Sunday, July 31, 2011

लगानी बढ्यो, उत्पादन बढेन

काठमाडौ, श्रावण १५ -  लगानीमा निरन्तर वृद्धि भइरहे पनि उत्पादनमूलक क्षेत्रको वृद्धि भने घट्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दुई फरक तथ्यांकअनुसार लगानीमा उच्च वृद्धि भए पनि उत्पादनमूलक क्षेत्रको वृद्धि न्यून हुँदै गएको हो । यसले उत्पादनमूलक क्षेत्र भन्दै अन्यत्रै लगानी गएको आशंका बढाएको छ । 
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकिङ क्ष्ाेत्रबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढेको छ । वर्षको पहिलो ११ महिनामा मात्रै यस क्षेत्रतर्फको लगानी १८ अर्ब ८२ करोड रुपैयाँले बढेको छ । तर औद्योगिक क्ष्ाेत्रको वृद्धि दर भने १ दशमलव ४ प्रतिशत मात्र छ । मौदि्रक नीतिले आर्थिक वर्ष २०६७/६८ मा उत्पादनमूलक उद्योग उपक्षेत्रको उत्पादन १ दशमलव ५ प्रतिशतले बढेको अनुमान गरेको छ । 
आर्थिक सर्वेक्षणअनुसार पछिल्लो ५ वर्षमा औद्योगिक क्ष्ाेत्रको वृद्धिदर शून्य दशमलव ३ प्रतिशत मात्रै रह्यो । अघिल्लो वर्ष बैंकिङ क्षेत्रको लगानी कम भए पनि वृद्धिदर भने बढी थियो । 
व्यवसायी भने ब्याजदर उच्च भएकाले ऋण लिन नसक्ने अवस्था आएको बताउँदै आएका छन् । ऋण लिए पनि पुँजीको लागत उच्च भएर फाइदा लिन नसक्ने अवस्था आएको उनीहरू बताउँछन् । 
बैंकहरूले उत्पादनमूलक भन्दै अन्य क्षेत्रमा गरेको लगानी अन्यत्रै 'मिलाएपछि' यस्तो अवस्था आएको अनुमान गरिएको छ । घरजग्गा क्षेत्रमा लगाइएको सीमा र कारोबारमा मन्दी आएपछि ब्याज तिर्न पनि नसक्ने अवस्था आएकाले यस्तो भएको हुनसक्ने राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन् । 
उत्पादनमूलक क्षेत्रको लगानी बढाउन राष्ट्र बैंकले बिभिन्न सुविधा दिँदै आएको छ । रोजगारी, आर्थिक वृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा पुनर्कर्जासमेत उपलब्ध हुँदै आएको छ । अन्य क्षेत्रमा भन्दा सहज रूपले लगानी उपलब्ध हुने भए पनि व्यवसायीले समेत उत्पादनमूलक क्षेत्रका लागि लिएको ऋण अन्यत्र लगानी गरेको हुनसक्ने बैंकर बताउँछन् । 
'घरजग्गा क्षेत्रको कर्जा लामो समयलाई दिइएको भए पनि तुरुन्तै घटाउनुपर्ने र ब्याज तिर्न नसक्नेलाई ब्याज भुक्तानी गर्नका लागि ऋण दिँदा यस्तो अवस्था आएको हुनसक्छ,' स्रोतले भन्यो, 'अन्य क्षेत्रको ऋणको पोर्टफोलियोलाई परिवर्तन गरेको हुनसक्छ ।' 
बैंक तथा वित्तीय संस्थाले ठूलो मात्रामा लगानी गरेको घरजग्गा क्षेत्रबाट ब्याज नै उठ्न छाडेपछि पुनः ऋण दिएर भए पनि व्याज भुक्तानी नगरे ठूलो मात्रामा रकम जोखिम व्यवस्थापन गर्नुपर्ने भएपछि उत्पादनमूलक क्षेत्रका नाममा अन्यन्त्र लगानी भएको हुनसक्ने अनुमान गरिएको छ । 
करिब १ खर्ब लगानी देखिने घरजग्गा क्षेत्रमा पछिल्लोपटक सुस्तता आएको छ । जसबाट ऋणको ब्याज तिर्नसमेत समस्या भइरहेको व्यवसायी बताउँछन् । निरन्तर बढी रहेको ब्याज र लगानी थप हुन नसकेकाले व्यवसाय नै घरायसी भएको उनीहरू बताउँछन् । 
'हाउजिङलाई उत्पादनमूलक उद्योगकै रूपमा ऋण दिइँदै आएको छ,' जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले भने, 'तर पछिल्लो समयमा थप ऋण आएको भने छैन ।' ब्याजदर महंँगो भएकाले लगानी गर्नभन्दा बैंकमा पैसा जम्मा गर्न प्रोत्साहन मिलेको उनी बताउँछन् । 
राष्ट्र बैंकले भने आर्थिक वर्षको सुरुमा हुने अनुगमनबाट सबै कुरा बाहिर आउने बताएको छ । 'सुपरिवेक्षणबाट सबै कुरा बाहिर आउँछ,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले भने, 'के कारणले भएको हो ट्रयाकमा लैजान्छौं ।' 
राष्ट्र बैंकले पछिल्लो असार मसान्तमा भुक्तानी हुनुपर्ने साँवा र ब्याजको समय एक महिना थप गरेको छ । यसले बैंकहरूको नाफा र जोखिम व्यवस्थापनमा सहयोग पुगेको छ । 
मौदि्रक नीतिले आगामी ३ वर्षमा कुल लगानीको २० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने व्यवस्था गरेको छ । यस्तो लगानीबारे सञ्चालक समितिले अर्थवाषिर्क समीक्षा गर्दै राष्ट्र बैंकलाई विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । 'अनिवार्य नगद मौज्दात घटाएको उत्पादनमूलक क्षेत्रमा लगानी होस् भनेर हो' ज्ञवालीले भने ।

Saturday, July 30, 2011

महँगियो पुँजीको लागत

काठमाडौ, श्रावण १४ - यतिखेर कर्जा दिने बैंक र ऋण लिने ग्राहकले एकैखाले समस्या भोग्नुपरेको छ । वित्तीय संस्थाले लगातार ब्याज बढाए पनि कम मात्रै निक्षेप संकलन भइरहेको छ । अर्कोतर्फ यी संस्थाले ग्राहकबाट लिने ब्याजदर आकासिएपछि उद्यमी व्यवसायी र सर्वसाधारण ऋण लिन हिच्किचाइरहेका छन् । यसबाट वित्तीय क्षेत्रसँगै निजी क्षेत्रको विस्तार निकै सुस्त छ । सर्वसाधारणले पनि उपभोग बढाउन सकेका छैनन् ।
पुँजीको मूल्य महँगो भएर नयाँ उद्योग खोल्न र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएको गुनासो निजी क्षेत्रले गरिरहेको समयमा बैंकरलाई पनि तरलता (लगानीयोग्य पुँजी) को समस्याले उत्तिकै सताएको छ ।
पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर औसत ५ प्रतिशत बिन्दुले बढेको छ । वाणिज्य बैंकको ऋणमा लिने ब्याजदर औसत ७ बाट १३ सम्म पुगेको छ । विकास बैंकको ११ बाट १५, वित्त कम्पनीको १५ बाट २० प्रतिशतसम्म पुगेको छ । निक्षेपको ब्याजदर पनि १२ देखि १६ सम्म छ । बढेको ब्याजदरले लगानी गर्ने वातावरण नरहेको र महँगी बढाएको अनुभव व्यवसायीको छ ।
चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश बस्नेत औद्योगिक क्षेत्रको ब्याजदर ५० देखि ५५ र व्यापारमा ६० देखि ६५ प्रतिशत बढेको बताउँछन् । 'औद्योगिक लगानीमा ८ बाट १२/१३ र व्यापारमा १०/११ बाट १५/१६ प्रतिशतसम्म ब्याज पुगेको छ,' उनले भने, 'यसले महँगी पनि बढ्दै जाने देखिन्छ ।' महँगोमा ऋण लिएपछि त्यहीअनुरूप बिक्री वितरणमा तोकिने मूल्य वृद्धि हुने भएर महँगी बढ्ने उनले बताए । 'यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चालेको देखिँदैन,' उनले भने ।
कुनै समय नाफा र लगानीको मुख्य क्षेत्र रहेको घरजग्गामा एक वर्षभित्र ब्याजदर दोब्बर बढेको व्यवसायी बताउँछन् । 'अघिल्लो वर्ष ८ देखि साढे ८ प्रतिशत ब्याजमा ऋण पाइन्थ्यो,' जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठ भन्छन्, 'अहिले १५ देखि १७ प्रतिशत सम्म पुगेको छ ।'
बढेको ब्याजदर र घरजग्गा क्षेत्रको लगानीमा लगाइएको सीमाका कारण व्यवसाय ठप्प भएको उनी बताउँछन् । 'अहिले त ब्याज तिर्न नसक्ने अवस्था आएको छ,' उनले भने, 'यस्तो समयमा पनि थप बढाउने कुरा सुनिन्छ ।' बैंकले बढाएको ब्याज तर्कसंगत नभएको र आफूखुसी वृद्धि भइरहेको उनले बताए । 'निक्षेपमा बढेको ब्याजदरले ऋणमा पनि बढाएको भनिन्छ,' श्रेष्ठ भन्छन्, 'तर बैंक वित्तीय संस्थाकै विवरण हेर्ने हो भने त्यो झूटो सावित हुन्छ ।'
नाफा घटेको नदेखिए पनि तरलता अभावकै कारण ब्याजदर घटाउन नसकिएको किस्ट बैंकका प्रबन्ध निर्देशक कमल ज्ञवाली बताउँछन् । 'सबैसँग तरलता भएपछि ब्याजदर कम भएर लगानीमा प्रतिस्पर्धा हुन्छ,' उनले भने, 'बढ्नुको मुख्य कारण तरलता नहुनु नै हो ।'
पछिल्लो पटक बजेट र मौदि्रक नीतिको प्रभावबाट बजारमा तरलता सहज हुने आशा विकास बैंक संघका अध्यक्ष मनोज गोयलको छ । 'तरतलाको अवस्थामा सुधार आउने बित्तिकै ब्याजदर पनि कम हुन्छ,' उनले भने, 'पछिल्लोपटक परिवर्तन गरिएका केही व्यवस्थाले सकारात्मक असर पर्नुपर्ने हो ।' अनौपचारिकबाट औपचारिक क्षेत्रमा रकम आउन थाले तरलता बढेर ब्याजदर कम हुने उनको अनुमान छ । 'तर राजनीतिक क्षेत्रमा स्थिरता आए मात्र सोचेजस्तो हुन सक्छ,' उनले भने ।
वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्य भने बजेट र मौदि्रक नीतिबाट गरिएका व्यवस्थाले तुरुन्तै असर नदेखिने बताउँछन् । 'समस्या घरजग्गा क्षेत्रबाटै सुरु भएको हो,' उनले भने, 'यो क्षेत्रलाई केही सुविधा नदिएसम्म तरतला र ब्याजरको समस्या हल हुँदैन ।' बैंक वित्तीय संस्थाबाट ऋण लिएको भरमा ९५ प्रतिशत कारोबार भइरहेकाले घरजग्गाको समस्या समाधन हुनुपर्ने उनले बताए । 'खल्तीबाट झिकेर कारोबार गर्ने ५ प्रतिशत पनि छैनन्,' उनले भने, 'कारोबारमा सुधार नभएसम्म बैंक वित्तीय संस्थालाई पनि सजिलो छैन ।'
व्यवसाय गर्न ऋण लिन नसकिने र पैसा भएकाले व्यावसायिक जोखिम मोल्नभन्दा ब्याज खाएरै बस्ने अवस्था आएको श्रेष्ठ बताउँछन् । 'अहिलेको ब्याजदरले पैसा भएकालाई अल्छी बनाएको छ,' उनले भने, '१५-१६ प्रतिशत ब्याज बसीबसी पाइने भएपछि किन लगानी गरेर जोखिम मोल्ने भन्ने अवस्था आएको छ ।' ब्याज एकोहोरो बढ्नमा बैंक तथा वित्तीय संस्थाको दोष पनि उत्तिकै रहेको उनी बताउँछन् । 'पहिले एसएसएस गरेर सूचना दिन्थे,' उनले भने, 'अहिले ऋण तिर्न जाँदा मात्र ब्याजदर बढेछ भनेर थाहा हुन्छ ।'
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले पनि मौदि्रक नीति सार्वजनिक गर्दा बढेको ब्याजदरप्रति चासो देखाएका थिए । राष्ट्र बैंकले ब्याजदर तोक्ने अधिकार बैंक वित्तीय संस्थालाई दिएको भए पनि एसएमएसको भरमा ब्याज बढाउनु ठीक नभएको उनले बताएका थिए । 'सार्वजनिक सूचना निकालेर ब्याजदर बढाउनुपर्ने हो,' उनले भने, 'यसप्रति राष्ट्र बैंकले अध्ययन गरिरहेको छ ।'
निक्षेप आकषिर्त गर्न बढाएको ब्याजदरबाटै समस्या सुरु भएको ज्ञवाली बताउँछन् । ब्याजदर बढेपछि लगानी गरेर भन्दा पैसा जम्मा गरेर नाफा लिने बढी हुने उनको अनुमान छ । 'लगानी गर्नेलाई प्रोत्साहन हुने प्रकारको नीति आवश्यक हो,' उनले भने ।
बैंक तथा वित्तीय संस्था नियामक राष्ट्र बैंकले मौदि्रक नीतिबाट तीन वर्षमा कुल लगानीको २० प्रतिशत तोकिएको उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसका साथै पछिल्ला नीतिका कारण ब्याजदर क्रमशः कम हुँदै गएको राष्ट्र बैंक बताउँछ । 'निक्षेप आकषिर्त गर्न होडबाजी भएपछि ब्याज बढेको थियो,' प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'तरलता उपलब्ध हुन थालेपछि यो कम हुँदै जाने देखिन्छ ।' माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर बढेको र घट्ने क्रम पनि सुरु भइसकेको उनले बताए ।

सोच एक, काम अनेक

एजेन्सी – एक बनारसी साडी बनाउन १४ कण्डोमको प्रयोग । एक दशक अघि, बनारसका डक्टरले परिवार नियोजनका लागि निशुल्क बाडिएको कन्डम कसरी एकाएक चर्चित भए भनेर पत्ता लगाए । कारण थियो सहरको सबैभन्दा प्रख्यात साडी बनाउने व्यवसायमा त्यसकोे प्रयोग ।
कलिगडले कन्डमलाई उल्ट्याएर बबिनमा दल्ने र धागोमा लुब्रिकेन्ट दलेर नरम बनाउने गरेको पाइयो । यसले धागो चुडिने समस्या र बबिन चल्ने क्रम छिटो हुदो रहेछ । यसका साथै धागो बुन्नेले हातलाई काटिनबाट जोगाउन पनि कन्डम प्रयोग गर्दा रहेछन् ।
बिहारको सोनापुर मेला विश्वकै एक प्रमुख जनावर भिडन्त हुने मेलाका रुपमा लिइन्छ । यहि मेलाको समयमा कपालमा लगाउने कालो रंगको विक्री अत्याधिक बढ्ने गर्छ । तर प्रयोग भने भैसीको रंग कालो बनाउन भएको हुन्छ । मेलाको समयमा बिभिन्न कम्पनीले मानिसले प्रयोग गरुन भनि सेलमा राखेको हेयर डाइ भैसीलाई दल्ने गरिन्छ । यसका साथै भारतकै बिभिन्न सहरमा हलिक्सलाई गाइभैसीको खाद्यान्नका रुपमा प्रयोग गरेको पनि पाइन्छ । यी सबै उदाहरणमा एउटा कुरा समान छ, त्यो हो कुनैकुनै समय योजना बनाएर काम गरेपनि सोचेको भन्दा फरक अवस्था आउन सक्छ ।
अमेरिकामा कम्पनीका प्रमुख कार्यकारीले पाउने तलब जहिल्यै चासोको विषय बन्ने गरेको छ । यसलाई कम गर्न अमेरिकी सेयर बजार नियमक सेक्युरिटिज एक्सचेन्ज कमिसनले प्रमुख कार्यकारीको तलब सार्वजनिक गर्नुपर्ने प्रावधान बनायो । यसले पनि उल्टै असर देखियो । सबै कम्पनीका प्रमुख कार्यकारीको तलब सार्वजनिक हुन थालेपछि कम तलब पाउनेले वृद्धिको माग राख्न थाले । जसले १९७६ देखि १०९३ सम्म औसत कर्मचारीको भन्दा प्रमुख कार्यकारीले ३६ गुणा बढीसम्म तलब पाए ।
अगस्ट २००९ मा भारतको सेयर बजार नियमक सेक्युरिटिज बोर्ड अफ इन्डियाले सामुहिक लगानी कोषका एजेन्टले पाउने गरेको कमिसन हटायो । यसको उद्देश्य प्रतिस्पर्धा बढाएर कम कमिसनमा काम हुने वातावरण तयार गर्नु थियो । तर यसको असर पनि उल्टै भयो । एजेन्टले सामुहिक लगानी कोषको विक्री रोकेर बिमा कम्पनीले निस्कासन गर्ने लगानी उत्पादन विक्री थाले ।
मध्य १९८० मा जापानले टोकियोलाई अन्तराष्ट्रिय वित्तिय हबको रुपमा विकास गर्न काम सुरु गर्यौ । बिभिन्न स्वदेशीका साथै विदेशी वित्तिय कारोबारका रोक हटाइयो ।  जापानी कर्पोरेट क्षेत्रलाई बोन्डमा लगानी गर्ने अवसर खुला भयो । जसको कारण जापानका बैंकको लगानी गर्ने क्षेत्र कम भयो र घरजग्गामा लगानी बढ्न गयो ।
– इकोनोमिक टाइम्स अनलाइन संस्करणबाट साभार

