Wednesday, November 23, 2011

आयातित वस्तुको मूल्य २० प्रतिशतसम्म वृद्धि


डलर हालसम्मकै महँगो

काठमाडौ, मंसिर ७ - अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ । मंगलबार नेपाली बजारमा एक अमेरिकी डलर किन्न ८४ रुपैयाँ २० पैसा खर्चिनुपर्‍यो । यसअघि २०६५ चैतमा डलरको मूल्य ८३ रुपैयाँ ४० पैसा पुगेको थियो । भारतले अझै विनिमय दरमा हस्तक्षेप नगरेकाले तत्काल डलर सस्तिने सम्भावना नरहेको विज्ञहरू बताउँछन् । नेपालको भारतसँग स्थिर विनिमय दर रहेकाले भारतीय रिजर्भ बैंकको निर्णयमा नेपाली मुद्रा बजार निर्भर रहन्छ । करिब २ दशकदेखि १ सय भारतीय रुपैयाँ (भारु) बराबर १ सय ६० नेपाली रुपैयाँ (नेरु) रहने गरी स्थिर विनिमय दर कायम गरिएको छ ।

डलरको अधिमूल्यन (मूल्य वृद्धिको क्रम) बढ्दै गएपछि आयातित वस्तुहरूको मूल्य बढ्न थालेको छ । २ महिनायता आयातित वस्तुको मूल्य औसत २० प्रतिशतसम्म बढेको व्यवसायी बताउँछन् । अटोमोबाइल, बिलासिताका वस्तु, इलेक्ट्रोनिक्स लगायत वस्तुमा डलरको बढी प्रभाव परेको छ । 'पछिल्लो समयमा डलर १८ प्रतिशतले बढिसक्यो,' उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले भने, 'यसले आयात गरिने वस्तुमा २० प्रतिशतको हाराहारीमा मूल्य वृद्धि गराएको छ ।' दुई महिनायता एक डलरको मूल्य १२ रुपैयाँले
बढेको छ ।
'बढेको डलरले ज्यादै ठूलो असर गरेको छ,' समुद्रापार निकासी पैठारी संघका पूर्वअध्यक्ष अखिल चापागाईले भने, 'आयातको परिमाण घट्न थालेको छ ।' नेपाली रुपैयाँको अवमूल्यन भएर क्रयशक्ति घटेको र मूल्यवृद्धि भएपछि अत्यावश्यक वस्तुको मात्र बजारमा माग रहेको उनले बताए । 'महँगा वस्तुको बिक्रीमा सबैभन्दा धेरै असर देखिएको छ,' उनले भने ।
महँगिएको डलरका कारण निर्यातजन्य उद्योगलाई भने फाइदा भएको पाण्डे बताउँछन् । यसका साथै रेमिट्यान्सका रूपमा भित्रिने रकम पनि डलर बढेपछि वृद्धि हुन्छ । स्वदेशी मुद्रा डलरको तुलनामा कमजोर हुँदा वैदेशिक लगानीका लागि राम्रो वातावरण मानिन्छ । 'कार्पोट, पस्मिना, गार्मेन्ट, हस्तकला लगायतलाई डलर महँगो भएर फाइदा भएको छ,' पाण्डेले भने, 'तर असर भने डलरमा आयात गर्नेबाट मात्र नभएर भारुबाट पनि भएको छ ।'
तर कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५ प्रतिशत मात्रै भएकाले सामान निकासी गरेर हुने फाइदा निकै थोरै हुन्छ । ८५ प्रतिशत हिस्सा आयात हुने भएकाले निर्यातको प्रतिफल देख्न नसकिने व्यवसायी बताउँछन् । 'यसरी डलर बढ्दा निर्यातमा फाइदा हुने त हो तर निर्यात भएको चाहिँ खै,' तयारी पोसाक उद्योग संघका पूर्वअध्यक्ष किरण साखले भने, 'आन्तरिक वातावरण नबनी डलर बढेर मात्रै फाइदा हुँदैन ।' रेमिट्यान्स रकम नेरु बनाउँदा पहिलेभन्दा बढी पैसा आउने भएकाले वैदेशिक रोजगारीमा आश्रति परिवारलाई भने केही फाइदा हुने छ ।
नेपालले करिब ६५ प्रतिशत आयात भारतबाट गर्छ । डलरको तुलनामा भारतीय मुद्रा पनि अवमूल्यन भएकाले भारतमै पनि बजार भाउ आकासिन थालेको छ । त्यसैले भारतीय रुपैयाँमा हुने आयातमा पनि चाप परेको व्यवसायी बताउँछन् । 'डलर महँगिएर अर्थतन्त्रलाई असर गर्न थालेको छ,' चापागाईले भने, 'सरकारले यसलाई रोक्न नसके पनि भान्सार दरमा केही राहत दिन सक्छ ।'
युरोपको ऋण समस्याका कारण अमेरिकी डलर अधिमूल्यनको क्रम जारी रहेको हो । भारु अवमूल्यनमा भारतीय सरकारले तत्काल कुनै कदम नचाल्ने देखिएपछि नेपालमा पनि असर परेको हो ।
मंगलबार भारतीय रिजर्भ बैंकका गभर्नर डी सुवराओले तत्काल कुनै कदम चालिने सम्भावना नरहेको
बताए । 'पछिल्लो समयमा देखिएको विदेशी विनिमय दरलाई विश्व परिदृश्यले असर गरेको छ,' इकोनोमिक टाइम्सले उनलाई उद्धृत गर्दै भनेको छ, 'रोजगारी, आर्थिक वृद्धि, मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चिति लगायत बृहत् आर्थिक सूचकमा असर पर्‍यो भने हामीलाई चासो हुने हो ।'
यससँगै भारतबाट लगानी बिदेसिइरहेका कारण भारु कमजोर भएकाले तत्काल बजारमा हस्तक्षेप गरी त्यसरी रकम लानेहरूलाई थप फाइदा दिने मनस्थितिमा रिजर्भ बैंक नरहेको विश्लेषक बताउँछन् ।
यी क्षेत्रमा डलरको अधिमूल्यनले असर गरे/नगरेको स्पष्ट नभएकाले विनिमय बजारमा हस्तक्षेपबारे कुनै निर्णय नभएको सुवराव बताउँछन् । भारतमा प्रतिडलर मूल्य ५२ रुपैयाँ ७३ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । भारतमा विभिन्न क्षेत्रका व्यवसायीले चुलिँदो डलरपछि आफ्ना उत्पादनको मूल्य वृद्धि गर्न थालेका छन् ।
मूल्य वृद्धिमा प्रत्यक्ष असर राख्ने पेट्रोलियम पदार्थलाई पनि महँगिएको डलरले असर गरिरहेको छ । नेपाल पट्रोलियम पदार्थका लागि पूर्ण रूपमा भारतसँग निर्भर छ । भारत आफैंले पनि ८० प्रतिशत कच्चा पेट्रोलियम पदार्थ डलरमा खरिद गर्ने गर्छ । भारतले खरिद गर्दा महँगो भएपछि नेपालमा पनि मूल्य बढ्न जान्छ । 'ज्यादै ठूलो भार परेको छ,' आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले भने, 'कति असर परेको छ भन्ने हिसाब गरेर निकाल्नुपर्छ ।'
साढे २७ अर्ब रुपैयाँको सञ्चित नोक्सानी बेहोरिरहेको विद्युत् प्राधिकरणको दायित्व पनि डलरको अधिमूल्यनले बढाइदिएको छ ।

No comments:

Post a Comment