Monday, November 21, 2011

पाँच महिनादेखि प्राथमिक सेयर निष्कासन ठप्प


काठमाडौ, मंसिर ६ - सेयरको दोस्रो बजारसँगै प्राथमिक बजारमा समेत पछिल्लो समयमा सुस्तता आएको छ । आर्थिक वर्षको ५ महिनासम्म कुनै पनि कम्पनीले प्राथमिक निष्कासनका लागि अनुमति लिएका छैनन् ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका कम्पनीका सेयर दलालमार्फत किनबेच हुने बजार दोस्रो हो भने कम्पनीले पहिलो पटक सर्वसाधारणका लागि जारी गर्ने सेयरको किनबेच हुने बजार प्राथमिक हो । चालू आर्थिक वर्षमा करिब १५ कम्पनीले प्राथमिक सेयर जारी गर्न सक्ने प्रावधान पूरा गरे पनि सेयर जारी गर्न रुचि देखाएका छैनन् ।
'पाँच महिनासम्म कुनै पनि कम्पनीले प्राथमिक निष्कासनका लागि अनुमति पाएका छैनन्,' धितोपत्र बोर्डका निर्देशक निरज गिरीले भने । सेयर बजारमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था सूचीकृत छन् । कानुनी प्रावधान अनुरूप राष्ट्र बैंकबाट अनुमति लिने सबै बैंक तथा वित्तीय संस्थाले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्नुपर्छ ।
गत आर्थिक वर्षभर १७ कम्पनीले प्राथमिक निष्कासन गरेका थिए । ती कम्पनीको सेयर मूल्य २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको थियो । 'धितोपत्र बोर्डको प्रावधान अनुसार साधारण सेयर जारी गर्नुअघि लेखापरीक्षण भएको हुनुपर्छ,' गिरीले भने, 'यसले पनि सेयर जारी गर्न केही ढिला भएको हुन सक्छ ।'
कानुनी प्रावधान मात्र नभएर बजारमा पहिले जस्तो हाताहात सेयर सेयर बिक्री हुनेमा कम्पनी ढुक्क हुन नसकेका कारण पनि जारी नभएको विश्लेषक बताउँछन् । 'हकप्रद सेयरको बिक्रीमा पछिल्लो केही समयदेखि समस्या देखिएको छ,' एक मर्चेन्ट बैंकरले भने, 'प्राथमिक निष्कासनमा पनि असर नपुग्ला भन्न सकिँदैन ।' गत आर्थिक वर्षको अन्त्यमा अनुमति लिएर प्राथमिक निष्कासन गरेको भार्गव विकास बैंकको सबै सेयर बिक्री हुन सकेको छैन । स्रोतका अनुसार कम्पनीको ८५ प्रतिशत साधारण सेयर मात्र बिक्री भएको थियो । ५० प्रतिशत अन्डरराइटिङ गरिएको उक्त निष्कासन ४ करोड रुपैयाँको थियो । बैंक तथा वित्तीय संस्थाले प्राथमिक निष्कासन जारी गर्दा सबै सेयर बिक्री नभएको यो पहिलो घटना हो । यसअघि हिमालयन डिस्टिलरीले साधारण सेयर जारी गर्दा सबै बिक्री हुन सकेको थिएन । 
'अहिलेको अवस्थामा नियामकले पनि सजिलो र छिटो सेवा दिएर प्रोत्साहन गर्नुपर्छ,' मर्चेन्ट बैंकर संघका अध्यक्ष भीष्मराज चालिसेले भने । दुई वर्षअघिसम्म भएको चलखेल र त्यसपछि बजार घट्न थालेर समस्या आएको उनी बताउँछन् । 'पहिलो बोरा भरेर एकै व्यक्तिलै धेरै सेयर भर्ने गर्थे,' चालिसेले भने, 'अहिले दोस्रो बजारमा मात्रै नभएर प्राथमिक निष्कासनमा पनि खरिद गर्ने कम देखिन थाले ।'
हाल केही क्षेत्रीय स्तरका वित्तीय संस्थाले प्राथमिक निष्कासनको अनुमति लिनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ठूला बैंक तथा वित्तीय संस्था भने 'पर्ख र हेर' को अवस्थामा छन् । पुसदेखि केही कम्पनीले साधारण सेयर जारी गर्न थाल्ने तयारी गरेका छन् । आर्थिक वर्षको पाँच महिनासम्म दुई कम्पनीले मात्र हकप्रद सेयर जारी गर्न स्वीकृति लिएका छन् ।
बैंक तथा वित्तीय संस्थाले १६ प्रतिशत भन्दा बढी ब्याजदरमा मात्र सेयर धितोकर्जा दिन थालेपछि कारोबारमा असर परेको छ । महँगो ऋण लिएर लगानी गर्दा पनि प्रतिफल कम हुने भएकाले लगानीकर्ता सेयर बजारमा आकषिर्त हुन सकेका छैनन् । '१२ प्रतिशत ब्याज आम्दानी बैंकको खातामा पैसा राखेर हुन्छ,' अर्का एक मर्चेन्ट बैंकरले भने, 'घटिरहेको सेयरमा लगानी गर्दा गुमाउनुपर्ने मात्र देखिरहेका छन् ।' ब्याजदर कम भएर लगानीको अवस्थामा सुधार आए पनि आगामी दिनमा भने प्राथमिक सेयर निष्कासनका घटना विरलै हुने देखिन्छ । 
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था खोल्न अनुमति दिन छाडेपछि यस्तो अवस्था आएको छ । अनिवार्य भएकाले सबै बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणका लागि सेयर निष्कासन गर्छन् । तर अन्य क्षेत्रका कम्पनीले सेयर जारी गरेर सूचीकृत हुन खासै इच्छा देखाउने गरेका छैनन् ।

No comments:

Post a Comment