काठमाडौ, कार्तिक ३० - भारतको बहुराष्ट्रिय कम्पनी ओबराय होटल्सले नेपालको सोल्टी होटलमा रहेको आफ्नो सम्पूर्ण सेयर बिक्री गरेको छ । सोल्टी होटलको ६ दशमलव ८४ प्रतिशत सेयर ओबरायले नयाँ नेपाली कम्पनी शिवक्रिम लायन्ड एन्ड इन्डस्टि्रजलाई बिक्री गरेको हो ।
ओबरायले १४ करोड २८ लाख रुपैयाँ मूल्यमा १० लाख २० हजार कित्ता सेयर शिवक्रिमलाई स्टक एक्सचेन्जले नयाँ सुरु गरेको कारोबार विधि बल्क ट्रेडिङ मार्फत बिक्री गरेको हो । साधारण कारोबार मूल्य प्रतिकित्ता १ सय ८६ रुपैयाँ भए पनि ४६ रुपैयाँ घटेर खरिद बिक्री गर्ने समझदारी दुवै पक्षबीच भएको
थियो । समझदारीलाई उद्योग विभागले सहमति दिएपछि कारोबार भएको हो ।
ओबराय बाहिरिए पछि सोल्टीमा नेपाली संस्थापकको सेयर स्वामित्व ९० प्रतिशत पुगेको छ । 'ओबरायले आफ्नो सम्पूर्ण सेयर नेपाली लगानीकर्तालाई बिक्री गरेको हो,' कम्पनी सम्बद्ध स्रोतले भन्यो, 'अब होलिडे इनको मात्र विदेशी लगानी बाँकी छ ।' सोल्टीमा करिब ७० प्रतिशत सेयर सोल्टी इन्टरप्राइजेजको नाममा छ । यसबाहेक ठूलो लगानीकर्ताका रूपमा नेपाल वायु सेवा निगमको करिब १२ प्रतिशत सेयर स्वामित्व छ । होलिडे इनको सहायक कम्पनीका रूपमा होलिडे इन इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत सेयर स्वामित्व छ ।
ओबरायले सोल्टी होटलको सेयर बिक्री गर्नका लागि २ महिनाअघि सहमति गरेको थियो । ओबराय होटल्स भारतीय कम्पनी ओबराय समूह अन्तर्गत छ । १९३४ मा स्थापना भएको समूहले २९ होटल र ३ क्रुज सञ्चालन गरिरहेको छ । भारत बाहेक मोरिसस, इन्डोनेसिया, इजिप्ट र साउदी अरेबियामा पनि ओबरायका होटल सञ्चालित छन् ।
सोल्टीबाट ओबराय बाहिरिए पछि विदेशी लगानीकर्ताका रूपमा १० प्रतिशत सेयर होलिडे इनको नाममा बाँकी छ । होलिडे इनमा बेलायतको इन्टरकन्टिनेन्टल होटल्स समूहको ब्रान्ड हो । होलिडे इनकै लगानीका कारण सोल्टी होटलले 'क्राउन प्लाजा' ब्रान्ड प्रयोग गरेको छ ।
सोल्टी होटलले आर्थिक वर्ष ०६७/६८ मा १२ करोड ५४ लाख रुपैयाँ कर पछिको नाफा गरेको थियो । स्टक एक्सचेन्जमा सूचीकृत यस होटलको गत आर्थिक वर्षमा २३ दिन सेयर कारोबार भएको थियो । कारोबारमा अधिकतम सेयर मूल्य २ सय २० रुपैयाँ र न्यूनतम मूल्य १ सय ८७ रुपैयाँ थियो । गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरणमा होटलले पर्यटन वर्षको सुरुवातसँगै पूर्वाधारको स्तरवृद्धि र अन्तर्राष्ट्रिय स्तर कायम राख्ने उल्लेख गरेको छ ।
Thanks for your blogs
ReplyDelete