Friday, July 29, 2011

११ महिनामा ६८ अर्ब रुपैयाँको पेट्रोलियम आयात

काठमाडौ, श्रावण १३ - गत आर्थिक वर्षको ११ महिनामा सबैभन्दा धेरै रकम खर्चिएर मुलुकले पेट्रोलियम पदार्थ आयात गरेको छ । राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार जेठसम्ममा ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ४८ दशमलव २ प्रतिशत बढी हो ।
भारतबाट आयात भइरहेको पेट्रोलियम पदार्थले व्यापार घाटा वृद्धि गर्न पनि सहयोग गरेको छ । गत आर्थिक वर्षको ११ महिनामा भारतसँगको व्यापार घाटा २२ दशमलव ८ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट भएको आयात भने १७ दशमलव ६ प्रतिशतले घटेको छ । पेट्रोलियम पदार्थको निर्भरता कम गर्न बजेटले जलविद्युत्, वैकल्पिक ऊर्जा लगायत क्षेत्रलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।
दोस्रो धेरै रकमको आयात हुने वस्तुमा फलाम र स्टिल परेको छ । तथ्यांकअनुसार जेठसम्ममा २१ अर्ब ७९ करोड रुपैयाँको फलाम र स्टिल आयात भएको थियो । यीबाहेक सवारीसधान र पाटपुर्जा, मेसिनरी र औषधिको आयात पनि उच्च छ । यी सामान ३३ अर्ब र औषधिमा १० अर्ब ९० करोड रुपैयाँ खर्च भएको छ ।
राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति घट्दै गएको देखाएको छ । ०६७/६८ को जेठमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ८ प्रतिशत छ । वैशाखसम्मको १० महिनामा ९ दशमलव ५ प्रतिशत थियो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८ दशमलव २ प्रतिशत  थियो । सबैभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि भएको छ । जेठसम्मा यो समूहको मूल्य वृद्धि १४ दशमलव ३ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक भने ४ दशमलव ३ प्रतिशतले बढेको छ ।
मूल्यसँगै तलब पनि वृद्धि भएको तथ्यांकमा उल्लेख छ । वाषिर्क बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक २३ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सूचकांक १३ दशमलव ४ प्रतिशतले बढेको थियो ।

दुई वर्षपछि देश नाफामा

गोकर्ण अवस्थी र रोशन अधिकारी
काठमाडौ, श्रावण १३ - दुई वर्षदेखि देश भित्रिने भन्दा बाहिरिने रकम बढेर घाटामा गएको मुलुक जेठ मसान्तको तथ्यांकले नाफामा गएको देखाएको छ । देशको बाहिरी विश्वसँगको कारोबार नाफा/घाटा देखाउने शोधनान्तर स्थिति जेठ महिनामा २४ करोड ९१ लाख रुपैयाँले बचत भएको छ ।
वैशाखमा ११ अर्ब ६७ करोड रुपैयाँले ऋणात्मक रहेको शोधनान्तर स्थितिमा जेठ महिनामा मात्रै करिब ११ अर्ब ४२ करोड रुपैयाँको सुधार भएको छ । तर उधारो तिर्न बाँकी रकम बढ्नुका साथै विविध शीर्षकमा रकम आएको देखिएपछि भएको सुधारले अर्थतन्त्र सुधार भएको भन्न नमिल्ने विज्ञहरू बताउँछन् । 
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी विवरणमा उधारो तिर्न बाँकी (ट्रेड क्रेडिट) वैशाखको तुलनामा जेठमा १४ अर्ब १५ करोड रुपैयाँबाट १८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । सरकारी खातामा यसबाट ४ अर्ब रुपैयाँ बचत देखिएको छ । 'उधारो तिर्न बाँकी रकम पछि तिर्ने बित्तिकै गइहाल्छ,' एक पूर्वगभर्नरले भने ।
यसैगरी भुक्तानी सन्तुलन सम्बन्धी विवरणमा विविध शीर्षकमा करिब साढे ७ अर्ब रुपैयाँ देशभित्र आएको देखिन्छ । 'विविध शीर्षकमा हिसाब मिलान हुन बाँकी, दोहोरो विवरण परेको हुन सक्ने सम्भावना धेरै हुन्छ,' ती पूर्वगभर्नरले भने, 'त्यसले ट्रेड क्रेडिट र विविध शीर्षकका कारण भएको सुधारले अर्थतन्त्र राम्रो भएको भन्न मिल्दैन ।'
अर्थतन्त्र बलियो भएको सूचक देखाउने व्यापार सन्तुलन, चालू खाता स्थितिमा वैशाखको तुलनामा जेठमा सुधार भएको छैन । एक महिनामा वस्तु व्यापार घाटा २ खर्ब ६८ अर्ब बाट २ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । सेवा व्यापारलाई पनि जोड्ने हो भने एक महिनामा कुल व्यापार घाटा ३२ अर्ब रुपैयाँ बढेको छ । यसैगरी रेमिट्यान्स पनि समायोजन गरिएको चालू खाता घाटा करिब १२ अर्ब रुपैयाँ छ । यसबाट बढेको आयातलाई रेमिट्यान्सले समेत परिपूर्ति गर्न नसकेको देखिन्छ ।
जेठसम्ममा २ खर्ब २९ रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ । निर्यातबाट ५८ अर्ब रुपैयाँ आर्जन भएको छ भने पेन्सन र अनुदानबाट २५/२५ अर्ब रुपैयाँ आर्जन भएको
छ । जेठमा ३ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने निर्यात वृद्धि र आयातको कम वृद्धिदरले शोधनान्तर स्थितिमा सुधार भएको बताए ।
निर्यात गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ६ प्रतिशत बढी हो । २०६७/६८ को वैशाख महिनाको तुलानमा जेठमा कुल वस्तु निर्यात १६ दशमलव ५ प्रतिशतले बढेको छ ।
जेठ महिनसम्ममा कुल वस्तु आयात ५ दशमलव ७ प्रतिशतले बढेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि ३३ दशमलव ७ प्रतिशत थियो । 'कम दरले आयात र बढी दरले निर्यात बढेकाले पनि सुधार भएको हो,' प्रवक्ता ज्ञवालीले भने । चालू खाता साधारणतया घाटामा नै रहने बताउँदै प्रवक्ता ज्ञवालीले वैदेशिक सहायता परिचालन र शोधभर्नाको रकम बढेकाले सुधार भएको बताए ।
तर गत वर्ष असारमा पनि २ अर्ब रुपैयाँमा झरेको शोधनान्तर घाटापछि लगातार बढेर करिब १५ अर्ब रुपैयाँसम्म पुगेको थियो । 'गत वर्ष राजनीतिक अस्थिरताका कारण बजेट खर्च हुन नसकेर पछि बढेको हो,' ज्ञवालीले भने, 'यसपटक समयमा बजेट पास भएर खर्च हुन थालेपछि शोधनान्तर बचत बढ्छ ।'
दुई वर्षअघि झन्डै दुई दशकपछि शोधनान्तर स्थिति ऋणात्मक भएको थियो । लामो समयपछि शोधनान्तर घाटा दुई वर्षसम्म ऋणात्मक रहेपछि भारतसँगको स्थिर विनिमय दरसमेत परिवर्तन गर्नुपर्ने दबाब केन्द्रीय बैंकलाई परिरहेको थियो । शोधनान्तर स्थिति सुधार हुँदै गए यसबाट बजार भाउ बढ्ने खतरा टर्ने छ ।
शोधानान्तरसँगै विदेशी मुद्राको सञ्चिति पनि बढेको छ । गत वर्षको पहिलो ११ महिनामा २ खर्ब ६९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यो ० दशमलव ३ प्रतिशतको सीमान्त वृद्धि हो । यसले ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक सञ्चालकले ऋणको स्वघोषणा गर्नुपर्ने

काठमाडौ, श्रावण १३ - बैंक तथा वित्तीय संस्थाका सञ्चालकले आफ्नो वा परिवारका साथै व्यक्तिगत वा पारिवारिक स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाले अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको स्वघोषणा गर्नुपर्ने भएको छ ।
यस्तो घोषणा सञ्चालक संलग्न वित्तीय संस्थाको वाषिर्क प्रतिवेदनमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको हो । मौदि्रक नीतिमा गरिएको यो व्यवस्थाबारे बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । 
यसअघि सञ्चालकले ५० प्रतिशतभन्दा बढी प्रवर्द्धक सेयर धितो राखेर ऋण लिन नमिल्ने व्यवस्था गरिएको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशले यसलाई लागू नगर्न भनेको थियो । यसका साथै उत्पादनशील क्षेत्रको कर्जा बढाउन पनि विशेष व्यवस्था गरिएको छ । यसअनुसार तीन वर्षभित्र बैंक तथा वित्तीय संस्थाले कुल लगानीको २० प्रतिशत उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने छ । यसका लागि अर्धवाषिर्क लक्ष्य निर्धारण गरेर सञ्चालक समितिले समीक्षा गर्न निर्देशन दिइएको छ । यस्तो लगानीको अवस्था अर्धवाषिर्क अवधि समाप्त भएको एक महिनाभित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने छ ।
राष्ट्र बैंकले तोकेको ९ वित्तीय सेवाको पहुँच भएका जिल्लामा घ वर्गका वित्तीय संस्थाले शाखा खोलेर कारोबार गरे प्रतिशाखा शून्य ब्याजदरमा कर्जा सुविधा दिने भएको छ । यस्तो सेवा उपलब्ध हुने ९ जिल्लामा मनाङ, हुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलालाई राखिएको छ ।

Thursday, July 28, 2011

भारतमा ब्याजदर वृद्धि, नेपालमा चाप पर्ने




काठमाडौ, श्रावण ११ - भारतीय रिजर्भ बैंक -आरबीआई) ले वित्तीय संस्थालाई दिने ऋणको दर निरन्तर बढाए पछि नेपालको ब्याजदर र लगानीमा प्रभाव पर्ने भएको छ । मंगलबार आरबीआईले शून्य दशमलव ५ प्रतिशतले ब्याजदर बढाएको छ ।
यसले नेपालमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने दबाबसँगै ७ प्रतिशतमा मुद्रास्फीति दर कायम गर्नुपर्ने सीमामा बाँधिएको राष्ट्र बैंकलाई बजार व्यवस्थापन कठिन हुनेछ । भारतले बढाएको ब्याजदरले नेपाललाई पनि मुद्रास्फीति नियन्त्रण गर्न सहयोग पुगे पनि अन्य समस्या भने बढ्नेछन् ।
भारतले पछिल्लो १६ महिनामा ११ पटक ब्याजदर वृद्धि गरेकाले सामान्य अवस्थामा राष्ट्र बैंकले ब्याजदर घटाउन सम्भव देखिँदैन । 'घटाउन नसकिने होइन,' एक पूर्व गभर्नरले भने, 'घटाउँदा पुजी पलायन बढ्ने खतरा हुन्छ ।' भारतमा भन्दा नेपालमा कम ब्याजदर भए बैंकमा जम्मा गर्न वा लगानी गर्न भारत पैसा गएर पुँजी पलायन बढ्ने सम्भावना हुन्छ ।
भारतमा ब्याजदर बढिरहँदा मानसिक असर नेपालमा देखिने लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त बताउँछन् । 'ब्याजदर बढी भएर लगानी गर्न असहज भइरहेको सबैले स्विकारिरहेका छन्' उनले भने, 'कम हुन नसक्दा यसले निश्चय नै असर गर्छ ।'
ब्याजदर धेरै भएर लगानी खर्च बढ्दै जानाले उद्योग क्षेत्रमा समस्या देखिएको छ । थप लगानी हुन नसक्दा मुलुकको आर्थिक वृद्धिदर पनि सुस्त भएको छ ।
ब्याजदर वृद्धि गर्दा बैंकमा निक्षेप बढ्ने अनुमान गरिए पनि त्यस्तो हुन सकेको छैन । पछिल्लो पटक ठूला बैंकले निक्षेपमा दिँदै आएको ब्याजदर कम गर्न गृहकार्य सुरु गरिसकेका छन् ।
अर्कोतर्फ भारतले ब्याजदर बढाउँदै लैजाँदा त्यहाँ वैदेशिक लगानी पनि बढ्दै जाने देखिन्छ । पश्चिमी विकसित मुलुकको तुलनामा भारतको ब्याजदर धेरै उच्च रहेकाले लगानी गर्दा धेरै फाइदा लिन सक्छन् । यस्तो लगानी वृद्धि हुनेबित्तिकै भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा मजबुत हुन्छ ।
मंगलबार ब्याजदर वृद्धिको समाचार आएपछि भारतीय रुपैयाँ डलर सँग १० पैसाले बलियो भएको छ । 'भारत र नेपालको विनियम दर स्थिर रहेकाले भारु मजबुत हुनेबित्तिकै नेरु पनि मजबुत हुन्छ' उनले भने, 'यसले अनावस्यक रुपमा मुद्रा बलियो भएको अवस्था मात्र देखिन्छ ।' न्यून आर्थिक वृद्धिदर भएको नेपालमा भने यसबाट व्यापार, लगानी र सहायतामा प्रभाव पर्न सक्ने विज्ञहरु वताउछन ।
रिजर्भ बैंकले मूल्य वृद्धिलाई नियन्त्रणमा लिनका लागि ब्याजदर वृद्धि गरिरहेको छ । मूल्यवृद्धि दोहोरो अंकमा जान नदिन बैंकले आक्रामक रूपमा ब्याज बढाइरहेको विश्लेषक बताउँछन् ।
मंगलबार रिजर्भ बैंकबाट अन्य बैंकले लिने रकम -रिपो) ० दशमलव २५ प्रतिशतले वृद्धि गरेर  ८ प्रतिशत पुर्‍याएको छ । रिजर्भ रिपो दरलाई ७ प्रतिशत पुर्‍याइएको छ । अनिवार्य नगद मौज्दातलाई परिवर्तन नगरी ६ प्रतिशतमै राखिएको छ । 
जुन महिनामा भारतको खुद्रा मूल्यवृद्धि ९ दशमलव ४४ प्रतिशत छ । यो रिजर्भ बैंकले लिएको नियन्त्रण लक्ष्यभन्दा दोब्बर हो । भारतले लिएको ८ प्रतिशतको वृद्धिदर कायम गर्नका लागि सबैभन्दा ठूलो चुनौती मूल्य वृद्धि हो ।

वैदेशिक लगानी निराशाजनक

काठमाडौ, श्रावण १२ - प्रत्यक्ष वैदेशिक लगानीका आधारमा नेपाल अतिकम विकसित मुलुक (एलडिसी) को सूचीमा समेत अन्तिममा परेको छ ।  संयुक्त राष्ट्रसंघ व्यापार तथा विकास संस्था (अन्कटाड) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा १ सय ४१ देशमध्ये नेपाल १ सय ३४ औं स्थानमा छ । पछिल्लो दुई वर्षमा नेपालमा लगानीको अवस्थामा कुनै सुधार नभएको प्रतिवेदनले देखाएको छ ।
नेपालले सन् २००९/१० मा ३ करोड ९० लाख अमेरिकी डलर (करिब २ अर्ब ७३ करोड रुपैयाँ) प्रत्यक्ष वैदेशिक लगानी भित्राएको थियो । अन्कटाड को 'वल्र्ड इन्भेस्टमेन्ट रिपोर्ट २०११' का अनुसार २०१० सम्ममा २० करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँ) लगानी भएको छ ।
मुलुकभित्रको कुल पुँजी निर्माणमा प्रत्यक्ष वैदेशिक लगानीको अंश केही कम भएको छ । २००९ को तुलनामा यो ० दशमलव ४ प्रतिशतले घटेको हो । तथ्यांकअनुसार २०१० मा कुल पुँजी निर्माणको १ प्रतिशत मात्र वैदेशिक लगानीले ओगटेको थियो ।
२०१० मा विश्वभर १० खर्ब २४ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी भएको थियो । विश्व आर्थिक मन्दीको प्रभावका कारण अघिल्लो वर्ष यो १० खर्ब १९ अर्ब डलर थियो ।
प्रतिवेदनले २०११ मा १० खर्ब ४० अर्बदेखि १० खर्ब ६० अर्बको बीचमा प्रत्यक्ष वैदेशिक लगानी हुने प्रक्षेपण गरेको छ । आर्थिक मन्दीअघि २००८ मा यो १० खर्ब ७४ अर्ब डलर थियो ।
अध्ययनले विश्व व्यापारको अवस्था भने अनिश्चित रहने चेतावनी दिएको छ । ठूला अर्थतन्त्रमा रहेको ऋण समस्या, विकसित मुलुकमा आर्थिक र वित्तीय क्षेत्रबीचको असन्तुलन र विकासोन्मुख मुलुकको मुद्रास्फीतिले समस्या उब्जाउन सक्ने अध्ययनमा उल्लेख छ । 
२०१० मा पनि अमेरिका सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी पाउने मुलुक बनेको छ । उक्त वर्ष अमेरिकाले २ खर्ब २८ अर्ब डलर लगानी भित्राएको थियो । यसपछि १ खर्ब ६ अर्ब डलरसहित चीन दोस्रो स्थानमा छ । ६९ अर्ब लगानी भित्राएर हङकङ तेस्रो स्थानमा पुगेको छ । भारत भने ८ औं स्थानबाट १४ औंमा झरेको छ । उक्त वर्ष भारतमा २५ अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भएको प्रतिवेदनमा जनाइएको छ ।
दक्षिण एसियाली मुलुकमा ३२ अर्ब डलरले लगानी घटेको छ । भारतमा ३१ र पाकिस्तानमा १४ प्रतिशतले लगानी घटेपछि समग्र क्षेत्रकै लगानीमा ह्रास आएको हो ।
अन्तरदेशीय गैरसेयर लगानीको आकर्षण बढ्दै गएको देखिन्छ । कन्ट्राक्ट उत्पादन, सेवा आउटसोर्सिङ, फ्रेन्चाइजिङ लगातयमा आकर्षण बढेको हो । गैरसेयर लगानीबाट विभिन्न कम्पनीले २०१० मा २० खर्ब आम्दानी गरेका थिए ।

