काठमाडौ, अषाढ २५ - चालू आर्थिक वर्ष बैंकिङ क्षेत्रका लागि निकै उतारचढावपूर्ण रह्यो । घरजग्गा र सेयर धितो कर्जाको व्यवस्थापन वित्तीय संस्थाका लागि चुनौतीपूर्ण छ । वित्तीय अनुशासनमा चल्न नसकेका केही वित्तीय संस्थामा ठूलो समस्या पनि देखिएको छ । विश्लेषकहरू मौदि्रक नीति नै असफल भएको भन्न पनि पछि परेका छैनन् । तर यस वर्षको मौदि्रक नीतिले राजधानी बाहिर विशेष गरी दुर्गममा शाखा खोल्न ल्याएको व्यवस्थाले वित्तीय संस्थाहरू आम सर्वसाधारणको नजिक पुगेका छन् ।बैंक तथा वित्तीय संस्थाको संख्यासँगै सर्वसाधारणको घर आँगनमै बैंक पुग्ने क्रम बढेको छ । आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरूले २ सय ४९ शाखा खोलेका छन् । अघिल्लो आर्थिक वर्षभरि २ सय १४ शाखा थपिएका थिए ।
शाखा विस्तारसँगै बैंकिङ सेवामा सर्वसाधारणको पहुँच बढेको हो । २०६६ असार मसान्तमा एक शाखाले करिब २३ हजार ७ सय लाई सेवा दिइरहेकामा २०६७ असारमा एउटा शाखाले औसत १७ हजार ८ सयलाई वित्तीय सेवा दिन सक्ने देखिएको छ । वाणिज्य बैंकहरूले सबैभन्दा बढीलाई सेवा दिएका
छन् । २०६७ चैतसम्ममा २३ हजार ८ सय व्यक्तिका लागि एउटा शाखा खुलेको छ । गत वर्ष एक शाखा बराबर २९ हजार ३ सय व्यक्ति थिए ।
धेरै व्यक्तिले शाखाबाट कारोबार पाउन थालेपछि प्रतिव्यक्ति निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ । वाणिज्य बैंकहरूमा प्रतिव्यक्ति निक्षेप २० हजार १ सय रुपैयाँ छ । गत वर्ष यो १९ हजार ५ सय थियो । निक्षेपसँगै कर्जा पनि बढेको छ । प्रतिव्यक्ति कर्जा ५ सय २४ रुपैयाँ छ । यो गत वर्षभन्दा ५२ रुपैयाँ बढी हो ।
२०६६ असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको शाखा संख्या क्रमशः ९ सय ६६, ३ सय ५८, २ सय ६५ गरी १ हजार ५ सय ८९ पुगेको थियो । २०६७ चैत मसान्तसम्म वाणिज्य बैंकहरूको शाखा संख्या १ हजार २ सय १५ पुगेको छ । यसैगरी विकास बैंक, वित्त कम्पनी तथा लघु वित्त संस्थाहरूको शाखा संख्या क्रमशः ४ सय ८६, २ सय ७१ र ४ सय २७ पुगेको छ ।
बैंकिङ क्ष्ाेत्रको द्रुत विकास भइरहे पनि देशका १८ जिल्लामा वाणिज्य बैंकको एउटा मात्रै शाखा छ । बैंकहरूको सबैभन्दा बढी पहुँच मध्यमाञ्चल विकास क्षेत्रमा छ । असार मसान्तसम्म पूर्वाञ्चलमा २ सय ५०, मध्यमाञ्चलमा ८ सय ९, पश्चिमाञ्चलमा ३ सय ६३, मध्यपश्चिमाञ्चलमा १ सय ५ र सुदूरपश्चिमाञ्चलमा ६२ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूको शाखा संख्या यी विकास क्षेत्रमा क्रमशः १ सय ७८, ५ सय, १ सय ७४, ६६ र ४८ छ ।
सेयर बजारमा पनि कम्पनी थपिने क्रम जारी छ । नेपाल स्टक एक्सचेन्जमा आर्थिक वर्ष २०६७/६८ को नौ महिनासम्ममा सूचीकृत कम्पनीको संख्या २ सय ४ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको नौ महिनामा १ सय ६९ मात्र थियो । २०६७/६८ को ९ महिनामा १० वटा कम्पनीले साधारण सेयरको प्राथमिक निष्कासन गरेका थिए । यही समयमा २१ वटा संस्थाले हकप्रद सेयर निष्कासन गरेका छन् । दुवैको गरी कुल ३१ वटा संस्थाबाट जम्मा ४ अर्ब २४ करोड ४५ लाख मूल्य बराबरको सेयर बिक्री भएको छ । यो रकम गत वर्षको
सोही अवधिभन्दा ५० दशमलव ७९ प्रतिशतले कम हो ।
कम्पनी र सेयरको संख्या बढ्दै गए पनि कारोबार रकम भने घट्ने क्रममा छ । २०६६/६७ को ९ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा कारोबार रकम ५२ दशमलव ९७ प्रतिशतले घटेको छ । नाै महिनामा ४ अर्ब ६३ करोड ८४ लाख मूल्यको १ करोड ७८ लाख ९७ हजार कित्ता धितोपत्र कारोबार भएको छ ।
कारोबार रकम घटे पनि कारोबार संख्या भने बढेको देखिन्छ । अर्थिक वर्ष २०६७/६८ को प्रथम नौ महिनामा आर्थिक वर्ष २०६६/६७ को सोही अवधिको तुलनामा कारोबार संख्यामा ४० दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । यो समयमा २ लाख २९ हजार ८३ वटा कारोबार भएको छ । आर्थिक वर्षको अन्त्य हुने समयसम्म सेयर बजार सुधारका लागि विभिन्न कार्यक्रम सुरु गरिएको छ । जसमा धितोपत्र दलाल थप्ने काम, सामूहिक लगानी कोषको कानुनी व्यवस्था, धितोपत्र बजार सुधारका लागि ५ वर्षे पुँजी बजार गुरुयोजनालगायत छन् ।
No comments:
Post a Comment