Sunday, November 13, 2011

बैंकले निक्षेपमा ब्याज घटाउन थाले

काठमाडौ, कार्तिक २२ - बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी (तरलता) को अवस्था सहज हुँदै गएपछि ब्याजदर घट्न थालेको छ । पछिल्लो समय निक्षेप बढिरहे पनि कर्जा वृद्धि नभएपछि ब्याजदरमा असर देखिन थालेको हो । अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर परिवर्तन गरिएको सूचना प्रकाशन गर्न थालेका छन् । एकै प्रकृतिको खातामा ब्याजदर २ प्रतिशतभन्दा फरक पार्न नहुने नियमका कारण अधिकांशले त्यसभन्दा कम घटाएका छन् । तिहार पछिबाट बैंक तथा वित्तीय संस्थाले ब्याजदर परिवर्तन गर्न थालेका हुन् । 

यसका साथै तरलता अभावको अवस्था दोहोरिए ब्याजदर पुन बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । बर्सेनि सिजनका रूपमा हुने तरलता अभाव पुनः दोहोरिए ब्याजदर वृद्धिको विकल्प भने रहँदैन । तर शोधनान्तर बचतमा जानुका साथै शान्ति प्रक्रिया टुंगोमा पुग्ने संकेतले आर्थिक क्रियाकलाप बढ्ने देखिन्छ ।
पछिल्लो समय ४० अर्बको हाराहारीमा वाणिज्य बैंकसँग तरलता (लगानीयोग्य पुँजी) छ । धेरै तरलता भएका केही बैंकले यस अघिबाटै ब्याजदर कम गर्नुपर्ने बताउँदै आएका थिए । दसैतिहारपछि बजारमा रहेको पैसा पुन फर्किएर बैंकमा आउने भएकाले तरलता अझ बढ्ने देखिएको छ ।
'अहिलेकै अवस्था रहने हो भने पुसबाट निक्षेपका साथै कर्जाको ब्याजदर पनि घट्ने देखिन्छ,' कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने, 'अहिले अलिअलि परिवर्तन भएको छ ।' उनको बैंकले मुद्दतीमा कुनै परिवर्तन नगरे पनि साधारण बचतमा भने ब्याजदर झिनो अंकले परिवर्तन भएको बताए ।
'यो तरलतामा सुधार आएको संकेत हो,' स्ट्यान्डर्ड चार्टर्ड बैंकका कर्पोरेट अफेयर्स प्रमुख दिवाकर पौडेलले भने, 'अन्तर बैंक कारोबारमा कमी आएकाले त्यसको प्रभाव परेको हो ।' बैंकले पनि पछिल्लो पटक ब्याजदर परिवर्तन गरिएको सूचना सार्वजनिक गरेको छ ।
'पुराना योजनालाई यथावत् राखेर ८ दशमलव ५ प्रतिशत ब्याजदरको नयाँ योजना ल्याएका छौं,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'विभिन्न सूचकले ब्याजदर घटाउनका लागि दबाब दिइरहेका छन् ।' वाणिज्य बैंकले कुल निक्षेपको २० प्रतिशतको हाराहारीमा विभिन्न औजार राख्नुपर्ने रकम र उक्त रकमबाट आउने ब्याजदर न्यून भएकाले ठूलो मात्रामा ब्याजदर घटाउन नसकिएको उनले बताए ।
'१२-१३ प्रतिशत दिनेगरी निक्षेप लिएर १ प्रतिशतको हाराहारीमा आम्दानी हुने गरी राख्नु परेको छ' उनले भने,'यस्तो ब्याजदर बढ्ने वित्तिकै ग्राहकलाई दिने र लिनेमा पनि परिवर्तन हुने अवस्था छ ।'
ब्याजदरमा गिरावट आएर जोखिम बढ्न सक्ने संभावना रहेकाले नयाँ मुद्धती खातामा ब्याजदर केही कम गरेको सानिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल बताउछन् ।
'वाणिज्य बैंकले ब्याजदर कम गरे त्यसले विकास बैंकलाई असर गर्छ' उनले भने, 'त्यसैले सबैमा नभएर नयाँ मुद्धतिमा भने ब्याजदर कम गरेका छौं ।'
वाणिज्य बैंक बन्ने तयारीमा रहेको सानिमाले १३ प्रतिशतको हाराहारीमा रहेको मुद्धति योजनामा नयाँ ग्राहकलाई भने ११ दशमलव ७५ प्रतिशतको ब्याजदर तोकेको छ । 
बैंकहरूले ग्राहकलाई लगानी गरेरबाहेक आम्दानी गर्ने मुख्य क्षेत्र टे्रजरी बिल्स र अन्तर बैंक कारोबार दुवैबाट हुने फाइदा १ प्रतिशतको हाराहारीमा छ । ट्रेजरी बिल्स राष्ट्र बैंकले जारी गर्ने वित्तीय औजार हो भने अन्तर बैंक कारोबारमार्फत बैंक तथा वित्तीय संस्थालाई ब्याजमा ऋण सापट दिने गरिन्छ ।
पछिल्लो समय ९१ दिनको ट्रेजरी बिल्सको बट्टादर १ प्रतिशतको हाराहारीमा छ । वैशाखमा एक वर्षकै उच्च वृद्धि भएर ट्रेजरी बिल्सको बट्टादर ९ प्रतिशत पुगेको थियो । त्यसपछि मासिक रूपमा यो घट्दै आएको छ । यसका साथै ११ प्रतिशतको हाराहारी पुगेको अन्तर बैंक कारोबारसमेत पछिल्लो समय १ प्रतिशतकै हाराहारीमा आइसकेको छ । वैशाखमा अन्तर बैंक कारोबारमा औसत ब्याजदर १० दशमलव ४३ थियो ।
ब्याजदर निर्धारणका लागि पूर्ण छुट दिएको राष्ट्र बैंकले भने ठूलो मात्रामा ब्याजदर घटाइहाल्न सुझाव दिएको छ । 'केही समय नहेरी ठूलो अन्तरमा ब्याजदर नघटाउन सुझाव दिएका छौं' केन्द्रीय बैंक स्रोतले भन्यो, 'थोरै अंकमा परिवर्तन भइरहेको देखिन्छ ।' भारत र नेपालबीच ब्याजदरमा ठूलो अन्तर भए पुँजी पलायनको खतरा बढ्छ । नेपालमा ब्याजदर सस्तो भएपछि भारतका बैंकमा लगेर राख्ने क्रम बढ्ने अनुभव बैंकिङ क्षेत्रले गरिसकेको छ । 'मुद्रास्फीतिभन्दा बढी र भारतको भन्दा धेरै कम नहुने अवस्थामा ब्याजदर हुँदा राम्रो हुने देखिन्छ' स्रोतले भन्यो । पछिल्लो समय भारतको केन्द्रीय बैंकले रिपो -केन्द्रीय बैंकले अन्य बैंकलाई दिने ऋण) को ब्याजदर वृद्धि गरिरहेको छ । रिपोको ब्याजदर वृद्धि हुनेबित्तिकै बैंकहरूले ग्राहकलाई तोक्ने ऋण पनि वृद्धि हुन जान्छ ।

No comments:

Post a Comment