क्यापिटल मर्चेन्टका पूर्वअध्यक्ष पक्राउ

काठमाडौ, श्रावण १२ - क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका पूर्वअध्यक्ष विज्ञानप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बुधबार केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा उनलाई कुपन्डोलबाट पक्राउ गरेको हो ।
करिब १ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गर्दा रीत नपुर्‍याएको भन्दै उनलाई बैंकिङ कसुरअनुसार पक्राउ गर्न राष्ट्र बैंकले प्रहरीलाई आग्रह गरेको थियो । ८५ वषर्ीय पौडेल राष्ट्र बैंककै पूर्वकर्मचारी हुन् ।
करिब १० वटा परियोजनामा लगानी गर्दा उनले अनियमितता गरेको अध्ययनमा देखिएको छ । नक्कली परियोजना बनाई र वास्तविकमा पनि आशिंक मात्र लगानी गरी अन्य रकम दुरुपयोग गरेको आरोप उनलाई लगाइएको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को ७, ८, ९, १२ र १४ लगायतका दफाहरू अन्तर्गत कारबाही गरिने सिआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । यसअघि सिआइबीले यस कम्पनीका संस्थापक अमिरजंग खड्का र सेयरधनी जानुका केसीलाई पक्राउ गरेको थियो ।
संस्थामा देखिएको समस्याका मुख्य जिम्मेवार पवनकुमार कार्की भने हाल फरार छन् । प्रायः सबै अनियमितताका योजनाकार मानिएका कार्की हाल अमेरिकामा रहेको अनुमान छ । ब्युरोले खोजी जारी राखे पनि उनी मुलुकबाट फारार भइसकेको स्रोतले बताएको छ । उनलाई नक्कली ऋण प्रवाह, कर्जामा अनियमितता लगायत विभिन्न अभियोग लगाइएको छ ।
असारको पहिलो साता संस्थामा चरम तरलता अभाव भएपछि केही दिन शाखा बन्द गरेपछि अनियमितता बाहिर आएको थियो । राष्ट्र बैंकले गरेको स्थलगत अध्ययनबाट अनियमितता र घरजग्गा क्षेत्रमा धेरै लगानी भएको खुलेपछि ठूला निक्षेपकर्ताले पैसा झिकेका थिए । एकैपटक धेरै ठूला निक्षेपकर्ताले पैसा झिकेर तरलता अभाव देखिएको थियो । संस्थागत सुशासन अभाव देखिएपछि राष्ट्र बैंकले तुरुन्तै पुनर्कर्जा उपलब्ध गराएको थिएन ।
यसबाहेक गोर्खा विकास बैंकका तत्कालीन कार्यकारी अध्यक्ष डिबी बम्जन, युनाइटेड विकास बैंकका पूर्व कार्यकारी अध्यक्ष रवीन्द्रबहादुर सिंह र सञ्चालक राधाकृष्ण अमात्य, सम्झनाका तत्कालीन कार्यकारी अध्यक्ष श्यामबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत हिमबहादुर गुरुङ पक्राउ परिसकेका छन् भने अझै विभिन्न संस्थाका गरी २७ जनालाई प्रहरी खोजिरहेको छ ।

Wednesday, July 27, 2011

सञ्चालक समितिलाई नयाँ सेयर संरचना पठाउन निर्देशन

काठमाडौ, श्रावण १० - राष्ट्र बैंकले मध्यमाञ्चल ग्रामीण विकास बैंकको सञ्चालक समितिलाई तीन महिनाभित्र नयाँ सेयर संरचना पठाउन निर्देशन दिएको छ । तत्कालीन संरचनामा बैंक चल्न नसक्ने देखिएपछि नयाँ संरचना पठाउन निर्देशन दिइएको हो ।
'सोमबार पत्र पठाएर नयाँ सेयर संरचना माग गरेका छौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'बैंक कसरी चल्छ वा चल्दैन भन्ने खुलाएर प्रतिवेदन माग गरेका हौं ।'
एक वर्षदेखि नियन्त्रणमा लिएको भए पनि केही समयअघि राष्ट्र बैंकले नयाँ सञ्चालक समिति गठन गराएको छ । नयाँ सञ्चालक समितिमा राष्ट्र बैंक जनकपुरका व्यवस्थापकसहित दुई संस्थागत र दुई सर्वसाधारण सेयरधनी छन् । संस्थागतका तर्फबाट नेपाल बंगलादेश बैंक र बैंक अफ काठमाडौंका एक/एक सञ्चालक चुनिएका हुन् । संचालक समितिले व्यवस्थापनको वरिष्ठ अधिकृतलाई कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने छ । बैंकमा सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता बन्दीपुर सहकारी देखिए पनि सञ्चालक समितिमा भने सामेल गरिएको छैन । सहकारी युनिटी लाइफ इन्टरनेसनलको काण्डमा मुछिएपछि सञ्चालक समितिभन्दा बाहिर राखिएको हो ।
राष्ट्र बैंकका उपनिर्देशकको संयोजकत्वमा बनेको समितिले एक वर्ष नियन्त्रणमा लिएर संस्थाको विस्तृत वित्तीय विवरण -डिउ डिलिजेन्स अडिट) गराएको थियो । जसले संस्थाको अवस्था नाजुक अवस्थामा देखिएको राष्ट्र बैंक स्रोतले बतायो । 'बैंकको अवस्था सन्तोषजनक देखिँदैन,' स्रोतले भन्यो । संस्थामा ३० प्रतिशत सर्वसाधारणको निक्षेप छ । 

राष्ट्र बैंकले २०६७ जेठमा स्थलगत निरीक्षण गर्दा स्वीकृति नलिई संस्थापक समूहको स्वामित्वमा रहेको सेयर बिक्री गरेको, युनिटी टावर ललितपुरमा सुपरिवेक्षण तथा समन्वय कार्यालय राखी बैंकको केन्द्रीय कार्यालयसम्बन्धी सम्पूर्ण कामकारबाही गरेको, नाम परिवर्तन गरी युनिटी ग्रामीण विकास बैंक राखेको, बैंकको नेटवर्कको प्रयोग गरी अनुचित फाइदा उठाई ऋणी ग्रामीण गरिब महिलालाई युनिटी लाइफ इन्टरनेसनलको कार्यक्रमको सदस्य बनाएको, बैंकका संस्थापक/सञ्चालक युनिटी लाइफ इन्टरनेसनलको ठगी कार्यमा संलग्न रहेको देखिएकाले सञ्चालक समितिलाई निलम्बन गरी नियन्त्रणमा लिइएको थियो । घ वर्गको वित्तीय संस्थाका रूपमा मध्यमाञ्चलले २०५३ सालदेखि कारोबार सुरु गरेको हो ।

Tuesday, July 26, 2011

२९ कम्पनीका सेयरधनी कारोबारबाट वञ्चित

काठमाडौ, श्रावण १० - नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर पनि २९ कम्पनीका सेयरधनीले कारोबार गर्न पाएका छैनन् । मर्जर, स्तरोन्नतिको प्रक्रियामा रहेकासँगै नवीकरण नभएका र राष्ट्र बैंकले रोक लगाएका कारण यी कम्पनीको कारोबार रोकिएको हो ।  मर्जरका लागि ७, स्तरोन्नतिका लागि ४ र सोधपुछका लागि २ कम्पनीको कारोबार रोकिएको छ ।
'सेयर मूल्य भनेको कम्पनीको पर्फर्मेन्स देखाउने सूचक हो,' सेयर बजार विश्लेषक रविन्द्र भट्टराई भन्छन्, 'सञ्चालनमा रहेका कम्पनीको सेयर खरिद बिक्री गर्न रोकेर लगानीकर्ताको अधिकार हनन गर्न पाइँदैन ।' स्तरोन्नतिको नाममा रोकिएकका कम्पनीबारे छिटो निर्णय गर्नुपर्ने उनी बताउँछन् । 'नियमकको लापरबाहीका कारण लगानीकर्ता समस्यामा परिरहेका छन्,' उनले भने ।
स्तारोन्नतिको प्रक्रियामा रहेको सानिमा विकास बैंकको सेयर कारोबार लामो समयदेखि रोकिएको छ । क वर्गको वाणिज्य बैंक बन्न खोजेको सानिमाको वित्तीय परिसूचक सन्तोषजनक हुँदाहुँदै पनि निर्णय हुन नसक्दा यसका सेयरधनीले कारोबार गर्न पाएका छैनन् ।
 स्तरोन्नतिका लागि आवेदन दिएका नेपाल सेयर मार्केट्स, अन्नपूर्ण फाइनान्स, आइएलएफसीलगायतको पनि सेयर कारोबार रोकिएको छ । यसमध्ये नेपाल सेयर मार्केट्सका कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठको आर्थिक अनियमितताका कारण राष्ट्र बैंकले विभिन्न निर्देशन दिएर अनुगमनमा राखेको छ । यसमा चुक्ता पुँजी बढाउन प्रयोग भएको रकम कम्पनीकै निक्षेपबाट झिकिएको पाइएपछि स्तरोन्नति नहुने पक्का भइसकेको छ ।
मर्जरको हल्ला चलेपछि सेयर बजारमा अस्वाभाविक वृद्धि देखिने भएकाले सेयर कारोबार रोक्ने चलन छ । तर लामो समयसम्म पनि मर्जर प्रक्रिया अघि नबढ्दा सेयर कारोबार रोकेर राख्नुको अर्थ देखिँदैन । मर्जरका लागि वीरगन्ज फाइनान्स, क्रिस्टल फाइनान्स, हिमचुली विकास बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल श्रीलंका मर्चेन्ट बैंक र शिखर फाइनान्सको कारोबार रोकिएको छ । यसमध्ये वीरगन्ज र हिमचुलीको मर्जर प्रक्रिया पूरा भइसके पनि कारोबार खुलेको छैन ।
बैंक तथा वित्तीय संस्थामा भएको विभिन्न अनियमितता र राष्ट्र बैंकले गरेको कारबाही सम्बन्धी जानकारी बाहिर आएपछि मध्यमाञ्चल ग्रामीण विकास बैंक र गोर्खा विकास बैंकको कारोबार रोकिएको छ ।
राष्ट्र बैंकले भने कारोबार रोकिनुलाई सामान्य बताएको छ । 'साधारणसभा र मर्जरका समयमा रोकिएको कारोबार सामान्य हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली भन्छन्, 'मर्जर हुँदा फाइदै हुने भएकाले लगानीकर्तालाई पनि समस्या नहुनु पर्ने हो ।' स्तरोन्नतिका लागि भन्दै ४ कम्पनीको प्रक्रिया कहाँ पुगेको छ भन्ने टुंगो लागेको छैन । 'कारबाहीमा परेका र अड्किएका कम्पनीबारे हामी अध्ययन गरिरहेका छौं,' ज्ञवालीले भने, 'आवश्यकताअनुसार निर्देशन दिने काम पनि भइरहेको छ ।'
मर्जरको काम सुरु भएपछि रोक्ने प्रचलन भए पनि अन्य कारणले रोकिएकालाई ओटिसी -ओभर दी काउन्टर) बजारमा कारोबार गर्ने व्यवस्था हुनुपर्ने धितोपत्र बोर्डका निर्देशक निरज गिरी बताउँछन् । 'सेयरलाई पनि तरल सम्पत्तिका रूपमा लिइन्छ,' उनले भने, 'यसको कारोबार रोकिँदा लगानीकर्तालाई समस्या पर्छ ।' स्तरोन्नति सोधपुछलगायत कारणले कारोबार रोकिएका कम्पनीबारे धितोपत्र बोर्डको कानुन विभागले अध्ययन गरिरहेको उनले बताए । 'यसबारे के गर्न सकिन्छ हामी हेरिरहेका छौं,' गिरीले भने ।
वित्तीय संस्थाबाहेक कारोबार रोकिएकामा अधिकांशले नवीकरण शुल्क बुझाएका छैनन् । वर्षौंसम्म शुल्क नबुझाए पनि कारबाही गर्ने वा सूचीबाट हटाउने काम एक्सचेन्जले गरेको छैन । यी कम्पनीबारे जानकारी नेप्सेका साथै धितोपत्र बोर्डलाई समेत छैन । नवीकरण शुल्क नबुझाउने र सम्पर्कमा नआउने कम्पनीलाई सूचीमा राखिरहँदा नेप्सेमा कारोबार हुने कम्पनीको संख्या मात्र बढेको देखिएको छ ।
धितोपत्र बोर्डले केही समयअघि यस्ता कम्पनीबारे अध्ययन गरेको थियो । खारेजीमा जान लागेका वा धरासायी भइसकेका कम्पनीको अध्ययन गर्दै बोर्डको एक टोलीले यस्ता कम्पनीका सञ्चालकलाई अन्य कम्पनीमा जानबाट रोक्नुपर्ने सुझाव दिएको थियो । 'सञ्चालनमा आउन सक्ने कम्पनी छन् भने ओटिसी बजारमा कारोबार गर्न मिल्ने व्यवस्था बनाउनुपर्छ,' गिरीले भने । कारोबार रोकिएका दुई वित्त कम्पनी भने खारेजीको प्रक्रियामा छन् । धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र कम्पनी रजिस्ट्रार मिलेर लामो समयदेखि कारोबार रोकिएका र सञ्चालनमा आउन नसक्ने कम्पनीबारे निर्णय गर्नुपर्ने उनले बताए ।

स्विस बैंकमा भारतीयको १ खर्ब १२ अर्ब

नयाँदिल्ली (एजेन्सी), श्रावण १० - धनाढ्य भारतीय नागरिक र ठूला उद्योगले स्विस बैंकमा २ अर्ब ५० करोड अमेरिकी डलर (करिब १ खर्ब १२ अर्ब भारु) जम्मा गरेको अध्ययनले देखाएको छ । स्विस केन्द्रीय बैंकलाई उल्लेख गर्दै अध्ययन सार्वजनिक भएपछि विदेशमा राखिएको पैसा विरुद्धको अन्दोलनमा नयाँ मोड आउने देखिन्छ ।
योग गुरु रामदेवले पछिल्ला महिनामा विदेशमा राखिएको रकम फिर्ता ल्याउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । प्रमुख प्रतिपक्षको सहयोगमा भइरहेको यो आन्दोलनमा सार्वजनिक भएको अध्ययनले थप ऊर्जा थप्ने विश्लेषक बताउँछन् । स्विस बैंकका प्रवक्ता वाल्टर मियरले २०१० को अन्त्यमा २ अर्ब ५० करोड डलर भारतीयका नाममा जम्मा रहेका उल्लेख गर्दै समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले समाचार सार्वजनिक गरेको छ । यो रकममध्ये २ अर्ब १० करोड डलर सर्वसाधारण र कम्पनीको मुद्धतीका साथै साधारण बचत खातामा रहेको हो । बाँकी रकम लगानी व्यवस्थापक कम्पनीले भारतीय नागरिकका लागि लगानी गरेका छन् ।
भारतीय सर्वोच्च अदालतले केही समयअघि विदेशी बैंकमा रहेका अघोषित रकमबारे अनुसन्धान थाल्न निर्देशन दिँदै सरकारले 'ठूलो गल्ती' गरेको आदेश सुनाएको थियो । 'कालो धन' संज्ञा दिएर विपक्षी दलहरूले कंग्रेस नेतृत्वको सरकारले यस्तो कार्यलाई ढाकछोप गरिरहेको आरोप लगाएका छन् । कर नतिरी वा छल्नका लागि विदेशमा राखिएको यस्तो रकमले प्रधानमन्त्री मनमोहन सिंहको सरकारलाई समस्यामा पारेको छ ।
अध्ययनले २००८ देखि २०१० सम्म ५० करोड अमेरिकी डलर स्विस बैंकबाट अन्यत्र सारिएको देखाएको छ । बैंकले यसको कारण नखुलाए पनि सिंगापुर र दुबईका बैंकमा रकम सारिएको हुन सक्ने अनुमान छ । सिंगापुर र दुबईमा सरकारलाई छानबिन गर्न असजिलो हुने आशामा पैसा सारिएको अनुमान सरकारी अधिकारीले गरेका हुन् ।
समाचारमा प्रवक्ता वाल्टरले स्विट्जरल्यान्डका दुई ठूला बैंक युबिएस र क्रेडिट इस्युमा भारतीय नागरिकको धेरै रकम रहेको उल्लेख गरेका छन् । अमेरिकी वित्तीय विश्लेषण संस्था ग्लोबल फाइनान्सियल इन्टिगि्रटीले केही समयअघि २००४ देखि २००८ को बीचमा १९ अर्ब अमेरिकी डलर कर नतिरी भारत बाहिर गएको अनुमान अध्ययनमा गरेको थियो । गत वर्ष भारतले स्विट्जरल्यान्डसँग गरेको सम्झौताअनुसार दुई देशले वित्तीय जानकारी आदानप्रदान गर्न थालेका हुन् । यो सम्झौताकै कारण स्विट्जरल्यान्डको केन्द्रीय बैंकले भारतीय नागरिकले जम्मा गरेको रकमबारे जानकारी दिएको हो ।

