँगिँदा राम्रो मूल्य पाउँछन् । तर यसले महँगी पनि बढाउँछ ।
नेपालको कुल व्यापारमा निर्यातको हिस्सा जम्मा १५ प्रतिशत मात्र छ । आयातमा हुने खर्च ८५ प्रतिशत छ । यसले डलर बढ्दा १५ प्रतिशतलाई फाइदा हुन्छ भने घट्दा ८५ प्रतिशतलाई ।
आर्थिक वर्षको तीन महिनामा मुलुकको निर्यात गत वर्षको सोही अवधिभन्दा ६ दशमलव ९ प्रतिशतले बढेर १८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । सँगै आयात ७ दशमलव ८ प्रतिशतले बढेर १ खर्ब २६ करोड पुगेको छ । आयात र निर्यात बीचको असमानताले वस्तु व्यापार घाटा ८ प्रतिशतले बढेर ८२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यसको अर्थ निर्यात गरेर कमाएको पैसाभन्दा ८२ अर्ब बढी आयात गर्न मुलुकले खर्च गरेको छ । पछिल्लो तीन महिनामा डलरकै कारण आयात हुने वस्तुको मूल्य ३० प्रतिशत बढिसकेको व्यवसायी बताउँछन् ।
No comments:
Post a Comment