सुजित महत/रोशन अधिकारी
काठमाडौं, श्रावण १६ - फूलबारी रिसोर्ट एन्ड स्पाका सञ्चालक एवं उद्योगी पियूषबहादुर अमात्यसहित तीन जनालाई प्रहरीको अपराध अनुसन्धान शाखाले गिरफ्तार गरेको छ ।
स्पाभित्र सञ्चालन गरिएको फिस्टेल गेमिङमा लगानी साझेदार बनाई ठगी गरेको उजुरीका आधारमा आमात्यसहित सञ्जीव तुलाधर, रजत गुरुङलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।
प्रहरी स्रोतका अनुसार अमात्य समूह माथि गेमिङका लगानीकर्ता आलोक रौनियार र दीपबहादुर बस्नेतले ५ करोडभन्दा बढी ठगी गरेको अभियोग लगाएका छन् । '४ करोड ४० लाख रुपैयाँ अमात्यको खातामा पठाएको प्रमाण पेस भएको छ,' प्रहरी स्रोतल भन्यो, 'एक डेढ करोड रुपैयाँ पनि बुझाएको बताएका छन् ।'
कम्पनीमा साझेदार बनाएर आफैं बन्द गराउन संलग्न भएको र ठगेको आरोप अमात्यमाथि छ । कम्पनी स्थापना कालदेखि अमात्य, तुलाधर र गुरुङले साझेदारका रूपमा काम गरेका थिए । रौनियार र बस्नेत भने पछि थपिएका लगानीकर्ता हुन् । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर २०६५ सालदेखि केही समय सञ्चालनमा रहे पनि फिस्टेल गेमिङ हाल बन्द छ ।
विभिन्न बैंकबाट ऋण लिएर चुक्ता नगरी कालोसूचीमा समेत परेका अमात्य फूलबारी सँगै माउन्ट एभरेस्ट ब्रेवरीका समेत मालिक हुन् । बैंक ऋण नतिरेको नभई ठगीका मुद्दामा अमात्यलाई पक्राउ गरिएकाले बैंकहरूलाई भने राहत हुने छैन । 'बैंकहरूले गरेको उजुरीको आधारमा पक्राउ परेको देखिँदैन,' राष्ट्र बैंक स्रोतले भन्यो, 'यसबाट ऋण दिएका बैंकलाई राहत हुने देखिँदैन ।'
अमात्यले लिएको ऋण नबुझाएर २०६२ सालदेखि ०६५ मा १२ पटक कालोसूचीमा नाम परिसकेको छ । उनले नेपाल स्टिल, ब्रेवरी र एभरेस्ट आइसक्रिम नामक कम्पनीबाट लिएको १२ वटा ऋण नतिरेको कर्जा सूचना केन्द्रको तथ्यांकमा उल्लेख छ ।
उनले लिएको ऋणमा सबैभन्दा धेरै रकम सरकारी वित्तीय संस्था नेपाल बैंक र राष्ट्रिय वाणिज्यबाट प्रवाह भएको छ । 'करिब ३ अर्ब ऋण लिएको देखिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'यसमा सबैभन्दा बढी नेपाल बैंकबाट छ ।' २०६२ सालदेखि कालोसूचीमा रहेका उनले समयसमयमा थोरै ऋण भुक्तानी गरेका थिए । 'तर भुक्तानी नगण्य मात्रामा छ,' स्रोतले भन्यो, 'त्यसले ठूलो असर गरेको छैन ।' वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भएपछि नेपाल बैंकको नयाँ व्यवस्थापनले अमात्यलाई कारबाही गरी रकम उठाउन र भिसा नदिन अर्थ मन्त्रालयदेखि विदेशी कूटनीतिक नियोगसम्म पत्राचार गरेका थिए ।
अमात्यले लिएको अधिकांश ऋणमा परिवारका अन्य सदस्यको समेत संलग्नता छ । कालोसूचीमा परेपछि पनि ऋण उठ्न नसकेपछि अमात्यको राहदानी जफत गरिएको छ । सर्वोच्च अदालतले समेत अमात्यलाई ऋण चुक्ता गर्न निर्देशन दिइसकेको छ ।
No comments:
Post a Comment