Monday, November 21, 2011

श्रेष्ठ र मास्केलाई थुनामा राख्न आदेश

काठमाडौ, मंसिर ५ - पुनरावेदन अदालत पाटनले नेपाल सेयर मार्केटस एन्ड फाइनान्स (एनएसएम) का तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ र महाप्रबन्धक सिद्धार्थमान मास्केलाई थुनामा राखेर कारबाही चलाउन आदेश दिएको छ । वित्तीय क्षेत्रमा सबैभन्दा ठूलो ठगीको आरोप लागेका उनीहरूलाई बैंकिङ कसुर ऐन अन्तर्गत कारबाहीको माग गरिएको थियो ।
श्रेष्ठ र मास्केले २ अर्ब ६७ करोड रुपैयाँ बराबरको अनियमितता गरेको आरोप छ ।
पुनरावेदन अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र सुस्मालता माथेमाको इजलासले आइतबारको बहसपछि दुवैलाई थुनामा राखेर कारबाही अगाडि बढाउन आदेश दिएको हो । आदेशपछि प्रहरीले दुवैलाई नख्खु जेलमा राखेको छ ।
कार्यकारी अध्यक्ष रहँदा श्रेष्ठले बिनाधितो आवश्यक प्रक्रिया पूरा नगरी १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ऋण दिएको आरोप छ । यससँगै राष्ट्र बैंकको अनुसन्धानका क्रममा व्यक्तिगत प्रयोगका लागि ८८ करोड रुपैयाँ, सञ्चालक समितिलाई गैरकानुनी रूपमा २० करोड ४९ लाख रुपैयाँ ऋण दिएको देखिएको थियो । ग वर्गको संस्थाबाट क वर्गको वाणिज्य बैंक बन्न आवेदन दिएपछि राष्ट्र बैंकले गरेको छानबिनका क्रममा श्रेष्ठको अनियमितता बाहिर आएको थियो । पुँजी वृद्धि गर्न आफ्ना सञ्चालकलाई आफैले ऋण दिनुका साथै निक्षेपकर्ताको रकम सीधै आफ्नो खातामा राखेको सम्मको गम्भीर अनियमितता देखिएपछि केन्द्रीय बैंकले श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेको थियो । उनीसँगै श्रीमती गीता र छोरा सौरभलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ ।
अनियमितता बाहिर आए लगत्तै वैशाखदेखि फरार भई भारतमा बस्दै आएका श्रेष्ठलाई असोजमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले श्रेष्ठलाई महेन्द्रनगरबाट पक्राउ गरेको थियो ।
बैंकिङ कसुर ऐनले श्रेष्ठलाई बिगो र जरिवाना सहित पाँच वर्षसम्म कैद गर्न सक्ने अधिकार दिएको छ । पक्राउ परेपछि श्रेष्ठले अनियमिततामा 'केही हदसम्म' आफ्नो संलग्नता रहेको बयान प्रहरीलाई दिएका थिए ।

No comments:

Post a Comment