काठमाडौ, कार्तिक २८ - बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको ब्याजदर बीचको भिन्नता (स्प्रेड दर) औसत ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले 'अप्रत्यक्ष' नियन्त्रणको तयारी गरेको छ । करिब अढाई दशकअघि नै ब्याजदर बजारको माग र आपूर्ति अनुसार चल्ने गरी नियन्त्रण छोडिसकेको केन्द्रीय बैंकले सर्वसाधारण मर्कामा पर्न थालेपछि निगरानी बढाउन थालेको हो ।
'बजार अर्थतन्त्र अनुसार खुला छोडेकाले नियन्त्रण गर्छौं भन्न मिल्दैन,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'अहिलेकै अवस्था रहिरहे बाध्य भएर गर्नुपर्ने अवस्था आउँछ ।'
धेरैजासो वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउने तर कर्जामा परिवर्तन नगर्ने देखिएपछि केन्द्रीय बैंक अघि आएको हो । 'जिम्मेवार ढंगमा आफैं निर्धारण गर्न सक्ने गरी बजारलाई खुला छोडेको २० वर्षभन्दा बढी भइसक्यो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'कम नभए हामीलाई निर्देशन दिएर वा विभिन्न औजार प्रयोग गरेर यसलाई कम गर्ने अख्तियारी छ ।'
स्पे्रड दर बढी भएपछि केन्द्रीय बैंकले वाणिज्य बैंकलाई कर्जाको ब्याजदर घटाउन सुझाव दिन थालेको छ । औसतमा हेर्दा वाणिज्य बैंकको स्प्रेड दर ५ प्रतिशत देखिए पनि केहीको भने यसभन्दा बढी छ । कर्जाको ब्याजदर कम नगरेर बढी भएको स्प्रेड दरकै कारण लगानी पनि बढ्न नसकेको देखिन्छ ।
कर्जाको ब्याजदर कम नभएर नघटेको स्प्रेड दरसँगै लगानी पनि बढ्न सकेको छैन । अनुत्पादक क्षेत्रमा प्रवाहित कर्जा नियन्त्रण गर्न गरिएको नीतिगत प्रयास र बैंकहरूको उच्च कर्जा/निक्षेप अनुपातलाई सुधार गर्न भएका प्रयासका कारण निजी क्षेत्रको कर्जा विस्तारमा कमी आएको राष्ट्र बैंक बताउँदै आएको छ ।
बैंक तथा वित्तीय संस्थाले मौदि्रक नीतिको लक्ष अनुरूप कर्जा प्रवाह गर्न नसकेपछि केन्द्रीय बैंकले रिभर्स रिपो जारी नगरी बसेको छ । लक्ष्य अनुरूप कर्जा विस्तार नहुनु र बैंकलाई उत्पादकमूलक क्षेत्रमा लगानी बढाउन दबाब दिँदै रिभर्स रिपो जारी नगरिएको स्रोतले जनायो ।
मौदि्रक नीतिले बैंकबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १४ प्रतिशतको हाराहारी हुने प्रक्षेपण गरेको छ । यसका साथै बैंकहरूको कुल निक्षेप परिचालन १३ प्रतिशतले बढ्ने अनुमान केन्द्रीय बैंकले मौदि्रक नीतिमार्फत गरेको थियो । बैंकिङ प्रणालीमा करिब ४० अर्बको हाराहारीमा तरलता भए पनि अपेक्षित रूपमा कर्जा विस्तार हुन सकेको छैन ।
अनुमान विपरीत बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धि ८ देखि ९ प्रतिशतको हाराहारीमा छ । 'तोकिएको दरमा कर्जा प्रवाह भएपछि कुल गार्हस्थ उत्पादन ५ प्रतिशत हुने अनुमान गरिएको थियो,' केन्द्रीय बैंक उच्च स्रोतले भन्यो, 'तर अहिले यो ८ देखि ९ प्रतिशतको बीचमा रहेको देखिन्छ ।' दसैंतिहार अघिबाटै सुरु निक्षेप वृद्धि पछिल्लो समय पनि जारी छ ।
No comments:
Post a Comment