काठमाडौं, पुस २९ - राष्ट्र बैंकबाट जारी ट्रेजरी बिल्स र ऋणपत्रको ब्याज १ प्रतिशतभन्दा तल झरेपछि बैंकहरूले त्यसको भार सर्वसाधारणमाथि थोपरेका छन् । दुवैको प्रतिफल न्यून हुँदा नाफामा असर परेको भन्दै वाणिज्य बैंकले सर्वसाधारणलाई उपलब्ध गराएको ऋणको ब्याजदर घटाउन नमानेका हुन् ।
राष्ट्र बैंकले भने खुद तरल सम्पत्तिमा गरिएको लगानीलाई मात्रै देखाएर वाणिज्य बैंकहरूले ब्याज घटाउन सकिएन भन्नु गलत भएको जनाएको छ ।
पछिल्लो समय बैंकहरूको तरलता (लगानीयोग्य पुँजी) ६० अर्ब रुपैयाँको हाराहारीमा छ । यसले बजारमा अत्यधिक तरलता भएको देखाउँछ । गत वर्ष तरलता अभाव हुँदा ब्याजदर बढेजस्तै अहिले बढी भएपछि ब्याजदर घट्नुपर्नेमा वाणिज्य बैंकहरूले भने आम्दानीको अर्को स्रोत ट्रेजरी बिल्सबाट हुने लाभ ७ वर्षयताकै न्यून रहेको भन्दै ब्याज कम गर्न नमानेका हुन् । पर्याप्त रकम हुँदाहुँदै पनि ब्याज नघटेपछि सर्वसाधारणका गुनासा बढ्दै गइरहेको छ ।
वाणिज्य बैंकहरूले आफूकहाँ जम्मा हुन आउने रकमको करिब २० प्रतिशत राष्ट्र बैंकमा राख्नुपर्छ । त्यसमध्ये ५ प्रतिशत 'अनिवार्य नगद मौज्दात' शीर्षकमा राख्नुपर्छ जसबाट ब्याज आउँदैन । १५ प्रतिशत रकम ट्रेजरी बिल्स र ऋणपत्रमा लगानी गरिन्छ । ट्रेजरी बिल्सबाट हुने आम्दानी गणना गरिने बट्टादर अहिले ६ वर्षयताकै न्यून विन्दुमा छ । गत साता ९१ दिने ट्रेजरी बिल्सको बट्टादर -प्रतिफल) शून्य दशमलव ६७ प्रतिशत थियो । यो सन् २००४ अगस्टयताकै न्यून हो । गत वर्षभर यसको दर औसत ६ देखि ७ प्रतिशत थियो ।
बैंकिङ क्षेत्रको औसत नाफामा १५ देखि २० प्रतिशत हिस्सा राष्ट्र बैंकमा गर्ने लगानीको हुन्छ । त्यसमध्ये पनि ९१ दिने ट्रेजरी बिल्समा धेरै लगानी हुने हुँदा त्यसको प्रतिफल घटेको भन्दै बैंकहरूले सर्वसाधारणको ब्याजदर घटाउन नचाहेका हुन् । 'कम प्रतिफल भएपछि बैंकहरूको ब्याजबाट हुने समग्र आम्दानीमा असर पुगेको छ,' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने, 'त्यसैले ब्याजदर घटाउन गाह्रो भएको हो ।'
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल पनि ट्रेजरी बिल्ससहित ऋणपत्रको ब्याजदर कम हुँदा धेरै असर पुगेको बताउँछन् । '१०-१२ प्रतिशत ब्याज दिने गरी सर्वसाधारणबाट लिएको रकम लगानी गर्दा १ प्रतिशतभन्दा कम आम्दानी हुने भएपछि ब्याज घटाउन नसकिएको हो,' उनी भन्छन् ।
बैंकहरूले ब्याज घटाउन नसक्नुको अर्को कारण अन्तर बैंक सापटीको ब्याजदर १ प्रतिशतभन्दा कम हुनुलाई देखाएका छन् । पुस १९ गते बैंकहरूले एक अर्कालाई सापटी दिँदा ० दशमलव ७५ प्रतिशतमात्रै ब्याज लिए । गत वर्ष यतिखेर अन्तर बैंक ब्याजदर १३ प्रतिशतसम्म थियो ।
बैंकहरूले मुद्दती खातामा बढी ब्याज दिएर लिएको निक्षेपका कारण पनि तुरुन्तै ऋणको ब्याजदर घटाउन नसकिने बताएका छन् । मुद्दती खाता लामो समयका लागि लिइने र बढी ब्याजदर हुने खाता हो । गत वर्ष रकम अभाव भएपछि बैंकहरूले यस्तो खातामा आकर्षक ब्याजदर तोकेर सर्वसाधारणलाई आकषिर्त गरेका थिए । अहिले नै यी खाताबाट रकम झिक्न नपाइने भएकाले यस्ता खातावालालाई सुरुमा कबोल गरेकै दरमा ब्याज दिइराख्नुपर्ने हुन्छ ।
राष्ट्र बैंक भने बैंकरहरूको यो तर्कसँग सहमत छैन । 'अन्तर्राष्ट्रिय मान्यताअनुसार बैंकहरूले आफ्नो २० देखि २५ प्रतिशत तरलता (लगानी योग्य पुँजी) आफैंसँग राख्नुपर्छ,' केन्द्रीय बैंकका एक उच्च अधिकारीले भने, 'त्यसैले खुद तरल सम्पत्तिमा गरिएको लगानीले मात्रै ब्याज घटाउन सकिएन भन्न मिल्दैन ।' ट्रेजरी बिल्स र अन्तर बैंक सापटीको प्रतिफल बजारले निर्धारण गर्ने भएकाले त्यसमा पनि गुनासो गर्न नमिल्ने उनी बताउँछन् । 'ट्रेजरी बिल्सको प्रतिफल सरकारले दिने हो,' उनले भने, 'बैंकको आम्दानी बढाउन सरकारले खर्च गर्नुपर्छ भन्न मिल्दैन ।'
अन्तर बैंक सापटीको ब्याजदर घट्ने क्रममा रहेकाले आगामी महिनाबाट अन्य ऋणको ब्याजदर पनि घट्ने ती अधिकारीले बताए । 'सुरक्षित भए कम ब्याजमै बैंकले लगानी गर्न सक्छन् भन्ने कुरा अन्तर बैंक ब्याज कम भएकाले पुष्टि हुन्छ,' उनले भने, 'केही समयमा अन्य सुरक्षित लगानीको ब्याज आफैं कम भएर जानेछ ।'
बैंकहरूले ब्याजदर घटाउन नसक्नुमा घरजग्गा र सेयरमा दिएको कर्जामा समस्या हुनु पनि हो । घरजग्गामा बैंकहरूले गरेको लगानीबाट समयमै ब्याज उठ्न समस्या देखिएको छ । ऋण उठिरहेको क्षेत्रमा पनि ब्याजदर कम गर्ने हो भने बैंकहरूको नाफा घट्ने सम्भावना हुन्छ । 'ब्याजदर कम नहुनुको प्रमुख कारण घरजग्गा र हायर पर्चेजलगायतका क्षेत्रको ऋणमा देखिएको समस्या हो,' केन्द्रीय बैंक स्रोतले भन्यो, 'यो क्षेत्रबाट ऋण उठ्न थालेपछि ब्याजदर कम हुनेछ ।'
No comments:
Post a Comment