काठमाडौ, श्रावण २७ - स्वदेशी कच्चा पदार्थ चुनढुंगामा आधारित कम्पनीसँगै आयातित कच्चा पदार्थबाट उत्पादन गर्ने ग्राइन्डिङ कम्पनी खुल्ने क्रम पनि बढ्दै गएको छ । तिहारपछि क्लिङकरबाट उत्पादन थाल्ने ३२ औं कम्पनीका रूपमा विशाल सिमेन्टले काम सुरु गरेको छ । 'पहिलो २ वर्ष क्लिंकर -तयारी कच्चा पदार्थ) बाट र त्यसपछि चुनढुंगाबाट उत्पादन थाल्ने योजना छ,' कम्पनीका कार्यकारी निर्देशक जयन्द्र चुडालले भने ।
उनका अनुसार हाल चुनढुंगाबाट उत्पादन गर्ने कम्पनीहरूको क्षमता प्रतिदिन ३ हजार ७ सय मेटि्रकटन र ग्राइन्डिङको ९ हजार ७ सय ५० मेटि्रक टन छ । 'चुनढुंगामा आधारित भएर प्रतिदिन ८ हजार टन र क्लिंकरबाट ११ हजार टन प्रतिदिन उत्पादन हुने गरी अनुमति लिइएको छ,' उनले भने, 'चालू आर्थिक वर्षमा धेरैले काम सुरु गरिसक्ने छन् ।' गत आर्थिक वर्ष अन्त्यसम्म सात वटा चुनढुंगा र ३१ वटा क्लिंकरबाट सिमेन्ट बनाउने उद्योगले अनुमति पाएका थिए ।
विशाल सिमेन्टले तिहारपछि प्रतिदिन ४ सय मेटि्रकटन सिमेन्ट उत्पादन गर्ने उनले बताए । 'उत्पादन थालेको आठ महिनाभित्र आठ सय मेटि्रकटन उत्पादन गर्न सक्ने गरी पूर्वाधार तयार गरेका छौं,' चुडालले भने । चुनढुंगाबाट उत्पादन गर्न भने विदेशी साझेदार भित्र्याउने तयारी कम्पनीले गरेको छ । 'दुई वटा कम्पनीसँग अहिलेदेखि नै कुरा थालिसकेका छौं,' उनले भने, 'उत्पादन हुने समयसम्मा कम्पनीले एउटा ब्रान्ड बनाइसक्ने छ ।'
जलविद्युत््लगायत पूर्वाधारको क्षेत्रमा हुने विकासले सिमेन्टको माग बढाउँदै लैजाने भएकाले कम्पनीले गुणस्तरमा विशेष ध्यान दिने उनले बताए । 'कम्पनीमा संलग्न गुणस्तरकै क्षेत्रमा लामो अनुभव भएका छौं,' उनले भने, 'त्यसैले हाम्रो सबैभन्दा महत्त्वपूर्ण पक्ष गुणस्तर नै हुने छ ।' कम्पनीले जनशक्ति, प्रविधिलगायतबाट खर्च बचाएर गुणस्तरमा ध्यान दिने उनी बताउँछन् । 'यसबाहेक सिमेन्ट प्रयोगबारे सर्वसाधारणमा जनचेतना जगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ,' उनले भने ।
कम्पनीले क्लोज सर्किट प्रविधिबाट ओपिसी, पिपिसी र स्लग सिमेन्ट उत्पादन गर्ने जनाएको छ ।
'प्रविधि विकाससँगै सिमेन्ट उत्पादनमा पनि परिवर्तन आउँदै गएको छ,' कम्पनीका प्राविधि महाप्रबन्धक एसआर अटलले भने, 'हामी पनि त्यहीअनुरूप नयाँ प्रविधि र गुणस्तरको सिमेन्ट उत्पादनको प्रक्रियामा छौं ।' पछिल्लो समय ओपिसी सिमेन्टलाई सिपिसीले विस्थापन गर्दै लगेको उनले बताए ।
सरकारले चुनढुंगाबाट उत्पादन गर्ने कम्पनीलाई प्रोत्साहन गर्ने बताइरहे पनि समस्या हल भने नभएको उनी बताउँछन् । 'विद्युत्, सडक, सुरक्षा जस्ता विषयमा कदम नचाल्दा सम्म चुनढुंगाबाट उत्पादन गर्न सम्भव छैन,' चुडालले भने ।
No comments:
Post a Comment