Friday, July 1, 2011

वित्तीय क्षेत्र सुधारमा राष्ट्र बैंक र सरकारले सहकार्य गर्ने

काठमाडौ, अषाढ १७ - राष्ट्र बैंकले तरलता अभावसँगै घरजग्गा क्षेत्रको जोखिम कम गरी वित्तीय क्षेत्र सुधारका लागि प्राविधिक अध्ययन थालेको छ । यससँगै थप सहयोगका लागि सरकारसँग आग्रह गर्ने भएको छ ।
कान्तिपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले एक वित्तीय संस्थामा देखिएको समस्याका कारण अरूलाई प्रभाव पर्न नदिन पनि अध्ययन केन्दि्रत रहेको बताए । 

 'अन्तर्राष्ट्रिय मुद्रा कोषका एक प्रतिनिधिको समेत सहयोगमा प्राविधिक टोलीले अध्ययन गरिरहेको छ,' अधिकारीले भने, 'विभिन्न क्षेत्रमा बैंक, बैंकर र प्रवर्द्धकको लगानीबारे समेत अध्ययन हुँदै छ ।'
तरलता अभाव कम गर्न विभिन्न योजनासहित सरकारको पनि सहयोग लिने तयारी राष्ट्र बैंकले गरेको उनले बताए ।  'सरकारसँग पनि आवश्यक सहयोग लिनेबारे प्रारम्भिक गृहकार्य भइरहेको छ,' उनले भने, 'यो प्रस्ताव सञ्चालक समितिमा लाने तयारी भइरहेको छ ।'
 केही वित्तीय संस्थामा तरलताको अभाव देखिए पनि समग्र वित्तीय परिसूचकले बैंकिङ क्षेत्रमा ठूलो समस्या नदेखाएको अधिकारीले बताए । 'वाणिज्य बैंकको निक्षेप ६ सय ५६ अर्ब, विकास बैंकको ९० अर्ब र वित्त कम्पनीको ८४ अर्ब पुगेको छ,' उनले भने, 'वैदेशिक मुद्रा सञ्चिति र विप्रेषणमा पनि सुधार आएको छ ।' केही वित्तीय संस्थामा समस्या हुँदा त्यसले अन्यलाई पनि असर गर्ने हुँदा राष्ट्र बैंकले विभिन्न सुधारका विकल्प ल्याएको उनले बताए ।
घरजग्गा क्षेत्रमा भएको लगानी र त्यससँगै भएको मूल्य वृद्धिले समस्या आइरहेको बैंकर्स संघका अध्यक्ष अशोक राणाले बताए । 'यस क्षेत्रमा प्रवाह भएको कर्जा पुनःसंरचना गर्दा समस्या केही हल गर्न सकिन्छ,' उनले भने, 'हामीले राष्ट्र बैंकलाई लिखित अनुरोध गरिसकेका छौं ।' यसले केही समय सहज अवस्था आउन सक्ने उनले बताए । दीर्घकालीन समाधानका लागि भने मर्जरलाई प्राथमिता दिनुपर्ने उनको राय थियो ।
विकास बैंक संघका अध्यक्ष झपट बोहोराले पनि पुनःसंरचनासँगै पुनर्तालिकीकरण पनि आवश्यक रहेको बताए । 'यसबाहेक सरकारले बजेटबाट वित्तीय संस्थालाई केही राहत दिन आवश्यक देखिएको छ,' उनले भने, 'मर्जरलाई प्रोत्साहन गर्नु अर्को आवश्यकता हो ।'
केही वित्तीय अनुशासन राख्न नसकेका संस्थाका कारण अन्य संस्थामा समेत समस्या पर्दै गएको वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्र मान शाक्यले बताए । संस्थागत निक्षेपकर्ताले विश्वास नगरेपछि विभिन्न समस्या देखिएको उनले बताए । 'केही संस्थाका सञ्चालकमा विचलन देखिएको छ,' उनले भने, 'तर त्यसको मारमा सबै पर्नु भएन ।' गल्ती गर्ने संस्था वा सञ्चालकलाई कारबाही गर्न संघले सहयोग गर्ने उनले बताए ।
राष्ट्र बैंकले तरलता सुधारका लागि दिइरहेको सुविधा लिन संस्थागत सुशासन र असल ऋण आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ । 'राष्ट्र बैंकले संस्थाको अध्ययन गरेर मात्र विभिन्न तरलताको सुविधा दिन्छ,' अधिकारीले भने, 'आवश्यक परेका र सुधार हुने संस्थालाई तरलता दिइरहेका छौं ।' कुनै वर्ग विशेषलाई विशेष पुनर्कर्जा नदिने नीति राष्ट्र बैंकको नरहेको उनले प्रस्ट्याएका थिए ।
सभासद तथा अर्थविद् हरि रोकाले वित्तीय क्षेत्रमा संरचनागत सुधार आवश्यक रहेको बताए । 'उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा सर्वसाधारणले बचत गर्न सकेनन्,' उनले भने, 'स्थायी समाधानका लागि राष्ट्र बैंकले चालेका कदम ठीक छन् ।' बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गरेर लगानीको क्षेत्र पनि पहिचान गर्न जरुरी रहेको उनले
बताए । 'घरजग्गालगायत पुरानो क्षेत्रमा लगानी हुँदा अब अर्थतन्त्रले धान्दैन,' उनले भने, 'त्यसैले सबै बसेर लगानीको नयाँ क्षेत्रबारे बहस हुन जरुरी छ ।' कार्यक्रमका सहभागीले आर्थिक अनियमितता गर्नेमाथि कारबाही हुनुपर्ने बताउँदै यसका कारण समग्र वित्तीय क्षेत्रको साख गुम्न नदिन सबैको प्रयास आवश्यक रहेको बताएका थिए ।

No comments:

Post a Comment