Tuesday, July 19, 2011

अनिवार्य नगद मौज्दात घटाउन दबाब

काठमाडौ, श्रावण ४ - तरलता अभावका कारण वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सिआरआर) घटाउनुपर्ने दबाब परेको छ । बैंक वित्तीय संस्थासँगै अर्थ मन्त्रालयबाट पनि यसबारे दबाब आएपछि केन्द्रीय बैंक ० दशमलव ५ प्रतिशत बिन्दुले घटाउनेतर्फ सकारात्मक देखिएको छ ।
'राष्ट्र बैंक यसप्रति सकारात्मक देखिएको छ,' राष्ट्र बैंकको उच्च स्रोतले भन्यो । सिआरआर घटाउने प्रस्तावबारे राष्ट्र बैंकको सञ्चालक समितिमा पनि छलफल भइसकेको छ । हाल वाणिज्य बैंकहरूले निक्षेपको ५ दशमलव ५ प्रतिशत रकम सिआरआरअन्तर्गत केन्द्रीय बैंकमा राख्नुपर्छ । ० दशमलव ५ प्रतिशतले सिआरआर घटाइए बजारमा करिब ३ अर्ब तरलता थप हुनेछ ।
छोटो समयका लागि तरलता (लगानीयोग्य पुँजी) सुविधा दिन रिपो, पुनर्कर्जा र विशेष पुनर्कर्जाको व्यवस्था गरेको राष्ट्र बैंकले दीर्घकालीन समाधानका लागि सिआरआरमा पुनरावलोकन गर्न लागेको हो । बजारमा तरलता बढी भए सिआरआर बढाउने र कम भए घटाउने गरिन्छ ।
'मौदि्रक नीतिमा सुझाव दिँदा हामीले यसलाई घटाउन भनेका थियौं,' विकास बैंक संघका अध्यक्ष मनोज गोयलले भने, 'यसले बजारमा ठूलो राहत पुग्न सक्छ ।' राष्ट्र बैंकले तरलता प्रवाह गर्दा लिँदै आएको ब्याजदरलाई पनि कम गर्न व्यवसायीले सुझाव दिएका छन् । हाल विशेष पुनर्कर्जामा राष्ट्र बैंकले १२ प्रतिशत ब्याज लिँदै आएको छ । जसले बैंकहरूले गर्ने लगानीको ब्याजदरलाई पनि बढाइरहेको छ ।
सरकारले आर्थिक वर्ष २०६८/०६९ को बजेटमा मुद्रास्फीतिलाई ७ प्रतिशतमा राख्ने योजना बनाएको छ । यसलाई पूरा गर्न भने सिआरआर घटाएर सम्भव नहुने विज्ञहरू बताउँछन् । सिआरआर वा ब्याजदर घटाउने बित्तिकै बजारमा तरलता बढी भएर मुद्रास्फीति बढ्छ । 'राष्ट्र बैंकले अब बजेटलाई सम्बोधन गर्ने हो वा तरलताको समस्या हल गर्ने हो त्यो हेर्न बाँकी छ,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।
भारतमा मुद्रास्फीति कम गर्न सिआरआर बढाइरहेको अवस्थामा यसलाई कम गर्न सजिलो भने नहुने बैंक अफ एसियाका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर छेत्री बताउँछन् । 'सिआरआर कम गरेर लगानीका लागि पुँजी उपलब्ध भइहाल्छ भन्ने होइन,' उनले भने । तर ब्याजदरलाई उच्च राखेर सिआरआर कम गर्दा भने प्रभाव देख्न सकिने उनले बताए । 'सिआरआर कम गर्नु भनेको तरलताको दीर्घकालीन समाधान भने हो,' उनले भने । यससँगै शोधनान्तर अवस्था सुधारमा पनि यसपटकको मौदि्रक नीति केन्दि्रत हुने देखिएको छ ।

Monday, July 18, 2011

सञ्चालक समितिले तीनभन्दा बढी समिति बनाउन नपाउने

काठमाडौ, श्रावण २ - बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले तीनभन्दा बढी समिति/उपसमिति बनाउन नपाउने भएका छन् । सञ्चालकले विभिन्न नाममा समिति र उपसमिति गठन गर्दै भत्ता लिने क्रम बढेपछि राष्ट्र बैंकले रोक लगाएको हो । सञ्चालक समितिको अध्यक्ष समावेश हुन नसक्ने गरी तीन समिति वा उपसमिति गठन गर्न मात्र राष्ट्र बैंकले छुट दिएको छ ।
'यो अन्तर्राष्ट्रिय प्रचलनअनुसार हो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'धरै बनाउनभन्दा कम समिति बनाएर प्रभावकारी काम होस् भन्नका लागि यस्तो गरिएको हो ।'
राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार 'कामकारबाही प्रभावकारी सञ्चालन गर्न' सञ्चालक संयोजक वा सदस्य हुने गरी तीन प्रकारका समिति वा उपसमिति मात्र गठन गर्न सकिने छ । लेखापरीक्षण, जोखिम व्यवस्थापन, र कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा नाममा समिति/उपसमिति बनाउन सकिने छ ।
बैंक तथा वित्तीय संस्थामा विशेष अवस्था आए भने थप उपसमिति बनाउन सकिन्छ । 'कुनै खास प्रयोजनका लागि समय तोकी गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा उपसमिति गठन गर्न सक्ने छ,' एकीकृत निर्देशनमा उल्लेख छ ।
'विभिन्न नामका समिति बनाएर दिनदिनै बैठक गर्दै भत्ता लिने क्रम बढेको थियो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'यसलाई रोक्न जरुरी थियो ।' स्रोतका अनुसार केही संस्थामा दर्जनभन्दा बढी समितिसमेत बनाइएका थिए । केही समयअघि राष्ट्र बैंकले सञ्चालकले लिने भत्तामा नियन्त्रण गर्ने प्रयास गरे पनि विरोधपछि काम अघि बढ्न सकेन ।
बैंक तथा वित्तीय संस्थामा लगानी गर्नेलाई ऋण वा सुविधा लिन थप कडाइ गरिएको छ । जसअनुसार सञ्चालक वा निजको परिवारका सदस्यले १० प्रतिशतभन्दा बढी सेयर लिएको कम्पनी, र्फम वा संस्थालाई कर्जा सापटी वा गैरकोषमा आधारित सुविधा दिन रोक लगाइएको छ । यो प्रावधानले सञ्चालकले आफ्नो बैंकबाट आफ्नै लगानी रहेको अर्को कम्पनीमा ऋण दिन वा प्रतीतपत्र (एलसी), ग्यारेन्टीलगायतको काम गर्न पाउने छैनन् । यसअघि १५ प्रतिशत भन्दा बढी लगानी भएका संस्थामा मात्र रोक लगाइएको थियो । 
धेरै बैंक तथा वित्तीय संस्थामा व्यवसायी/उद्योगी प्रवर्द्धक रहेको र समस्या आउन सक्ने भएकाले यस्तो प्रावधान थपिएको हो ।
यसबाहेक सेयरधनी कर्मचारीले १० प्रतिशतभन्दा बढी लगानी गरी मताधिकार पाएको संघसंस्थामा पनि कर्जा तथा गैरकोषमा आधारित सुविधा दिन रोक लगाइएको छ । यसमा पनि १५ प्रतिशतको सीमा थियो ।
सञ्चालक वा १ प्रतिशतभन्दा बढी सेयर लिएका व्यक्ति वा परिवार, वित्तीय स्वार्थ रहेका र्फम, कम्पनीसँग घर भाडामा लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि वाषिर्क १ लाख २० हजारभन्दा बढीको कारोबार गर्न वा घर भाडामा लिई कारोबार गर्न नमिल्ने व्यवस्था थियो । केही बैंक तथा वित्तीय संस्थाले यसलाई उल्लंघन गरेपछि प्रावधान थप कडा बनाइएको हो ।
यसबाहेक सञ्चालकले राष्ट्र बैंकसमक्ष गर्नुपर्ने स्वघोषणाको ढाँचामा पनि केही परिवर्तन गरिएको छ । लगानी गर्ने व्यक्ति, परिवार र सम्पत्तिमा पारदर्शिता ल्याउन यस्तो गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

Sunday, July 17, 2011

एटीएमको रकम वैधानिक तरलतामा

काठमाडौ, श्रावण १ - राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको एटीएममा रहने रकमलाई वैधानिक तरलता अनुपात (एसएलआर) मा गणना गर्न पाउने व्यवस्था गरेको छ । यसबाट करिब डेढ अर्ब रुपैयाँ बराबरको तरलता सहुलियत वित्तीय क्षेत्रले पाउने देखिएको छ ।
बैंक वित्तीय संस्थाका झन्डै साढे ७ सय एटीएममा डेढ अर्ब रुपैयाँ रकम रहने अनुमान छ । एटीएमको रकम एसएलआरमा गणना भएपछि यसअघि नगदै वा सरकारी सुरक्षणमार्फत केन्द्रीय बैंकमा गएको सोही बराबरको रकम बजारमा आउनेछ । वाणिज्य बैंकलाई एसएलआर १५ प्रतिशत राख्नुपर्ने व्यवस्था छ । यस अनुसार वाणिज्य बैंकले कुल निक्षेप रकम १५ प्रतिशत रकम राष्ट्र बैंकले तोकेको लगानीको औजार -सरकारी सुरक्षण) र नगद गरी जम्मा गर्नुपर्छ । यस १५ प्रतिशतभित्र नगद मौज्दात अनुपात (सीआरआर) पनि समेटिएको हुन्छ ।
एसएलआरलाई तरलता र जोखिम व्यवस्थापनको औजारका रूपमा हेरिन्छ । बजारमा तरलताको अवस्था हेरेर यसलाई घटबढ गर्ने गरिन्छ । बैंकहरूले धेरै ऋण प्रवाह गरेर बजारमा तरलता बढी भएपछि एसएलआर बढाउने गरिन्छ ।
एटीएमको रकम एसएलआरमा गणना हुने व्यवस्थाले बजारमा ऋण प्रवाह बढाउन बैंकहरूलाई सहयोग पुग्ने भएको छ । नयाँ व्यवस्थापछि डेढ अर्ब रुपैयाँ रकम परिचालन गर्ने क्ष्ामता वित्तीय क्षेत्ररको बढेको छ ।
राष्ट्र बैंकको दुई विभाग र बैंकर्स संघ मिलेर बनेको समितिले एटीएममा भएको रकम र त्यसले वैधानिक तरलतामा पारेको प्रभावबारे अध्ययन गरेपछि यस्तो निर्णय भएको हो । औसतमा एक एटीएममा न्यूनतम २ लाख रुपैयाँ राख्ने चलन छ । 'बैंकहरूलाई यसले राहत दिने देखिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'लामो समयदेखि उनीहरूले माग गरिरहेका थिए ।'
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकले एटीएम सञ्चालन गरेका छन् । सबैभन्दा बढी निजी क्षेत्रका वाणिज्य बैंकका एटीएम छन् ।
संशोधित निर्देशनमा गरिएको यो व्यवस्थासँगै अध्यक्षलाई प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । आर्थिक वर्षको अन्त्यमा प्रकाशन गरिने एकीकृत निर्देशन तयार गर्दा यस्तो संशोधन गरिएको हो ।
'संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण एव सन्तुलनको दृष्टिकोणले सञ्चालक समितिको अध्यक्षलाई कार्यकारी प्रमुखको रूपमा नियुक्त गर्न उपयुक्त हुने छैन,' संशोधित निर्देशनमा भनिएको छ । यसबाहेक जिल्लामा मुख्य कार्यालय खोलेर काठमाडौंमा प्रमुख कार्यकारी बस्ने प्रचलनलाई पनि निरुत्साहित गरिएको छ । कार्यालयको कामबाहेक प्रमुख कार्याकारी मुख्य कार्यालय वा कर्पोरेट कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था निर्देशनमा थपिएको छ ।
'विभिन्न क्षेत्रबाट आएका सुझाव र आवश्यकतालाई हेरेर केही परिवर्तन गरेका छांै,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'वर्षभरि जारी भएका निर्देशनलाई एकीकृत गरेर निकाल्ने प्रक्रिया अन्तर्गत भएको हो ।'
पछिल्लोपटक समस्या देखिएका अधिकांश बैंक तथा वित्तीय संस्थामा कार्यकारी अध्यक्ष रहेकाले यस्तो व्यवस्था गरिएको हो । संस्थागत सुशासन कायम नहुने र स्वार्थअनुरूप काम हुन थालेपछि कार्यकारी अध्यक्षको व्यवस्था हटाउन राष्ट्र बैंकले गृहकार्य सुरु गरेको थियो ।
'समस्या देखिएका सबै संस्थामा कार्यकारी अध्यक्ष भएको पाइयो,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'त्यसैले नैतिक रूपमा कार्यकारी अध्यक्ष राख्न नमिल्ने गरी व्यवस्था गरेका हौं ।'
यसका साथै क, ख र ग वर्गका वित्तीय संस्थाले एक्सटेन्सन काउन्टरबाट रेमिटेन्सको समेत कारोबार गर्न पाउने भएका छन् । यसअघि निक्षेप संकलन र निक्षेप खाताबाट भुक्तानी गर्ने काम मात्र पाइन्थ्यो ।
राष्ट्र बैंकबाट लाइसेन्स जारी भई खुल्ने बैंक तथा वित्तीय संस्थामा सहकारी संस्थाले संस्थापक समूहका सेयरमा लगानी गर्न नपाउने व्यवस्था भएको छ । यसअघि राष्ट्र बैंकबाट इजाजत पाएका घ वर्गका लघुवित्त कम्पनीबाहेक अन्यले संस्थापक समूहको सेयर खरिद गर्न मिल्ने व्यवस्था थियो ।
यसबाहेक २०६५ चैत मसान्तसम्म अर्को बैंक तथा वित्तीय संस्थाको सेयर खरिद -क्रस होल्डिङ) गरेका संस्थालाई पनि विभिन्न व्यवस्था गरिएको छ । कुनै पनि व्यक्ति वा संस्थालाई कालो सूचीमा समावेश गर्नुअघि कारणसहित बैंक तथा वित्तीय संस्थाले ३५ दिन पहिलो सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तो सूचना कालो सूचीमा पर्ने व्यक्ति, परिवार वा कारोबार भएको संस्थामा बुझाउनुपर्नेछ ।
यसका साथै कालो सूचीमा परेका संस्थापक सेयरधनीले हकप्रद सेयर र लाभांशसमेत लिन नपाउने नयाँ व्यवस्था गरिएको छ । अन्य वित्तीय संस्थाबाट समेत हकप्रद लिन नपाउने र लाभांश ऋण भुक्तानी प्रयोजनबाहेक अन्यमा लिन नपाइने उल्लेख छ ।
मर्चेन्ट बैंकिङ कारोबार सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाको व्यवस्थामा पनि केही परिवर्तन गरिएको छ । जस अनुसार मर्चेन्ट बैंकिङ कारोबार गर्ने छट्टै सहायक कम्पनीमा लगानी गरिएको रकम पुँजी कोषबाट घटाएर मात्र गणना गर्न पाइने व्यवस्था गरिएको छ । यस्ता कम्पनीको नियमन र सुपरिवेक्षण धितोपत्र बोर्डका साथै राष्ट्र बैंकले समेत गर्न सक्ने उल्लेख छ । सहायक कम्पनीको विवरणसमेत बैंक तथा वित्तीय संस्थाले सँगै प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जताततै सहकारी

