काठमाडौ, पुस १८ - सेवा क्षेत्रको आम्दानीमा सुधार भएपछि मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तर शोधनान्तर अवस्था सुधार भएर बचत हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक मसान्तमा शोधनान्तर बचत ४६ अर्ब ३१ करोड छ । यो अहिलेसम्मकै बढी हो । केन्द्रीय बैंकले आर्थिक वर्ष ०३१/०३२ देखिको तथ्यांक सार्वजनिक गर्न थालेको हो ।
'यो अहिलेसम्मकै उच्च बचत हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'विशेषगरी सेवा क्षेत्रमा भएको सुधारले बचत बढेको हो ।' शोधनान्तर देश भित्रिने बाहिरिने रकम बीचको फरक हो । आयात, वैदशिक शिक्षा र भ्रमणमा हुने खर्च, स्वास्थ्योपचार आदिबाट रकम बाहिरिन्छ । यसैगरी निर्यात, रेमिट्यान्स, पर्यटन, वैदेशिक सहायाता आदिबाट रकम भित्रिन्छ ।
राष्ट्र बैंकका अनुसार पर्यटन र रेमिट्यान्सबाट हुने आय उल्लेख्य बढेको छ भने निर्यातमा पनि सामान्य सुधार देखिएको छ । गत वर्षको यसै अवधिभन्दा ३४ दशमलव २ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा १ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । अघिल्लो वर्षको चार महिनामा यो वृद्धिदर १३ प्रतिशत मात्र थियो । असोज महिनाको तुलनामा कात्तिक महिनामा रेमिट्यान्स ३६ प्रतिशतले बढेको छ ।
यस वर्ष वित्तीय खाता अन्तर्गत २ अर्ब ७४ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ३ अर्ब ४२ करोड रुपैयाँ प्राप्त भएको थियो ।
सेवा क्षेत्र अन्तर्गत पर्यटनबाट हुने आय बढेको छ । साथै वैदिशक शिक्षा, स्वास्थ्य उपचार लगायतमा खर्च घटेको छ । चार महिनामा पर्यटन क्षेत्रबाट हुने आय ३३ दशमलव ४ प्रतिशतले बढेको छ ।
०६८/६९ को चार महिनासम्ममा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७ प्रतिशतले बढेको छ । यस अवधिमा निर्यात २३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा भारततर्फको निर्यात १४ दशमलव ६ प्रतिशतले बढेको छ । भारत बाहेक अन्य मुलुकतर्फको निर्यात ३ दशमलव ८ प्रतिशतले बढेको छ । 'यसले अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको संकेत गरेको छ,' प्रवक्ता ज्ञवालीले भने ।
आर्थिक वर्षको चार महिनामा वस्तु आयात ११ दशमलव ८ प्रतिशतले बढेर १ सय ३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । कात्तिक महिनामा मात्रै कुल वस्तु आयात असोज महिनाको तुलनामा १६ दशमलव १ प्रतिशतले बढेको छ । भारतबाटै आयात हुने क्रम पनि बढेको हो । यस वर्षको ४ महिनामा ४ दशमलव २ प्रतिशत आयात भारतबाट बढेको छ । अन्य मुलुकबाट हुने आयात भने २७ दशमलव ९ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट हुने आयात बढ्नुमा डलरको अधिमूल्यन पनि एक कारण देखिएको छ ।
आयातमा भएको वृद्धिसँगै मुलुकमा महँगी पनि बढ्दै गएको छ । आर्थिक वर्षको चार महिनामा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ८ दशमलव ४ प्रतिशत थियो । तथ्यांक अनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांक ८ दशमलव ४ प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा समूहमा पनि ८ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको छ ।
No comments:
Post a Comment