काठमाडौ, भाद्र ६ - राजनीतिक दलसम्बद्ध ट्रेड युनियन र सत्तारूढ दलको सिफारिसमा नियुक्त हुने व्यवस्थापनका कारण सरकारी बैंकहरू फेरि जोखिममा पर्दै गइरहेका छन् । विश्व बैंकलगायत संस्थाबाट ऋण लिएर सुधार थालिएका यी बैंकहरू स्वतन्त्र व्यवस्थापक समूह बाहिरिएलगत्तै फेरि राजनीतिक चपेटामा परेका छन् । यसको पछिल्लो सिकार कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक भएका छन् । दुवै संस्थामा सञ्चालक समितिको विपरीत आस्था भएका कर्मचारी युनियनले आन्दोलन गरिरहेका छन् ।
सरकार चलाउने पार्टी नजिक व्यक्ति नियुक्त गर्ने परम्पराका कारण दुवै संस्थाको प्रमुख कार्यकारी अधिकृतको पद खाली छ । डेपुटी गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा राष्ट्रिय वाणिज्य बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत छनोट गर्न खोज्दा पछिल्लो पटक विरोध गर्दै प्रक्रिया अवरुद्ध गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृतविहीन भएपछि कामु जिम्मेवारी पाएकी शिवादेवी कापmले विरुद्ध कर्मचारी युनियनले आन्दोलन थालेका छन् । सोमबार पुनः प्रमुख कार्यकारी अधिकृत छनोटको प्रक्रिया सुरु गरिएको छ । गत सातासम्म भएको दुईघन्टे धर्नालाई अहिले तीन घन्टा बनाइएको छ । 'हामी धर्ना सकिनेबित्तिकै काम गरिरहेका छौं,' कामु प्रमुख कार्यकारी अधिकृत कापmलेले भनिन् । सञ्चालकसमेत रहेकी उनले आपmनो कार्यकाल नयाँ प्रमुख चयननहुन्जेल मात्र रहेको बताउँदै आएकी छन् । 'छनोट समितिले तदारुकताका साथ काम गरिरहेको हामीले बुझेका छौं,' उनले भनिन्, 'त्यसैले छिट्टै नियुक्ति हुने देखिएको छ ।'
कृषि विकास बैंकमा करिब १ महिनादेखि आन्दोलन चलिरहेको छ । केन्द्रीय कार्यालयमा प्रशासन, नायब महाप्रबन्धकको कोठामा तालाबन्दी गरेका कर्मचारीले ९ क्षेत्रिय कार्यालयमा समेत निर्देशकको कोठा बन्द गरेका छन् । 'सोमबार मात्रै १ हजार १९ जना कर्मचारी धर्नामा सहभागी भएका थिए,' वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष मुक्तिनाथ पन्तले भने । पदपूर्ति, अनिवार्य अवकाशलगायत २८ वटा माग राखेर युनियनले आन्दोलन गरिरहेको हो । पछिल्लोपटक प्रमुख कार्यकारी अधिकृत नभएपछि युनियनले सञ्चालक समिति समक्ष माग राखेको छ । 'हामीले अर्थ मन्त्रालय र राष्ट्र बैंकमा पनि जानकारी गराइसकेका छौं,' पन्तले भने, 'सुनुवाइ नभएसम्म कार्यक्रम जारी रहन्छ ।'
कर्मचारी युनियनले विभिन्न माग राखेर विरोध सुरु गरेपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत श्यामसिंह पाण्डेले राजीनामा दिएका थिए । पाण्डेले भने 'कर्मचारीको अनावश्यक माग' पूरा गर्न नसक्ने भएकाले राजीनामा दिएको बताउँदै आएका छन् । खुला प्रतिस्पर्धाबाट नयाँ कर्मचारी छनोट गर्न खोज्दा कर्मचारी युनियनले विरोध गरेपछि पाण्डेलाई दबाब परेको थियो ।
No comments:
Post a Comment