काठमाडौ, अषाढ ३२ - बजेटले समाजवादी भावना अनुरूप जताततै सहकारीको भूमिका बढाएको छ । अर्थतन्त्रको खम्बाका रूपमा सरकार र निजी क्षेत्रसहित सहकारीलाई सामेल गर्दै 'नयाँ नेपाल' अभियानमा जुट्ने अर्थमन्त्रीले बजेटमा उल्लेख गरेका छन् ।
सहकारीलाई गरिएको प्रोत्साहन र दिइएको छुटले निजी क्षेत्रलाई सशंकित बनाएको छ । निजी क्षेत्रका कार्यक्रमलाई धेरै प्रोत्साहन नभएको अवस्थामा सहकारीलाई अर्थतन्त्रको एक मुख्य खम्बा हुने गरी बजेटले प्रवर्द्धन गर्ने जनाएको छ । रोजगार, कृषि, उद्योग, सेवा क्षेत्रका साथै वित्तीय सेवामा समेत सहकारीको भूमिका बढाउने गरी बजेट आएको छ । कृषिलगायत क्षेत्रमा सहकारीको भूमिका उल्लेख्य देखिए पनि स्वास्थ्य, वित्तीय क्षेत्र र अनुदान जस्ता विषयमा जबरजस्ती सहकारीको प्रवेश गराएको छ ।
सहकारीलाई उत्पादन वृद्धि, गरिबी तथा असमानता न्यूनीकरण, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, रोजगारी सिर्जनाका लागि प्रयोग गर्न विभिन्न कार्यक्रम घोषणा गरिएको छ । बजेटमा सहकारीमार्फत तोकिएका लक्ष्य पूरा हुन नसक्ने अर्थविद् बताउँछन् ।
'रोजगारी तथा आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई नजरअन्दाज गरेर सहकारीलाई अघि ल्याउनु दिवास्वप्न हो,' अर्थशास्त्री विश्वम्भर प्याकुर्‍यालले भने ।
सहकारीको भूमिका हरेक क्षेत्रमा बढाइएकामा निजी क्षेत्रले विरोध गरेको छ । 'निजी क्षेत्रलाई निरुत्साहित गरेर सहकारीलाई अघि ल्याउन खोजियो,' उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज कणिर्कारले भने, 'सहकारीलाई मात्र प्राथमिकतामा राखियो ।'
बजेटले बैंक तथा वित्तीय संस्थालाई चुनौती दिइरहेका बचत तथा ऋण सहकारीलाई नियमनको दायरामा ल्याउने तयारी गरेको
 छ । वाषिर्क ५ करोडभन्दा बढीको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको अनुगमभित्र ल्याउने बजेटमा उल्लेख छ ।
राष्ट्र बैंकको मानवसंसाधन ठूलो मात्रामा विकास नगरेसम्म यस्तो गर्न सम्भव देखिँदैन । हालकै बैंक तथा वित्तीय संस्थालाई अनुगमन गर्न समस्या रहेको राष्ट्र बैंकलाई सहकारी थप बोझ हुने विश्लेषक बताउँछन् । 'नियमनकारी संरचना नबनाइ सहकारीलाई प्रोत्साहन गर्नु ठूलो गल्ती हो,' प्याकुर्‍यालले भने । बैंकर्स संघका अध्यक्ष अशोक राणाले नियमनभित्र ल्याउनु सकारात्मक कुरा भएको बताए । 'वित्तीय क्षेत्र क्षेत्र सुधार कार्यक्रम जारी छ,' उनले भने, 'त्यसैले राष्ट्र बैंकको मानव संसाधन पनि बढाउन सक्नुपर्छ ।'
निजी क्षेत्रको प्रभुत्व रहेको यातायात क्षेत्रमा पनि सहकारीको प्रवेशलाई सहज बनाउने तयारी सरकारले गरेको छ । सहकारीले यातायातका सेवा सञ्चालन गरेमा परियोजनाको औचित्य हेरी आयातमा भन्सार छुटको व्यवस्था गरकेो छ । सहकारी संघ/ संस्थाका लागि घोषणा गरिएको भन्सार छुट र अनुदान सुविधा प्रदान गर्न सम्बन्धित मन्त्रालयद्वारा कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने छ ।
'सरकारले तीनखम्बे नीतिलाई प्रोत्साहन गरेको छ,' तयारी पोसाक संघका उदयराज पाण्डेले भने,'खुला अर्थ नीति र तीनखम्बे नीतिबारे अस्पष्टता हुनु भएन ।' अर्का उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य मनीषकुमार अग्रवाल पनि सहकारीलाई निजी क्षेत्रको प्रतिस्पर्धीका रूपमा ल्याउन खोजेको बताउँछन् । 'सहयोगीका रूपमा आउनुपर्ने हो,' उनले भने, 'प्रतिस्पर्धीका रूपमा आउने हो भने समस्या हुन सक्छ ।'
सहकारीको भूमिकाबारे प्रधानमन्त्री र अर्थमन्त्रीलाई स्पष्ट पारिसकेको उनले बताए । 'निजी क्षेत्रमा भएको र हुने लगानीमा समस्या हुन सक्छ,' उनले भने । बजेटले सहकारी कोषदेखि बिभिन्न व्यवसाय, खाद्यान्न, बजार, उद्योगलगायतमा सहकारीलाई प्रोत्साहन गरेको छ ।

खरिद र जम्मा गर्दा स्रोत खुलाउनु पर्ने प्रावधान लचिलो

स्रोतको स्वघोषणा गर्न पाइने
सहकारीको अनुगमन राष्ट्र बैंकलाई गर्न लगाइने
घरजग्गा र सेयर विदेशीले खरिद गर्न पाउने
वाणिज्य बैंक सम्म निक्षेप बिमा, रकम ५ लाख

रोशन अधिकारी

काठमाडौं – स्रोत खुलाउनु पर्ने प्रावधानमा लचकता अपनाउदै विदेशी नागरिकलाई समेत घरजग्गा र सेयरमा लगानी खुला गरेर बजेट आउने भएको छ । स्रोत खुलाउने प्रावधानका कारण घरजग्गा, सेयर र बैंकिङ कारोबारमा ठुलो असर परेको व्यवसायी बताउदै आएका थिए ।

सवारीसाधन र घरजग्गा खरिद गर्दा खुलाउनु पर्ने रकमको स्रोतलाई ठुलो अन्तरले बढाउने तयारी सरकारले गरेको हो । ‘स्रोत खुलाउनु पर्ने प्रावधान, विदेशी नागरिकलाई समेत खरिद गर्न दिने नीति लगायत बजेटमा पर्ने संभावना छ’ अर्थ मन्त्रालयको उच्च स्रोतले भन्यो ।

५० लाख रुपैया“ भन्दा बढी रकमको सवारी साधन र १ करोड रुपैया“ भन्दा बढीको घरजग्गा खरिद गर्दा मात्र स्रोत खुलाउनु पर्ने व्यवस्था आउन लागेको छ । ‘स्रोत खुलाउनु पर्ने प्रावधानका कारण समस्या आएको भन्दै ठुलो दबाब दिइएको छ’ अर्थ सम्बद्ध स्रोतले भन्यो ।

१० लाख रुपैया“ भन्दा बढी रकम जम्मा गर्दा खुलाउनु पर्ने स्रोतको प्रावधानमा पनि लचकता लिइने भएको छ । बजेटले यस्तो रकम आतंकवाद वा अन्य गैरकानूनी कामबाट आएको होइन भनेर स्वघोषणा गर्ने व्यवस्था मिलाउने स्रोतले बतायो ।

यसबाहेक विदेशी नागरिकलाई समेत व्यवसायिक अपार्टमेन्ट खरिद गर्न दिने नीति बजेटले लिने भएको छ । बजेटले दुई लाख अमेरिकी डलर वा सोभन्दा बढीको अपार्टमेन्ट विदेशी नागरिकलाई र अन्य सबै गैर आवासिय नेपालीका लागि खरिद गर्न खुला गर्ने स्रोतले बतायो । घरजग्गा व्यवसायीले लामो समय देखि यस्तो माग राख्दै आएका थिए । समय समयमा व्यवसायीले गरेको आन्दोलनमा यसलाई एक मुद्धा बनाइएको छ । 

पछिल्लो समय वाणिज्य बैंकहरुलाई नै चुनौती दिइरहेका सहकारीलाई पनि राष्ट्र बैंकको अनुगमन भित्र ल्याउने तयारी सरकारले गरेको छ । फितलो नियमन र थोरै नियमनका कारण सहकारीले जथाभावी लगानी गरेको शंका अर्थसास्त्रीहरुको छ । वार्षिक ५ करोड भन्दा बढीको कारोबार गर्ने ऋण तथा बचत सहकारी संस्थाको अनुगमन सहकारी बिभाग संग मिलेर राष्ट्र बैंकले गर्ने व्यवस्था बजेट मार्फत सार्वजनिक हुने स्रोतले बतायो ।

२०६८ कार्तिक देखि विदेशी नागरिकका लागि समेत सेयर बजार खुला गर्ने गरी नीति बनाउने तयारी बजेटले गर्ने भएको छ । लगानीकर्ता कम भएको र संस्थागत लगानीकर्ता नभएकाले पुजी बजारको विकास नभएको विश्लेषकले बताउदै आएका थिए । तर सुरुमा गैर आवासिय नेपाली र त्यसपछि मात्र विदेशी नागरिकका लागि सेयर बजार खुलाउनु पर्ने माग सेयर दलालले राख्दै आएका छन् । विशेष गरी विदेशका संस्थागत लगानीकर्तालाई मात्र सेयर बजारमा प्रवेश गर्न दिने अन्तराष्ट्रिय प्रचलन छ ।

सेयर बजार वृद्धिका लागि संस्थागत लगानीलाई सहुलियत दिने नीति बजेटले लिने भएको छ । यसबाहेक सेयर र घरजग्गामा लाग्दै आएको पुजीगत लाभकरलाई पनि घटाउने तयारी छ । सेयरको विद्युतिय कारोबारलाई पनि सहज बनाउने तयारी बजेटले गर्ने भएको छ ।

मर्जरलाई प्रोत्साहन गर्न बजेटले रजिष्ट्रेशन शुल्क छुट दिने तयारी गरिने स्रोतले बतायो । यस्तो छुट राष्ट्र बैंकको सिफारिसमा मात्र हुनेछ । सरकारी बैंकलाई पनि गाभ्न विशेष अध्ययन गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । यसबाहेक क वर्गका संस्थामा समेत निक्षेप बिमा पु¥याएर बिमाको रकम ५ लाख बनाइने स्रोतले बतायो । निक्षेप तथा कर्जा सुरक्षण निगमको पुजीमा थप ५० करोड सरकारले लगानी गर्ने भएको छ ।

आकस्मिक बिमा कोषलाई पुनरबिमा कम्पनीको रुपमा अघि ल्याउने तयारी बजेटले गर्ने भएको छ । मुलुकमा पुनरबिमा कम्पनी नभएको र कोषको काम कम भएकाले यस्तो प्रस्ताव केहि अघिबाट भएको थियो । यसबाहेक केहि पहाडी जिल्लामा लघु बिमा कार्यक्रम सुरु गर्ने तयारी बजेटले गर्नेछ ।

Wednesday, July 13, 2011

रियलस्टेट कर्जा नवीकरण म्याद एक वर्ष थप

रोशन अधिकारी
काठमाडौ, अषाढ २९ - राष्ट्र बैंकले घरजग्गा कर्जाको नवीकरणसँगै सेयर धितो ऋणको सीमा हटाएको छ । केन्द्रीय बैंक सञ्चालक समितिले घरजग्गा कर्जा एक वर्ष नवीकरण गर्न सकिने र सेयर धितो कर्जाको सीमा बैंक आफैंले तोक्न सक्ने निर्णय गरेको हो ।
पछिल्लो समयमा घरजग्गाको किनबेचमा आएको मन्दीले समयमा कर्जा चुक्ता नहुँदा बैंक र ऋणी दुवै समस्यामा पर्दै आएका छन् । 'ब्याज तिरिरहेकालाई एक वर्ष कर्जा नवीकरण गर्न दिने निर्णय भएको छ,' केन्द्रीय बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले कान्तिपुरसँग भने, '२०६९ असार मसान्तसम्मका लागि नवीकरण गर्न सकिने छ ।'
यससंगै राष्ट्र बैंक वित्तीय संस्थाले घर किन्दा दिन सक्ने ऋणको अधिकतम सीमा पनि बढाएर प्रति व्यक्ति ८० लाख रुपैयाँ पुर्‍याएको छ । यसअघि घरजग्गा कर्जा -रियलस्टेट) भित्र नपर्ने गरी वित्तीय संस्थाले ६० लाख रुपैयाँ घर किन्न कर्जा दिन सक्ने व्यवस्था थियो । राष्ट्र बैंकले घरजग्गा कर्जाको सीमा २५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । घर किन्दा लिने ऋणको सीमा ८० लाख बनाइएकाले रियलस्टेट ऋणको अंश घटाउन बैंक तथा वित्तीय संस्थालाई राहत पुग्ने छ । व्यवसायीहरूले भने १ करोड २० लाख रुपैयाँसम्मलाई घरकर्जामा राख्न माग गरेेका थिए ।
यससँगै सेयर बजारलाई पनि राहत मिल्ने गरी सञ्चालक समितिले निर्णय गरेको छ । यसअनुसार सेयर मूल्यको ६० प्रतिशतसम्म मात्र दिन सकिने सेयर धितो कर्जा अब बैंक तथा वित्तीय संस्थाले आफैं तोकेर दिन सक्ने छन् । 'जोखिम हेरेर स्वविवेक प्रयोग गरी बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा दिन सक्ने छन्,' ज्ञवालीले भने ।
राष्ट्र बैंकको पछिल्लो निर्णयले बैंक तथा वित्तीय संस्थालाई राहत पुगेको बैंकर्स संघका अध्यक्ष अशोक राणाले बताए । 'धेरै राम्रो कदम हो,' उनले भने, 'घरजग्गालाई दिइएको राहतले समग्र बैंकिङ क्षेत्रलाई सजिलो बनाउने छ ।' करिब १ खर्ब घरजग्गा क्षेत्रमा लगानी गरेका बैंक तथा वित्तीय संस्थामा पछिल्लो समय असहज अवस्था देखिएको थियो । ऋण र ब्याज उठ्न छाडेपछि असार मसान्तमा ठूलो रकम जोखिम व्यवस्थापनमा लगाउनुपर्ने अवस्था आउँदै थियो । 'बैंक तथा वित्तीय संस्थाको ब्यालेन्स सिट राम्रो देखिएपछि विश्वासको वातावरण बढ्ने छ,' उनले भने, 'यसले समग्र वित्तीय क्षेत्रमा सुधार आउने छ ।' केही समयअघिबाट बैंकर्स संघले घरजग्गा क्षेत्रको ऋणमा विशेष व्यवस्था गर्न माग गर्दै आएको थियो ।
विभिन्न माग राखेर आन्दोलनको चेतावनी दिइरहेका व्यवसायीले भने यी निर्णयले खासै फरक नपर्ने बताए । 'नवीकरण नभएर पुनर्तालिकीकरण चाहिएको छ,' जग्गा तथा आवास विकास संघका द्वितीय उपाध्यक्ष इच्छाराज वाग्लेले भने, 'नवीकरण गर्ने काम अहिले पनि बैंकहरूले गरिरहेका छन् ।' व्यवसायी ब्याजसमेत तिर्न नसक्ने अवस्थामा रहेकाले नवीकरण गरेर फरक नपर्ने उनले बताए । 'पुनर्तालिकीकरण गरेर व्यवसायलाई सहज बाटोमा नल्याए समस्या समाधान हुने देखिँदैन,' उनले भने ।
सेयरधितो कर्जामा गरिएको व्यवस्था सकारात्मक कदम रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष अञ्जन पौडेलले बताए । 'बैंकले आफंै निर्णय गर्न सक्नु राम्रो कदम हो,' उनले भने, 'तर बजारको अवस्था हेर्दा यसले तुरुन्तै असर भने गर्ने छैन ।' बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र ऋणमा लाग्ने महँगो ब्याजदरका कारण अवस्था सहज नहुने उनले बताए ।

Tuesday, July 12, 2011

असारमा २० अर्बको रिपो

काठमाडौ, अषाढ २८ - राष्ट्र बैंकले असारमा मात्रै ८ पटक गरी २० अर्ब रुपैयाँ बराबरको रिपो रकम (राष्ट्र बैंकले अन्य बैंकलाई दिने ऋण) बजार पठाएको छ । बजारमा तरलताको समस्या हुन नदिन सातामा दुई पटक रिपो जारी गर्ने नीतिअनुरूप असारमा बढी रकम बजारमा पठाइएको हो । यसअघि जेठमा ३ र वैशाखमा ४ पटक रिपो मार्फत तरलता प्रवाह भएको थियो ।
'पछिल्लोपटक आवश्यक भएका बेला सबै र अन्य समयमा केही मात्रामा रिपोमार्फत बैंकहरूले तरलता लिइरहेका छन्,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'यसले तरलता अभावको अवस्था अन्त्य हुँदै गएको छ ।'
पछिल्लो १० दिनयता अन्तरबैंक कारोबारमा पनि सुधार आएको उनले बताए । 'अन्तर बैंक कारोबारको समय बढाएपछि बैंक र वित्तीय संस्थाबीचको कारोबारमा पनि सुधार देखिएको छ,' उनले भने । पछिल्लो समय अन्तरबैंक ब्याजदर ६ प्रतिशतको हाराहारीमा छ । तरलताको अवस्थामा सुधार आएपछि पछिल्लोपटक समस्यामा देखिएका केही संस्थाले पनि राहत महसुस गरेका
छन् । 'केही संस्थामा देखिएको समस्या सुधार हुँदै आएको देखिन्छ,' ज्ञवालीले भने । तरलता अभाव हुन नदिन रिपोसहित अन्तरबैंक कारोबारको म्याद बढाउने, पुनर्कर्जा र विशेष पुनर्कर्जा दिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसबाहेक ठूलै वित्तीय संकटमा परे अन्तिम ऋणदाताका रूपमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउन सक्छ ।
आर्थिक वर्ष अन्त्य हुने समयमा समान्यता तरलता अभाव घट्ने बैंकर बताउँछन् । यसका साथै अन्तरबैंकको समय बढाए पनि जोखिम व्यवस्थापन
-प्रोभिजनिङ) बारे स्पष्ट धारणा आउनुपर्ने उनीहरूले बताएका छन् । मौदि्रक नीतिबारे राष्ट्र बैंकमा सुझाव दिँदासमेत अन्तरबैंकको रकम प्रोभिजनिङ गर्नु नपर्ने बनाउनुपर्ने बताएका थिए ।
नेपाल सेयर मार्केट्समा विभिन्न बैंकले गरेको अन्तरबैंक कारोबारपछि प्रोभिजनिङको व्यवस्था हटाइनुपर्ने माग बैंकरले उठाउँदै आएका छन् । सेयर मार्केट्समा विभिन्न बैंकले ६५ करोडको हाराहारीमा अन्तरबैंक ऋण उपलब्ध गराएका छन् । यस्तो रकम प्रोभिजनिङ गर्न परे उक्त संस्थाको नाफा कम हुने छ । तर राष्ट्र बैंकले भने यसबारे निर्णय गरिसकेको छैन । 'यो छलफलकै क्रममा छ,' राष्ट्र बैंकको उच्च स्रोतले भन्यो, 'विभिन्न विकल्प बारे सोचिरहेका छौं ।' बैंकहरूले गरेको लगानी उठ्न नसकेपछि जोखिम न्यूनीकरणका लागि प्रोभिजनिङ गर्नुपर्छ । यसले बैंकहरूको नाफा कम हुने गर्छ । 'प्रोभिजनिङ भन्ने बित्तिकै डराउनुपर्ने अवस्था होइन,' स्रोतले भन्यो, 'सेयर मार्केटकै सम्पत्ति हेर्दा पनि सजिलै असुलउपर हुने देखिन्छ ।' अन्तर बैंक ऋण विशेष प्रकृतिको भएकाले र तरलता अभावको समयमा आवश्यक रहेकाले प्रोभिजनिङ गर्ने व्यवस्था नराख्न बैंकरले माग गर्दै आएका छन् । 'तीन महिनासम्म म्याद थपेर त्यसपछि प्रोभिजनिङ गर्न लगाउने विकल्पबारे बहस भइरहेको छ,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'बैंकहरूले जुनै समयमा पनि नाफा मात्र गर्नुपर्छ भन्ने सोच राख्न हुँदैन ।'
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि विभिन्न समयमा निष्त्रिmय कर्जाको प्रतिशतमा प्रश्न उठाउँदै आएको छ । तथ्यांकमा देखिने प्रतिशतभन्दा बढी रहेको अनुमान यी संस्थाले गर्दै आएका छन् ।

