काठमाडौ, श्रावण १५ - लगानीमा निरन्तर वृद्धि भइरहे पनि उत्पादनमूलक क्षेत्रको वृद्धि भने घट्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दुई फरक तथ्यांकअनुसार लगानीमा उच्च वृद्धि भए पनि उत्पादनमूलक क्षेत्रको वृद्धि न्यून हुँदै गएको हो । यसले उत्पादनमूलक क्षेत्र भन्दै अन्यत्रै लगानी गएको आशंका बढाएको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकिङ क्ष्ाेत्रबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढेको छ । वर्षको पहिलो ११ महिनामा मात्रै यस क्षेत्रतर्फको लगानी १८ अर्ब ८२ करोड रुपैयाँले बढेको छ । तर औद्योगिक क्ष्ाेत्रको वृद्धि दर भने १ दशमलव ४ प्रतिशत मात्र छ । मौदि्रक नीतिले आर्थिक वर्ष २०६७/६८ मा उत्पादनमूलक उद्योग उपक्षेत्रको उत्पादन १ दशमलव ५ प्रतिशतले बढेको अनुमान गरेको छ ।
आर्थिक सर्वेक्षणअनुसार पछिल्लो ५ वर्षमा औद्योगिक क्ष्ाेत्रको वृद्धिदर शून्य दशमलव ३ प्रतिशत मात्रै रह्यो । अघिल्लो वर्ष बैंकिङ क्षेत्रको लगानी कम भए पनि वृद्धिदर भने बढी थियो ।
व्यवसायी भने ब्याजदर उच्च भएकाले ऋण लिन नसक्ने अवस्था आएको बताउँदै आएका छन् । ऋण लिए पनि पुँजीको लागत उच्च भएर फाइदा लिन नसक्ने अवस्था आएको उनीहरू बताउँछन् ।
बैंकहरूले उत्पादनमूलक भन्दै अन्य क्षेत्रमा गरेको लगानी अन्यत्रै 'मिलाएपछि' यस्तो अवस्था आएको अनुमान गरिएको छ । घरजग्गा क्षेत्रमा लगाइएको सीमा र कारोबारमा मन्दी आएपछि ब्याज तिर्न पनि नसक्ने अवस्था आएकाले यस्तो भएको हुनसक्ने राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन् ।
उत्पादनमूलक क्षेत्रको लगानी बढाउन राष्ट्र बैंकले बिभिन्न सुविधा दिँदै आएको छ । रोजगारी, आर्थिक वृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा पुनर्कर्जासमेत उपलब्ध हुँदै आएको छ । अन्य क्षेत्रमा भन्दा सहज रूपले लगानी उपलब्ध हुने भए पनि व्यवसायीले समेत उत्पादनमूलक क्षेत्रका लागि लिएको ऋण अन्यत्र लगानी गरेको हुनसक्ने बैंकर बताउँछन् ।
'घरजग्गा क्षेत्रको कर्जा लामो समयलाई दिइएको भए पनि तुरुन्तै घटाउनुपर्ने र ब्याज तिर्न नसक्नेलाई ब्याज भुक्तानी गर्नका लागि ऋण दिँदा यस्तो अवस्था आएको हुनसक्छ,' स्रोतले भन्यो, 'अन्य क्षेत्रको ऋणको पोर्टफोलियोलाई परिवर्तन गरेको हुनसक्छ ।'
बैंक तथा वित्तीय संस्थाले ठूलो मात्रामा लगानी गरेको घरजग्गा क्षेत्रबाट ब्याज नै उठ्न छाडेपछि पुनः ऋण दिएर भए पनि व्याज भुक्तानी नगरे ठूलो मात्रामा रकम जोखिम व्यवस्थापन गर्नुपर्ने भएपछि उत्पादनमूलक क्षेत्रका नाममा अन्यन्त्र लगानी भएको हुनसक्ने अनुमान गरिएको छ ।
करिब १ खर्ब लगानी देखिने घरजग्गा क्षेत्रमा पछिल्लोपटक सुस्तता आएको छ । जसबाट ऋणको ब्याज तिर्नसमेत समस्या भइरहेको व्यवसायी बताउँछन् । निरन्तर बढी रहेको ब्याज र लगानी थप हुन नसकेकाले व्यवसाय नै घरायसी भएको उनीहरू बताउँछन् ।
'हाउजिङलाई उत्पादनमूलक उद्योगकै रूपमा ऋण दिइँदै आएको छ,' जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले भने, 'तर पछिल्लो समयमा थप ऋण आएको भने छैन ।' ब्याजदर महंँगो भएकाले लगानी गर्नभन्दा बैंकमा पैसा जम्मा गर्न प्रोत्साहन मिलेको उनी बताउँछन् ।
राष्ट्र बैंकले भने आर्थिक वर्षको सुरुमा हुने अनुगमनबाट सबै कुरा बाहिर आउने बताएको छ । 'सुपरिवेक्षणबाट सबै कुरा बाहिर आउँछ,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले भने, 'के कारणले भएको हो ट्रयाकमा लैजान्छौं ।'
राष्ट्र बैंकले पछिल्लो असार मसान्तमा भुक्तानी हुनुपर्ने साँवा र ब्याजको समय एक महिना थप गरेको छ । यसले बैंकहरूको नाफा र जोखिम व्यवस्थापनमा सहयोग पुगेको छ ।
मौदि्रक नीतिले आगामी ३ वर्षमा कुल लगानीको २० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने व्यवस्था गरेको छ । यस्तो लगानीबारे सञ्चालक समितिले अर्थवाषिर्क समीक्षा गर्दै राष्ट्र बैंकलाई विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । 'अनिवार्य नगद मौज्दात घटाएको उत्पादनमूलक क्षेत्रमा लगानी होस् भनेर हो' ज्ञवालीले भने ।
No comments:
Post a Comment