काठमाडौं , कार्तिक २० - प्रमुख राजनीतिक दलहरूबीच भएको शान्ति सहमति पछि बढेको सेयर बजारको वृद्धि कायम हुन सकेन । बजार ओरालो लाग्न थालेदेखिको प्रवृत्ति नै पछ्याउँदै सहमतिको तेस्रो दिन बजार घट्यो । सहमतिको भोलिपल्ट बुधबार १६ अंकले बढेको बजार मापक परिसूचक नेप्से बिहीबार ३ अंकले घट्यो ।
२०६५ भदौदेखि घटन थालेको सेयर बजारमा राजनीतिक परिवर्तनले केही दिन ठूलो दरले बढे पनि स्थायी हुन सकेको छैन । यसबाट राजनीतिक बहानामा बजार बढाएर ठूला लगानीकर्ताले आफूसँग भएको सेयर बेच्न खोजेको विश्लेषक बताउँछन् ।
माओवादीको पहिलो सरकार बनेदेखि घट्न थालेको बजार माधव नेपाल प्रधानमन्त्री हुँदा उच्चदरले बढेको थियो । पहिलो सातामा सेयर बजार चार दिन लगातार ६४ अंकले बढेर परिसूचक अन्तिम दिन २१ अंकले झरेको थियो । यो उतार-चढाव स्वाभाविक नभएको विश्लेषक बताउँछन् । त्यसपछि झलनाथ खनाल २०६७ माघ २० गते प्रधानमन्त्री नियुक्त भएको तीन दिनपछि बजार खुल्दा १ दशमलव ७ अंकले मात्र बढेको थियो । पहिलो दिन खनाललाई सेयर बजारले स्वागत गरे पनि दोस्रो कारोबार दिनबाट भने विरलै बजार उकालो लाग्यो ।
पछिल्लो समय बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भएकै दिन भने सेयर बजारमा उच्च गिरावट देखिएको थियो । बजार मापक परिसूचक नेप्से ९ दशमलव ७७ अंकले घटेर ३ सय ३७ दशमलव १६ विन्दुमा झरेको थियो । उनी अर्थमन्त्री हुँदा सेयर बजारलाई जुवाघरसँग तुलना गरेको हल्ला चलेर बजार घटन थालेकाले बजार नबढेको विश्लेषकहरू बताउँछन् । उनकै पहलमा भएको शान्ति सहमतिलाई एक दिनमात्रै स्वागत गरेको गत साताको बजारमा ११ करोड ८२ लाख ३७ हजार रुपैयाँ बराबरका ६ लाख ९९ हजार १ सय २४ कित्ता सेयरहरू खरिद-बिक्री भएका छन् । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव ८५ अंकले वृद्धि भई अन्तिम दिन ३४३ दशमलव ५५ अंकमा पुगेको छ ।
No comments:
Post a Comment