Sunday, July 10, 2011

नयाँ सेयर दलालको काम सिडिएससँगै सुरु हुने

काठमाडौ, अषाढ २७ - नस्टक एक्सचेन्जले नयाँ सेयर दलाललाई केन्द्रीय निक्षेप प्रणाली (सिडिएस) सञ्चालनमा आएपछि कारोबार सुरु गर्न दिने तयारी गरेको छ । हाल कारोबार गरिरहेका २३ सँगै नयाँ २७ थपेर सेयर दलाल संख्या ५० पुर्‍याउने योजना छ ।
'साउनबाट सुरु हुने भनिएको सिडिएससँगै नयाँ प्रणालीमा काम गराउने लक्ष्य छ,' नेप्सेका अध्यक्ष टंक पनेरूले भने, 'यसका लागि आवश्यक काम गरिरहेका छौं ।'
नेप्सेका महाप्रबन्धक शंकरमान सिंहले ह्रासोन्मुख बजारमा सुधार ल्याउन सेयर दलालले पनि भूमिका खेल्नुपर्ने बताए । 'नयाँ पुस्ता प्राविधिक दृष्टिकोणले सबल हुनुहुन्छ,' उनले भने, 'यसबाट ग्राहकले उच्च व्यावसायिक सेवा पाउनु आशा गरेका छौं ।'
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष अञ्जनराज पौडेलले नयाँ दलालबाट बजार विस्तारमा थप योगदान पुग्ने बताए । 'बजारमा संख्या थपिँदा नियमनको समस्या भने देखिनु हुँदैन भन्ने कुरा ध्यान राख्नु जरुरी छ,' उनले भने ।
धितोपत्र बोर्डले कारोबार अनुमति दिएको १४ सेयर दलाललाई नेप्सेले आइतबार सदस्यताको प्रमाणपत्र दिएको छ । सदस्यता पाउनेमा दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, स्वर्णलक्ष्मी सेक्युरिटिज, दीपशिखा धितोपत्र कारोबार कम्पनी, सुमेरु सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, लिन्च स्टक मार्केट, सनी सेक्युरिटिज कम्पनी, साउथ एसियन बुल्स, डाइनामिक मनी म्यानेजर सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज कम्पनी र कालिका सेक्युरिटिज छन् ।

'विश्वासको वातावरण बनाऔं’

काठमाडौ, अषाढ २५ - बैंक वित्तीय संस्थाका समस्या सम्बोधन गर्न आगामी आर्थिक वर्षको मौदि्रक नीतिमा समावेश गर्नुपर्ने झन्डै ६४ बुँदे सुझाव बैंकर्स संघले राष्ट्र बैंकलाई दिएको छ । यससँगै शुक्रबार विकास बैंक र वित्त कम्पनी संघले पनि सुझाव पेस गरेको छ । उनीहरूले विशेष गरी सर्वसाधारणको बैंकप्रति विश्वास बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

'अहिले छलफल गर्ने र सुझाव लिने क्रममै हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने । घरजग्गामा भएको लगानी र त्यसले ल्याउन सक्ने जोखिम कम गर्न ऋण पुनरतालिकीकरण गर्नुपर्ने सुझाव बैंकर्सले दिएका छन् । 'ब्याज आउने ऋणलाई एकपटक पुनरतालिकीकरण गर्न पाउनुपर्ने सुझाव दिएका छौं' बैंकर्स संघका अध्यक्ष अशोक राणाले भने । बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा १ खर्ब १० अर्ब लगानी गरेको तथ्यांक छ । यसका साथै घर खरिद गर्नका लागि दिन सकिने ६० लाखको ऋणलाई बढाएर १ करोड पुर्‍याउन पनि सुझाव दिइएको छ ।

अन्तरबैंक कारोबारमा पनि विश्वास बढाउने वातावरण मौदि्रक नीतिले बनाउन पनि बैंकर्सले सुझाव दिएका छन् । लगानीको अवस्थामा सुधार ल्याउन पुँजी बजारमा आत्मविश्वास बढाउनुपर्ने सुझाव बैंकर्सले दिएका हुन् । 'अहिलेको अवस्थामा पुँजीगत लाभकरलाई कम गर्नुपर्ने देखिन्छ,' उनले भने । यसबाहेक तरलता सुधारका लागि विभिन्न कदम चालेर सर्वसाधारणमा विश्वासको वातावरण बनाउनुपर्ने उनले बताए ।

विकास बैंक संघका अध्यक्ष मनोज गोयल विश्वासको वातावरणसँगै क, ख र ग वर्गका संस्थाको फरकबारे रहेको भ्रम मेटाउनुपर्ने बताउँछन् । 'पुनरकर्जा लिन सजिलो वातावरण बनाउन जरुरी छ,' उनले भने, 'माग हुनेबित्तिकै केही रकम दिएर सहज बनाइपछि अन्य प्रक्रिया पूरा हुनुपर्छ ।'

अन्य जिल्लाको धितो राखेर ऋण दिएका विकास बैंकलाई केही राहत दिइनुपर्ने

सुझाव दिइएको छ । 'एकै पटक ऋण उठाउन सजिलो हुँदैन,' उनले भने, 'अहिलेको अवस्थामा यीभन्दा अन्य महत्त्वपूर्ण विषयमा सम्बोधन गर्न जरुरी छ ।'

लगानीको प्रतिशत तोकेर कारबाही गर्ने भन्नु भन्दा लगानी गर्नेलाई प्रोत्साहन दिन जरुरी रहेको गोयलले बताए । पूर्वाधारमा लगानी गर्नका लागि निर्देशिकानै जारी गर्नुपर्ने उनी बताउँछन् । 'यसले लगानी बढाउन सहयोग गर्ने थियो' उनले भने ।

तरलताको अवस्थामा सुधार ल्याउन गैरआवासीय नेपालीलाई निक्षेप राख्न र झिक्न सरल सुविधा व्यवस्था गर्नुपर्ने उनले बताए । 'विदेशी मुद्रामै निक्षेप जम्मा गर्ने भएकाले झिक्न दिँदा पनि समस्या हुँदैन' उनले भने, 'यसले तरलताको अवस्थामा धेरै सुधार हुनेछ ।' यसबाहेक विदेशी लगानीकर्ताले पाएको लाभांश अन्य क्षेत्रमा लगानी गर्न सजिलो वातावरण हुनुपर्ने उनी बताउँछन् । 'व्यवस्था सजिलो भए लगानी थप हुनेछ,' उनले भने ।

Saturday, July 9, 2011

बढ्यो पहुँच बैंकको

काठमाडौ, अषाढ २५ - चालू आर्थिक वर्ष बैंकिङ क्षेत्रका लागि निकै उतारचढावपूर्ण रह्यो । घरजग्गा र सेयर धितो कर्जाको व्यवस्थापन वित्तीय संस्थाका लागि चुनौतीपूर्ण छ । वित्तीय अनुशासनमा चल्न नसकेका केही वित्तीय संस्थामा ठूलो समस्या पनि देखिएको छ । विश्लेषकहरू मौदि्रक नीति नै असफल भएको भन्न पनि पछि परेका छैनन् । तर यस वर्षको मौदि्रक नीतिले राजधानी बाहिर विशेष गरी दुर्गममा शाखा खोल्न ल्याएको व्यवस्थाले वित्तीय संस्थाहरू आम सर्वसाधारणको नजिक पुगेका छन् ।
बैंक तथा वित्तीय संस्थाको संख्यासँगै सर्वसाधारणको घर आँगनमै बैंक पुग्ने क्रम बढेको छ । आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरूले २ सय ४९ शाखा खोलेका छन् । अघिल्लो आर्थिक वर्षभरि २ सय १४ शाखा थपिएका थिए ।
शाखा विस्तारसँगै बैंकिङ सेवामा सर्वसाधारणको पहुँच बढेको हो । २०६६ असार मसान्तमा एक शाखाले करिब २३ हजार ७ सय लाई सेवा दिइरहेकामा २०६७ असारमा एउटा शाखाले औसत १७ हजार ८ सयलाई वित्तीय सेवा दिन सक्ने देखिएको छ । वाणिज्य बैंकहरूले सबैभन्दा बढीलाई सेवा दिएका
छन् । २०६७ चैतसम्ममा २३ हजार ८ सय व्यक्तिका लागि एउटा शाखा खुलेको छ । गत वर्ष एक शाखा बराबर २९ हजार ३ सय व्यक्ति थिए ।
धेरै व्यक्तिले शाखाबाट कारोबार पाउन थालेपछि प्रतिव्यक्ति निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ । वाणिज्य बैंकहरूमा प्रतिव्यक्ति निक्षेप २० हजार १ सय रुपैयाँ छ । गत वर्ष यो १९ हजार ५ सय थियो । निक्षेपसँगै कर्जा पनि बढेको छ । प्रतिव्यक्ति कर्जा ५ सय २४ रुपैयाँ छ । यो गत वर्षभन्दा ५२ रुपैयाँ बढी हो ।
२०६६ असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको शाखा संख्या क्रमशः ९ सय ६६, ३ सय ५८, २ सय ६५ गरी १ हजार ५ सय ८९ पुगेको थियो । २०६७ चैत मसान्तसम्म वाणिज्य बैंकहरूको शाखा संख्या १ हजार २ सय १५ पुगेको छ । यसैगरी विकास बैंक, वित्त कम्पनी तथा लघु वित्त संस्थाहरूको शाखा संख्या क्रमशः ४ सय ८६, २ सय ७१ र ४ सय २७ पुगेको छ ।
बैंकिङ क्ष्ाेत्रको द्रुत विकास भइरहे पनि देशका १८ जिल्लामा वाणिज्य बैंकको एउटा मात्रै शाखा छ । बैंकहरूको सबैभन्दा बढी पहुँच मध्यमाञ्चल विकास क्षेत्रमा छ । असार मसान्तसम्म पूर्वाञ्चलमा २ सय ५०, मध्यमाञ्चलमा ८ सय ९, पश्चिमाञ्चलमा ३ सय ६३, मध्यपश्चिमाञ्चलमा १ सय ५ र सुदूरपश्चिमाञ्चलमा ६२ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूको शाखा संख्या यी विकास क्षेत्रमा क्रमशः १ सय ७८, ५ सय, १ सय ७४, ६६ र ४८ छ ।
सेयर बजारमा पनि कम्पनी थपिने क्रम जारी छ । नेपाल स्टक एक्सचेन्जमा आर्थिक वर्ष २०६७/६८ को नौ महिनासम्ममा सूचीकृत कम्पनीको संख्या २ सय ४ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको नौ महिनामा १ सय ६९ मात्र थियो ।  २०६७/६८ को ९ महिनामा १० वटा कम्पनीले साधारण सेयरको प्राथमिक निष्कासन गरेका थिए । यही समयमा २१ वटा संस्थाले हकप्रद सेयर निष्कासन गरेका छन् । दुवैको गरी कुल ३१ वटा संस्थाबाट जम्मा ४ अर्ब २४ करोड ४५ लाख मूल्य बराबरको सेयर बिक्री भएको छ । यो रकम गत वर्षको
सोही अवधिभन्दा  ५० दशमलव ७९ प्रतिशतले कम हो ।
कम्पनी र सेयरको संख्या बढ्दै गए पनि कारोबार रकम भने घट्ने क्रममा छ । २०६६/६७ को ९ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा कारोबार रकम ५२ दशमलव ९७ प्रतिशतले घटेको छ । नाै महिनामा ४ अर्ब ६३ करोड ८४ लाख मूल्यको १ करोड ७८ लाख ९७ हजार कित्ता धितोपत्र कारोबार भएको छ ।
कारोबार रकम घटे पनि कारोबार संख्या भने बढेको देखिन्छ । अर्थिक वर्ष २०६७/६८ को प्रथम नौ महिनामा आर्थिक वर्ष २०६६/६७ को सोही अवधिको तुलनामा कारोबार संख्यामा ४० दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । यो समयमा २ लाख २९ हजार ८३ वटा कारोबार भएको छ । आर्थिक वर्षको अन्त्य हुने समयसम्म सेयर बजार सुधारका लागि विभिन्न कार्यक्रम सुरु गरिएको छ । जसमा धितोपत्र दलाल थप्ने काम, सामूहिक लगानी कोषको कानुनी व्यवस्था, धितोपत्र बजार सुधारका लागि ५ वर्षे पुँजी बजार गुरुयोजनालगायत छन् ।

घरजग्गा क्षेत्रका लागि राहत कार्यक्रम ल्याउन माग

काठमाडौ, अषाढ २५ - घरजग्गा क्षेत्रमा आएको शिथिलताका कारण बैंकिङ क्षेत्रमा समस्या आएको र पुँजी पलायन हुन थालेको भन्दै व्यवसायीले सुधारका लागि सरकारसँग आग्रह गरेका छन । ७ दिनभित्र माग पूरा नभए विरोधका कार्यक्रम सुरु गर्ने चेतावनी दिइएको छ । 
लगानीमा लगाइएको सीमा र अन्य व्यवस्थाले घरजग्गा व्यवसायी बैंकबाट लिएको किस्ता तिर्न समेत नसक्ने भएको भन्दै जग्गा तथा आवास विकास संघका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री झलनाथ खनालसमक्ष माग राखेका हुन् । 
ब्याजसमेत तिर्न नसक्ने अवस्था अाएकाले घरजग्गा क्षेत्रमा दिइएको ऋण पुनर्तालिकीरण गर्नुपर्ने माग उनीहरूको छ । यसरी पुनर्तालिकिकरण गरिएको कर्जाको कम्तीमा एक वर्ष जोखिम व्यवस्थापन गर्न नपर्ने व्यवस्था पनि राख्न माग गरेका छन् । कर्जा जोखिम व्यवस्थापन (प्रोभिजनिङ) सहितको पुनर्तालिकीकरणले वित्तीय संस्थाको नाफामा असर पर्ने देखिएको छ ।  घरजग्गा क्षेत्रको ऋणलाई एकै पटक 'ब्रेक' लगाइएकाले समस्या आएको संघका द्वितीय उपाध्यक्ष इच्छाबहादुर वाग्ले बताउँछन् । 'राष्ट्र बैंकले यो क्षेत्रको लगानी एकै पटक झार्दा समस्या आएको हो,' वाग्लले भने, 'हरेक क्षेत्रमा ४० प्रतिशत लगानी गर्न पाइने नियम छ ।'
घरजग्गा क्षेत्रलाई नियमन नभएर नियन्त्रण गर्दा समस्या आएको उनले बताए । 'जग्गाको भाउ धेरै बढेको हो,' उनले भने, 'तर नियन्त्रण सीमा तोक्नुभन्दा पनि अरू उपाय थिए ।'
सरकारले पुँजी पलायन लगायत विषयमा ध्यान नदिएर मुलुकभित्रै भइरहेको कारोबारमा अंकुश लगाएको व्यवसायीले बताएका छन् ।
घरजग्गा क्षेत्रको लगानीमा सीमा बढाउन पनि व्यवसायीलेे माग गरेका छन् । हाल २५ प्रतिशतसम्म रहन सक्ने घरजग्गा क्षेत्रको लगानीलाई बढाएर ४० प्रतिशत पुर्‍याउनुपर्ने माग उनीहरूको छ । बजार मूल्यको ७० प्रतिशतसम्म ऋण उपलब्ध हुनुपर्ने उनीहरूले बताएका छन् । घरजग्गा क्षेत्रको लगानी अनुत्पादक भएको र अस्वाभाविक मूल्यवृद्धि देखिएको भन्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई यस क्षेत्रको लगानी घटाउन निर्देशन
दिएको थियो । १ करोड २० लाख रुपैयाँसम्म मूल्य पर्ने घर वा अपार्टमेन्ट खरिद गर्न लिइने कर्जालाई रियलस्टेट नभई घरकर्जाका रूपमा राख्नुपर्ने माग छ ।
निक्षेप जम्मा गर्दा स्रोत खुलाउनुपर्ने प्रावधानका कारण समस्या आएको भन्दै व्यवसायीले यसको सीमा १० लाखबाट बढाएर ५० लाख पुर्‍याउनुपर्ने माग गरेका छन् । घरजग्गा खरिद गर्दा आयस्रोत खुलाउनुपर्ने नियम हटाउन पनि उनीहरूको माग छ । पुँजीगत लाभकर हटाउनुपर्ने र घरजग्गा व्यवसायलाई उद्योगले पाएसरह सुविधा पाउनुपर्ने उनीहरूले बताएका छन् । विदेशी नागरिकले पनि फ्ल्याट खरिद गर्न पाउनुपर्ने समेत व्यवसायीको माग छ । बैंकबाट लगानी हुन छाडेपछि घरजग्गाको खरिद बिक्रीमा उच्च गिरावट आएको छ । 

Tuesday, July 5, 2011

उस्तै नाम भएका वित्तीय संस्थालाई परिवर्तन गर्न लगाइने

काठमाडौ, अषाढ २१ - विभिन्न वर्गका वित्तीय संस्थाको नाम जुधेर समस्या देखिएपछि सुरुमा अनुमति लिएका बाहेक अन्यले नाउँ परिवर्तन गर्नुपर्ने भएको छ । केही वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त विकास बैंकको मूल नाम जुधेर सर्वसाधारणमा अन्योल भएपछि राष्ट्र बैंकले यस्तो निर्णय गर्न लागेको हो । अनुमतिपत्र (लाइसेन्ज) जारी गर्दा ध्यान नदिएको राष्ट्र बैंकले केही समयभित्रै नाम परिवर्तन गर्न निर्देशन दिने भएको छ ।
'कम्पनीको समेत एकै नाम राखिँदैन,' डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने, 'त्यसैले बैंक तथा वित्तीय संस्थालाई पनि नाम परिवर्तन गर्न एक वर्षको समय दिने तयारीमा छौं ।' सबैभन्दा पहिले नाम लिएकालाई प्राथमिकतामा राखेर अन्यलाई परिवर्तन गर्न लगाइने उनले बताए ।
यसका साथै अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग समेत नाम नजुध्ने गरी नयाँ नाम दिने तयारी राष्ट्र बैंकको छ । केही साताअघि एक वाणिज्य बैंकले नाम परिवर्तनका लागि दिएको ३ विकल्पमा एउटा अन्तर्राष्ट्रिय बैंकसँग र अन्य वर्गका संस्थासँग जुधेपछि पुनः विचार गर्न राष्ट्र बैंकले पत्र पठाएको थियो । 
वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीसँगै सहकारीको समेत एकै नाम भएका उदाहरण छन् । केही बिमा कम्पनीको नामसमेत क, ख र ग वर्गका वित्तीय संस्थासँग मिल्छन् । राष्ट्र बैंकले आफूले अनुमति दिएका सहकारीलाई नाम परिवर्तन गर्न लगाए पनि सहकारी विभाग अन्तगर्तकाको भने नहुने देखिन्छ ।
मिल्दोजुल्दो वा एकै नाम हँुदा सर्वसाधारण अलमलमा पर्ने मात्र नभएर वित्तीय संस्थालाई समेत समस्या पर्ने गरेको छ । 'एकै प्रकारका नाम राख्न रोक्नै नसकिने  समस्या थियो,' वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले भने, 'यसले निक्षेपकर्तामा दोधारको अवस्था छ ।' सोध्ने जतिलाई दुई संस्था बीचको फरक सम्झाए पनि अधिकांशले नसोध्ने हुँदा समस्या हुने गरेको उनले बताए । पछिल्लो समय नामले भन्दा कामले संस्था बद्नाम हुँदै गएको उनी बताउँछन् । 'एकपछि अर्को संस्थामा समस्या देखिएपछि सबै शंकाको दृष्टिमा परेका छन्,' उनले भने ।
विकास बैंक संघका निवर्तमान अध्यक्ष झपट बोहोरा पनि मिल्दो नामका कारण समस्या परेको बताउँछन् । 'एउटाबाट लिनुपर्ने भुक्तानी लिन अर्कोमा गएको समेत पाइएको छ,' उनले भने, 'नाम मिल्दा सर्वसाधारण रनभुल्लमा पर्ने गर्छन् ।' कुनै संस्थामा समस्या आए नाम मिल्ने अर्कोमा निक्षेप झिक्न लाइन लाग्ने प्रवृत्ति देखिएको उनी बताउँछन् । 'यसलाई राष्ट्र बैंकले मात्र नभएर कम्पनी रजिस्ट्रारको कार्यालयले समेत ध्यान दिनुपर्ने थियो,' उनले भने । सबै वित्तीय संस्थाले कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत दर्ता हुनुपर्छ ।
राष्ट्र बैंक र सहकारी विभाग दुवैबाट अनुमति लिएकाको नाम कम्पनी रजिस्ट्रारमा दर्ता हुन्छ । एकै प्रकारको उद्देश्य हुने भएकाले सर्वसाधारणमा नामले समेत असर गर्ने गर्छ ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त संस्थासँग अन्य सहकारीको नाम मिलेर समेत समस्या भएको बोहोरा बताउँछन् । 'सहकारीको पनि धेरै नाम मिल्ने गरेको पाइन्छ,' उनले भने, 'यसलाई हटाउन सहकारी विभाग र कम्पनी रजिस्ट्रारले काम गर्नुपर्छ ।'
पहिलो नाम लिनेलाई प्राथमिकतामा राखेर अन्यलाई परिवर्तन गर्न वा थप्न लगाएर समाधान निकाल्न सकिने उनी बताउँछन् । विश्व व्यापार संगठनको प्रावधानअनुरूप विदेशी बैंकले समेत शाखा खोल्न सक्ने भएकाले नाम जुध्न सक्ने सम्भावना देखिन्छ ।

'वाणिज्य बैंकभन्दा कुनै कुरामा कमजोर छैनौं'

काठमाडौ, अषाढ २१ - क्लिन इनर्जी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गोयल गत साता विकास बैंक संघको अध्यक्ष चुनिएका छन् । बैंकिङ क्षेत्रमा २० वर्षभन्दा लामो अनुभव भएका गोयलले बैंक अफ काठमाडौंमा प्रमुख कार्यकारी अधिकृत हुँदा व्यवस्थापन संघबाट 'वर्ष व्यवस्थापक’ को सम्मानसमेत पाएका थिए । उनका प्राथमिकता र विद्यमान वित्तीय अवस्थाबारे गरिएको संक्षिप्त कुराकानी:
अध्यक्षका रूपमा तपाईका प्राथमिकता के हुन् ?
ख र ग वर्गका संस्थालाई भिन्नै रूपमा हेर्ने प्रवृत्ति देखिएको छ । सबैले निश्चित प्रावधान पुर्‍याई निरीक्षणमा बसेर काम गरिरहेका छन् । विकास बैंक र वित्त कम्पनी खराब, अस्वस्थ्य वा सुशासन पालना नगर्ने संस्था होइनन् । यस्तो सोचलाई परिवर्तन गर्न जरुरी छ । राष्ट्र बैंकसँग मिलेर आत्मविश्वास बढाउन आवश्यक छ । यसबाहेक क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
ख र ग वर्गका संस्थामा बढी समस्या देखिए । यसले सर्वसाधारणको मानसिकतामा असर
गर्‍यो । यसलाई जोगाउन के गर्नुपर्ला ?
वाणिज्य बैंकभन्दा विकास बैंक र वित्त कम्पनी कुनै पनि कुरामा कमजोर छैनन् । हामीले पनि सबै प्रावधान पुर्‍याएर कारोबार गरिरहेका छौं । केही संस्थामा देखिएको समस्याबाट सबैमा एउटै दृष्टिकोण बनाउन हुँदैन । हामीले दिइएको काम, तोकिएको मापदण्ड पूरा गरिरहेका छौं । आत्मविश्वास जगाउनका लागि काम गर्न जरुरी छ ।
केही संस्थामा राष्ट्र बैंकको कमजोर निरीक्षणबाट पनि समस्या आएको देखियो । ठूलो संख्यामा भएकाले विकास बैंक र वित्त कम्पनीको निरीक्षणमा ध्यान नपुगे जस्तो देखिँदैन ?
वाणिज्य बैंकभन्दा धेरै संख्यामा भएकाले स्थलगत निरीक्षणमा कमी भएको हुन सक्छ । तर विभिन्न विवरण र तथ्यांकबाट निरीक्षणको काम भइरहेको हुन्छ । समस्या भने समयमै दूरदृष्टि राख्न नसकेर आएको देखिन्छ । बेलैमा घरजग्गाको लगानी, बैंक तथा वित्तीय संस्थाको संख्या लगायतमा ध्यान दिएको भए अहिलेको अवस्था आउने थिएन । आउन सक्ने समस्यालाई पहिल्यै विश्लेषण गर्न जरुरी थियो ।
वर्गीकरण गरेर लाइसेन्स दिए पनि लगानीको क्षेत्र एउटै भएर समस्या आएको होइन ?
समस्या राजनीतिक अस्थिरता र उत्पादनशील क्षेत्रको विकास हुन नसक्नाले सुरु भयो । त्यसपछि सबैले एकै क्षेत्रमा लगानी गर्न पाउने भए । फरक मात्र पुँजीको आधारमा भयो । धेरै पुँजी भएकाले धेरै लगानी गर्न सक्ने भए । विकास बैंक र वित्त कम्पनीको लगानी क्षेत्र फरक भएको भए राम्राे हुने थियो । अहिले दोष दिएर बस्ने समय होइन । व्यस्थित गर्ने समय अझै छ । वाणिज्य बैंक जहिले पनि मुख्य सहर केन्दि्रत रहन्छन् । मुख्य कारोबार र विदेशी मुद्राको कारोबार हुने भएकाले उनीहरूलाई अन्त जाउ भनेर हुँदैन । विकास बैंक र वित्त कम्पनी भने जिल्ला जिल्लामा जानुपर्छ ।
राष्ट्र बैंक र सरकारले मर्जरलाई प्राथमिकतामा राखेको छ । मर्जर अहिले देखिएको समस्याको समाधान हो कि आवश्यकता ?
दुई वा बढी संस्था गाभिए पछि त्यसको पुँजी संरचना ठूलो हुन्छ । त्यसको घाटा कम हुन्छ र खर्च घटाउन सकिन्छ । अहिले पनि ठूला पुँजी भएको संस्थाको आवश्यकता देखिइसकेको छ । विकासको क्रम वृद्धि भएपछि ठूला लगानी गर्न यस्ता संस्था चाहिन्छन् । विश्वभर यस्तो भएको देखिन्छ । त्यसैले मर्जरलाई आवश्यकता भन्न सकिन्छ ।

आयको स्रोत खुलाउने सीमा बढ्ने

काठमाडौ, अषाढ २० - सरकारले वित्तीय कारोबारमा आयको स्रोत खुलाउनुपर्ने प्रावधान खुकुलो बनाउने भएको छ । आइतबार राष्ट्रपति रामवरण यादवद्वारा प्रस्तुत आर्थिक वर्ष २०६८/०६९ को नीति तथा कार्यक्रममा यस्तो प्रावधानलाई परिर्माजन गरिने उल्लेख छ ।
हाल १० लाख रुपैयाँभन्दा बढीको रकम बैंकमा जम्मा गर्दा, सेयरमा लगानी गर्दा आयको स्रोत खुलाउनुपर्ने व्यवस्था छ । सम्पत्ति शुद्धीकरण रोक्न गरिएको यस व्यवस्थाले बैंकमा रकम नआउँदा तरलता अभाव भएको व्यापक गुनासो आएपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी गरेको हो । 'व्यवसायी र कांग्रेसले समेत यसको माग गरेपछि नीतिमा समेटिएको हो,' अर्थसचिव कृष्णहरि बाँस्कोटाले भने, 'बढाएर कति बनाउने भन्नेबारे अझै छलफल भइरहेको छ ।'
घरजग्गा खरिद, सेयरमा लगानी, बैंकको निक्षेप लगायतमा स्रोत खुलाउनुपर्ने भएपछि अनौपचारिक क्षेत्रको कारोबार बढेको बैंकर बताउँछन् । स्रोत खुलाउने प्रवाधानले बैंकको खातामा भन्दा लकरमा पैसा राख्ने प्रवृत्ति बढाएको उनीहरूको दाबी छ ।
 व्यवसायीले पनि यस्तो सीमालाई ५० लाख रुपैयाँ पुर्‍याउनुपर्ने माग गरेका छन् । 'यसलाई न्यूनतम ५० लाख बनाइनुपर्छ,' सभासद तथा उद्योगी राजेन्द्र खेतानले भने, '१२ वा १५ लाख बनाएर तरलता लगायतको समस्या समाधान हुँदैन ।' चालू आर्थिक वर्षको अधिकांश समय बैंकिङ क्षेत्रमा तरलता समस्या देखिएको थियो ।
यसको दायरा वृद्धि गरेर पनि खासै फरक नपर्ने बैंकर्स संघका अध्यक्ष अशोक राणा बताउँछन्् । 'हामी कहाँ
राजस्व अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण हेरिरहेको छ,' उनले भने, 'यसलाई केन्द्रीय बैंक र सुरक्षा संयन्त्रले हेर्नुपर्ने हो ।' सर्वसाधारणलाई राजश्वले यस्तो सूचना लिएर के गर्ला भन्ने त्रास रहेकाले दायरा वृद्धि गरे पनि फरक नपर्ने उनले बताए । व्यवसायीले स्रोत खुलाउँदा 'गैरकानुनी आर्जन नभएको' उल्लेख गरे मान्य हुने व्यवस्था राख्न पनि माग गरेका छन् ।
यसबाहेक वित्तीय क्षेत्रमा मर्जर, संस्थागत सुशासनलाई आवश्यक नीतिगत व्यवस्था लिइने नीतिमा उल्लेख छ । बैंकरले पछिल्लो पटक वित्तीय र मौदि्रक नीतिमा मर्जरलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका थिए ।
पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थामा देखिएको संस्थागत सुशासनको अभावलाई पनि सम्बोधन गर्ने गरी बजेट आउने भएको छ । वित्तीय प्रणालीको निरीक्षण र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन नियमनकारी निकायको संस्थागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा उल्लेख छ ।
सूचना प्रविधिको प्रयोगबाट ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तार गर्ने र उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्ने नीति लिने सरकारको योजना छ । सरकारी स्वामित्वका बैंकको पुँजी वृद्धि गर्ने, निक्षेप बिमालाई विस्तार गर्ने, सहकारीको अनुगमन वृद्धि गर्ने लगायत काम नीति तथा कार्यक्रममा समेटिएका छन् ।
रेमिट्यान्स आप्रवाहमा प्रयोग भइरहेको अनौपचारिक क्षेत्रलाई पनि निरुत्साहित गर्ने नीति सरकारको छ । रेमिट््यान्सको ठूलो अंश बैंकिङ च्यानलमार्फत भित्राउने र यस्तो रकम ऊर्जा लगायत उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति तथा कार्यक्रममा छ ।
यसबाहेक बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तोकिएको क्षेत्रमा लगानी नगर्नेलाई पनि कानुनी दायरामा ल्याउने उल्लेख छ । पछिल्लो पटक अन्य शीर्षकमा ऋण लिए पनि घरजग्गा क्षेत्रमा लगानी गर्ने क्रम बढेको थियो । यसबाहेक ऋण नतिर्नेलाई कानुनको दायरामा ल्याउन प्रभावकारी काम गर्ने कार्यक्रममा उल्लेख छ ।
आर्थिक अपराध नियन्त्रण र सम्पत्ति शुद्धीकरण क्षेत्रको नियमन तथा अनुगमनका लागि विभिन्न संरचनाको सुदृढीकरण गर्दै अन्तर्राटि्रय स्तरको बनाउने कार्यक्रममा योजना छ । वित्तीय अपराध गरेको व्यक्ति सजिलै उम्कने गरेकाले संस्थागत सुशासन कायम गर्न समस्या देखिँदै आएको छ ।

Sunday, July 3, 2011

'वित्तीय संकट होइन, समस्या मात्रै’

यतिखेर वित्तीय प्रणालीप्रति धेरैको चासो छ । वित्तीय अनुशासनमा बस्न नसक्ने केही संस्थाहरुमा तरलताको चरम अभाव भएको छ । यसले अन्य संस्थालाई पनि तान्ने हो कि भन्ने आशंका पनि छ । वित्तीय संस्थामा देखिएको समस्या र त्यसको समाधानका लागि राष्ट्र बैंकको भूमिकाबारे गतसाता कान्तिपुरले एक छलफल कार्यक्रम आयोजना गर्‍यो जहाँ मुख्यतया जोखिम कम गर्ने उपाय खोजिएको थियो । छलफलमा सहभागी सरोकारवालाहरुको विचारलाई गोकर्ण अवस्थी रोशन अधिकारीले समेटेका छन् ।

पूरै प्रणालीप्रति हाम्रो दायित्व छ
महाप्रसाद अधिकारी
      डेपुटी गभर्नर

वित्तीय क्षेत्रमा संकट आइसकेको छैन । पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकमा ६ सय ५६ अर्ब, विकास बैंकमा ९० अर्ब र वित्त कम्पनीमा ८४ अर्ब रुपैयाँ निक्षेप छ । रेमिट्यान्स र विदेशी विनिमयको सञ्चिती पनि बढेको छ ।
केही संस्थामा संस्थागत सुशासन नहुँदा समस्या आएको छ । जोखिम व्यवस्थापनमा ध्यान नदिएर समस्या आयो । तरलता चलायमान नभएर पि|mज भयो । चल्न सकेन र द्वन्द्वको अवस्था आयो । ऋण सीमित व्यक्तिमा मात्र गयो र लिने पनि धेरै प्रवर्द्धक भए । ढोका बन्द गरेर राष्ट्र बैंक आएकालाई संकट आएको हो । समग्र प्रणालीमा संकट आएको होइन ।
सुशासन अभाव जहाँ देखिन्छ त्यसलाई छाड्ने कुरा आउँदैन । बेलैमा कारबाही नगरेर यस्तो अवस्था आएको छ । सात वर्षअघि गल्ती गर्नेलाई त्यही बेला कारबाही भएको भए अहिलेसम्म अनियमितता हुने थिएन । अहिले अनुशासन अभाव देखिएकालाई कारबाही गर्ने नीति राष्ट्र बैंकले लिएको छ । तर संस्था बचाउनुपर्छ भन्ने नीति पनि कायमै छ । आफैं बच्न सक्छ, व्यावसायिक व्यवस्थापन ल्याउनुपर्छ वा वित्तीय सहयोगमार्फत बचाउने हो, विभिन्न विकल्प छन् । आफैं नसके गाभिएर बाँच्नुपर्छ जसले निक्षेपकर्ता र लगानीकर्तालाई घाटा हुँदैन । तरलताका लागि विभिन्न विकल्प ल्याएका छौं । तर हामीकहाँ अन्तर्राष्ट्रियस्तरमा जस्तो सहज अवस्था छैन ।
त्यहाँ निक्षेप बिमाले ठूलो मात्रा समेटेको छ । त्यसैले हल्ला चलेपछि सर्वसाधारण लाइन लाग्नुपर्ने अवस्था छैन । सुरक्षाको व्यवस्था कमजोर भएकाले हामीकहाँ यस्तो देखिएको हो । गत वर्षबाट २ लाखसम्मको निक्षेप बिमा योजना हामीकहाँ सुरु भएको छ ।
यसलाई बढाउँदै लैजाने नीति राष्ट्र बैंकको छ । चल्न सक्ने अवस्था भएको संस्थालाई मात्र राष्ट्र बैंकले रकम दिन्छ । विश्वभर चल्न नसक्ने अवस्थामा पुगेको वित्तीय संस्थालाई सरकारले हेर्ने चलन छ । प्रणालीमै समस्या आउँदा सरकारले राहत प्याकेज ल्याउने गर्छ ।
यो वर्ष के असर पर्ला भनेर अध्ययन गरिरहेका छौं । ठूला बैंक वित्तीय संस्थामा अध्ययन भइरहेको छ । बैंक मात्र नभएर बैंकरले पनि ऋण लिएका छन् । गाँसिएका विभिन्न मान्छेले गरेको लगानी र त्यसलाई कारबाही गर्ने हो भने ठूलो असर देखिन्छ । अन्तर्राष्ट्रियस्तरमा यस्तो अवस्थामा के भएको थियो, हेरिरहेका छौं ।
यस्तै अवस्था आउँदा अमेरिकामा लिलामी रोकियो । लिलामी हुँदा मूल्य घट्छ भनेर सरकारले रोकेको हो । प्रणाली जोगाउन जस्तो पनि कदम चल्न सक्नुपर्छ । त्यो हामी हेरिरहेका छौं । अन्तर्राष्ट्रिय मुद्राकोषको समेत सहयोगमा अध्ययन भइरहेको छ । सरकारसँग ब्याकअप सहयोगका लागि अनुरोध गर्ने कि भनेर सञ्चालक समितिमा निर्णयार्थ लाने तयारी भइरहेको छ । यो प्रारम्भिक अवस्थामै छ ।
यहाँ विभिन्न वर्गका वित्तीय संस्थाको नाम जुधेको छ । एक वर्षको सूचना दिएर पहिले लिएकालाई प्राथमिकतामा राख्दै अन्यलाई नाम परिवर्तन गर भन्ने तयारी छ । प्रतिस्पर्धा राम्रो हो तर अस्वस्थ भए बिग्रन्छ । बन्द गर्ने होइन तर मर्जरबाट घटाउनुपर्छ भन्ने नीति राष्ट्र बैंकको छ । विशेष पुनः कर्जामा असल कर्जा धितो राखेर त्यसकोे निश्चित प्रतिशत रकम दिने हो । यसमा राष्ट्र बैंकको पनि सीमितता छ भन्ने कुरा बिर्सन हँुदैन । ऋण लिनेले तिर्न सक्छ कि सक्दैन भन्ने विषय पनि महत्त्वपूर्ण हो । फटाइँ गर्नेलाई नै पैसा दिने कि नदिने भन्ने कुरा हो । माग्नासाथ हामी अनुसन्धान गर्छौं । असल कर्जा हेर्छौं र तोकिएको नीतिअनुरूप दिन्छौं ।
अहिले सबैभन्दा धेरै वित्त कम्पनीले विशेष पुनः कर्जा लिएका छन् । कति सहयोग गर्ने भन्ने विषयमा संस्थामा आफ्नै वा अर्कोको समस्याले असजिलो भएको हो भन्ने हेरिन्छ । फरक फरक प्रवाधानअनुसार फरक निर्णय हुन सक्छ ।
अहिले माग्ने र दिने विषय महत्त्वपूर्ण होइन । हामी एकै परिवार हौं । राष्ट्र बैंकले प्राविधिक रूपमा हेरेर काम गर्छ । जे गर्नुपर्ने हो त्यही गर्छौं । भन्दै नभनी पनि आवश्यक काम गरिरहेका छौं । समग्र प्रणालीमा आत्मविश्वास बढाउन कुनै कन्जुस्याइँ हँुदैन । पूरै प्रणालीप्रति हाम्रो दायित्व छ ।
अहिलको समस्यालाई नकारात्मक रूपले मात्र हेर्नु भएन । यसबाट तीनवटा पाठ सिकिएको छ । यही अवस्थाले मर्जरलाई प्रोत्साहन गरेको छ । अनौपचारिक क्षेत्रको पैसा प्रणालीमा आउँछ ।
अहिलेका ठूला ऋणीसँग नै पैसा छ । सीमिति व्यक्तिसँग धेरै पैसा छ । उनीहरूले पैसा बैंकमै ल्याउँछन् । तेस्रो घरजग्गाबाट पाएको पाठ हो । लगानी बढ्दै जाँदा धेरै बैंकका प्रवर्द्धकलाई भन्यौं । कसैले मानेनन् र निर्देशन नै ल्याउनुपर्‍यो । अहिले सबैले कान समाते । सबै कुरा नकारात्मक रूपमा
नलिऔं । अहिले समस्याका साथै दीर्घकालीन समाधान पनि भइरहेको छ ।
मर्जर र अल्पकालीन सुधार सँगसँगै

हरि रोका
                   सभासद
अहिलको अवस्था आउनमा ५/६ कारण छन् जसमध्ये एउटा संरचनागत हो । हामीकहाँ ३ सय परिवारले ८० प्रतिशत ऋण लिएका छन् । यसमा डेढ सय बैंकका प्रवर्द्धक छन् । दोस्रो सांगठनिक समस्या छ । प्रवर्द्धक नै कार्यकारी हुँदा समस्या आएको हो । एकै व्यक्तिले आफ्नो निर्णयमा हरेक काम गर्न लगाउने मौका पाए ।
तेस्रो प्रशासनिक हो जसलाई बैंकरले स्विकारिसक्नुभएको छ । चौथो लगानीको कुरा हो । कहाँ लगानी गर्ने भन्ने विषयले समस्या आयो । सबैले आजको भोलि फाइदा पाइने स्थानमा लगानी गरे । कृषि र पर्यटनमा १ दशमलव ५ र उद्योगमा १५ प्रतिशत मात्र लगानी भयो । बाँकी सबै छिटो फाइदा हुने क्षेत्रमा लगानी भयो । त्यो हुँदा ठोक्किएर आउने कुरा स्वाभाविक भयो ।
देशमा रोजगारीको अवसर पनि छैन । आम मानिसले निचोरिन सक्नेसम्म बैंकलाई रकम तिरे । बाजारभाउ बढेर बचत नै छैन । राष्ट्रिय बचत ९ प्रतिशत थियो, अहिले झरेर ७ मा आएको छ । निक्षेप जम्मा गर्नेलाई स्रोतको खोजी भयो । यस्तो अवस्थामा बाउबाजेले हिसाबकिताब नराखेको भएर दिन सक्दैनौं भन्ने धेरै भेटिए जसले निक्षेप बैंकमा आएन । रेमिट्यान्स घट्यो, सरकारले पुँजी विस्तार गर्न सकेन । अब संरचनागत रूपमै समाधान खोज्नुपर्छ । यस्तै अवस्था रहने हो भने ६ महिनाभित्र ठूला बैंक पनि लड्ने अवस्था आउँछ ।
अन्य उद्योग र बैंकमा फरक छ । उद्योग नचले त्यसको कबाडी पनि बिक्री हुन्छ । तर बैंकबाट एकपटक तरलता बाहिर गए फर्काएर ल्याउन सजिलो छैन । पछिल्लो ८/१० वर्षमा जेमा पनि लगानी गर्न दिइयो । त्यसले समस्या आयो । वास्तविकताभन्दा ठूलो दरले बजार बढ्यो । राष्ट्र बैंकले त्यो हेर्न सकेन । अब बैंक तथा वित्तीय संस्था ऐन आउँदै छ । त्यहाँ संरचनामै परिवर्तन गर्न जरुरी छ । मिलेमतोमा बैंक खोलियो, त्यो सहकारीजस्तो भयो । परिवारका सदस्यले खेल्ने क्रम बढ्यो । यसको समाधान दुई तरिकाबाट हुन्छ । एक मर्जरबाट हुन्छ ।
ैजुनसुकै संस्था जुनसुकैसँग गाभ्ने/गाभिने वातावरण हुनुपर्छ । विनियमावलीले मात्र पुग्दैन । राष्ट्र बैंक र सरकारले थप गर्नुपर्छ । अहिले प्रणालीको 'सिस्टमेटिक रिस्क' देखिन सुरु भएको छ । छोटो समयका लागि राष्ट्र बैंकले लिएका नीति ठीक छन् । अहिले नियमनभित्र राखेर सुविधा दिँदै समस्या कम गर्नुपर्छ । समस्या बढे सरकारसँग सहयोग लिनुपर्छ । तर सरकारले ग्यारेन्टी बस्ने कि नबस्ने भन्ने कुरा हो । गडबडी गरेर भाग्ने अवस्था छ भने सरकारले किन सहयोग गर्ने भन्ने कुरा पनि छ । लामो समाधानका लागि मर्जरमा जानुपर्छ ।
त्यसपछि बैंकर र राष्ट्र बैंक बसेर लगानीको क्षेत्र निर्धारण गर्नुपर्छ । लामो समयको लगानी नीतिले मात्र यो क्षेत्र पछिसम्म सुरक्षित हुन्छ । उत्पादनमूलक क्षेत्रमा न्यूनतम ५० प्रतिशत लगानी हुनुपर्छ । 
पुनर्सचरना आवश्यक छ
अशोक राणा
                  अध्यक्ष
                बैंकर्स संघ
संस्थागत सुशासन र वित्तीय संस्थाको संख्याले अहिलेको अवस्था आएको देखिन्छ । पछिल्लो चार वर्षमा धेरै वित्तीय संस्था आए । घरजग्गाको मूल्य र कारोबार पनि यही समयमा बढ्यो । पहिले क, ख, ग वर्गका आआपmनै बजार थिए । तर पछिल्लोपटक सबैले एकैपटक घरजग्गामा लगानी गरे । निक्षेपको वृद्धिदर घट्यो । दुई वर्षअघिको दसैंमा भएको नोट अभावदेखि नै समस्या सुरु भएको हो ।
पुराना बैंक मात्र हुँदा सानो पँुजी थियो । पुराना बैंकले लगानी र निक्षेप संकलन दुवैमा लामो समय लगाएर ज्ञान लिएका थिए । नयाँ संस्था आउन रोक्ने उपायका रूपमा पुँजी बढाइयो । तर रोकिएन, बरु ठूलो पुँजी लिएर संस्था आउन थाले । ती संस्थाले लगानी पनि ठूलो गर्न थाले । एकै वर्षमा ४ अर्ब रुपैयाँसम्म लगानी गर्न थाले । यसको कारण नाफा कमाउनु नै थियो । सञ्चालक समितिले पुराना बैंकलाई पनि धेरै नाफा नै चाहियो भन्न थाले । यसले संस्थागत सुशासनको पनि समस्या देखियो । पछिल्लोपटक घरजग्गाको कारोबारमा समस्या छ । आर्थिक वर्षको अन्त्य र दसैंअघि घरजग्गाको खरिदबिक्री हुँदैन । त्यसले समस्या बढाउने देखिन्छ । बैंकर्समा पनि घाटा स्विकार्ने बानी बसेन । यसलाई स्विकार्न सक्नुपर्छ ।
राष्ट्र बैंकले तरलता प्रवाह गर्न दिएको माध्यम ढिलो आयो । यसले समस्या झनै बढायो । हुन त अहिले अन्तर बैंक ब्याजदर ६ प्रतिशत छ । वर्षको अन्त्यमा सधैं प्रणालीमा तरतला आएकै देखिन्छ । हाम्रो कर्जा निक्षेप अनुपातलाई पुँजीसँग जोडिएको छ । त्यसो नगर्दा यो अनुपात धेरैको ९० प्रतिशतमाथि छ । पहिले यो ८० देखि ९० बीच रहँदा मात्र सजिलो अवस्था थियो ।
कर्जाको पुनर्संचरना गर्नुपर्छ भनेर राष्ट्र बैंकलाई चिठी लेखिसकेका छौं । त्यो पनि प्रोभिजनिङ गरेर वा नगरी भन्ने विषय छ । केही प्रतिशत प्रोभिजनिङ गर्न लगाइन्छ होला तर ब्याज नआए पनि पुनर्संरचना हुनुपर्छ । यस्तो सुविधा द्वन्द्वको समयमा होटललाई दिइएको थियो । ब्याज मात्र तिरेर केही समय बस्न दिनुपर्छ । एकैपटक घट्ने देखिए अन्य समाधान खोजिनुपर्छ । दीर्घकालीन रूपमा मर्जरलाई प्रोत्साहन गर्नुपर्छ ।

सबै संस्था खराब छैनन्
राजेन्द्रमान शाक्य
                  अध्यक्ष
           वित्त कम्पनी संघ
पछिल्लो समयमा ग वर्गका वित्त कम्पनीहरूले तरलता अभाव झेलिरहेका छन् । विकास बैंक पनि यसबाट अछुतो छैनन् साथै सबै वाणिज्य बैंक पनि तरलतामा बलियो छन् भन्ने स्थिति छैन । निक्षेपकर्ताको बैंक तथा वित्तीय संस्थाप्रति विश्वास केही कम भएकाले समस्या देखिएको हो । केही वित्तीय संस्थामा भएको अनियमितता, संस्थागत सुशासनको अभाव र व्यक्तिगत स्वार्थ पूरा गर्न भएका कामका कारण अविश्वासको वातावरण छ । अहिलेको अवस्था आउनमा घरजग्गामा भएको धेरै लगानी प्रमुख कारण हो । बीचमा राष्ट्र बैंकले सीमामा ल्याउन निर्देशन दियो । त्यसपछि छोटो समयमै तोकिएको सीमामा ल्याउनुपर्ने भयो । सबैले तोकिएको सीमामा ल्याउँदा समस्या देखियो । ठूलो उपस्थिति र केही संस्थामा देखिएको विचलनले अविश्वास बढ्यो । यसले असल संस्थालाई पनि समस्या भयो । नखाएको विष सबैलाई लाग्यो । सबैले निक्षेपकर्ताको पैसाबाट कमाइरहेका छौं त्यसबाटै कर तिरिरहेका छौं । त्यसैले निक्षेपकर्तालाई तनावमा राख्नु हँुदैन । राष्ट्र बैंकले पुनः कर्जा सुरु गरेको छ । सम्पत्ति धितो राखेर कर्जा दिन सुरु भएको छ । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिले पनि राज्यस्तरका संस्थागत निक्षेपकर्तालाई केही समय नझिक्ने निर्देशन दिए पनि लिखित आएको छैन । दीर्घकालीन रूपमा समाधान खोजिनुपर्छ । असल नियतले गरेका पनि डुब्ने अवस्था आयो । अनियमितता गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ भने असल संस्थालाई डुब्न दिनु हुँदैन ।

वित्तीय र मौद्रिक नीतिले सहुलियत दिनुपर्छ

झपट बोहोरा
          निवर्तमान अध्यक्ष
           विकास बैंक संघ
अहिलेको समस्या आउनमा प्रमुख ५ कारण छन् । पहिलो राजनीतिक अस्थितरता हो भने दोस्रो आत्मविश्वास घट्दै जानु हो । संस्थागत र सर्वसाधारण निक्षेपकर्तामा बैंक तथा वित्तीय संस्थाप्रति अविश्वास बढ्दै गएको छ । तेस्रो वित्तीय अनुशासन कामय हुन सकेन ।
संस्थागत सुशासन अभाव देखियो । चौथो कुरा कम ब्याजदरले हो । पहिले मुद्रास्फीतिभन्दा कम ब्याजदर भयो । दुईबीच सन्तुलन भएन जुन हाल चाहिनेभन्दा बढी भएको छ । पाँचौं कुरा अस्वस्थ प्रतिस्पर्धा । निक्षेप संकलन र कर्जा दुवैमा अस्वस्थ्य प्रतिस्पर्धा भयो । यी कारणले अहिलेको अवस्था झेल्नुपरेको छ । समस्या एकदमै ठूलो छ । मौदि्रक नीति र बजेटबाट सम्बोधन गर्नु आवश्यक छ ।
तत्काललाई असार मसान्तअघि राष्ट्र बैंकले अध्ययन गरेर कर्जाको पुनसर्ंरचना र तालिकीकरण हुनुपर्छ । यसो गर्दा नाफा कमाउने पनि देखिन्छ । स्थायी समाधानका लागि यो आवश्यक छ । यसका विभिन्न मोडल हुन सक्छन् । दीर्घकालीन रूपमा बजेटले सम्बोधन गर्नुपर्छ । उदाहरणका लागि राहत प्याकेज आउनुपर्छ । त्यसबाहेक मौदि्रक नीतिबाट मर्जरलाई थप प्रोत्साहन हुनुपर्छ । मौदि्रक नीति र बजेटले ब्याकअप र मर्जर प्रोत्साहन गर्न आवश्यक छ । संस्थागत सुशासन कामय गर्न नसके समाधान हुँदैन । विश्वासको वातावरण जाग्न सक्नु पर्छ ।