Tuesday, January 24, 2012

नेरु ५ सातामा साढे ५ रुपैयाँले बलियो

काठमाडौ, माघ १० -  नेपाली रुपैयाँ (नेरु) पछिल्लो पाँच सातामा अमेरिकी डलरको तुलनामा साढे ५ रुपैयाँले बलियो भएको छ । पुस १ गते एक डलर बराबर ८६ रुपैयाँ ३७ पैसा रहेकामा सोमबार ८० रुपैयाँ ८६ पैसामा किनबेच भयो । 
भारतीय रिजर्भ बैंकले आफ्नो मुद्राको अवमूल्यन (कमजोर) हुने क्रम रोक्न गत महिनाभर विभिन्न उपाय अवलम्बन गरेपछि यसको असर नेपालमा पनि परेको हो । करिब २ दशकदेखि एक सय भारतीय रुपैयाँ बराबर १ सय ६० हुने गरी दुई देशबीच स्थिर विनिमयदर कायम गरिएको छ । 
नेपाली मुद्राको तुलनामा डलर कमजोर हुँदा आयातित सामानको मूल्य कम पर्छ । करिब एक महिनाअघि हालसम्मकै उच्च अधिमूल्यन भएको डलरका कारण बजारमा २० प्रतिशतसम्म महँगी बढ्ने अनुमान व्यवसायीले गरेका थिए । तेस्रो मुलुकबाट आयात हुने सामानका साथै विभिन्न उद्योगले आयात गर्ने कच्चा पदार्थ पनि डलर तिरेर मुलुक भित्र्याउने गरिन्छ । अब डलर अवमूल्यन भएपछि केही राहत पुग्ने छ ।  
अर्कोतर्फ डलर बलियो भएको समयमा रेमिट्यान्स पठाउने क्रम बढेको थियो । यो कमजोर भएपछि रेमिट्यान्सको आप्रवाहमा पनि कमी आउन सक्ने सम्भावना रहन्छ । डलर महँगो हुँदा नेपालबाट तेस्रो मुलुक निर्यात गर्ने व्यवसायीलाई भने फाइदा भएको थियो । जसबाट नेपाली व्यवसायीले अन्य मुलुकको उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्षम भएका थिए । नेपाली मुद्रा डलरको तुलनामा कमजोर रहँदा विदेशी लगानी आकषिर्त गर्न सक्ने सम्भावना पनि रहने विज्ञहरू बताउँछन् । 
भारतले गत महिना डलर धेरै बलियो भएपछि बजारमा हस्तक्षेप गरेको थियो । आफूसँग भएको डलर बिक्री गर्ने, बैंकसँग हुने डलरको मौज्दातमा सीमा लगाउने लगायत काम भारतीय केन्द्रीय बैंकले गरेको थियो । युरोपको आर्थिक संकट र भारतमा भएको उच्च मागका कारण डलरको मूल्य बढेको थियो । केन्द्रीय बैंकले हस्तक्षेप नगरेका मुलुकमा यो अझै बढ्ने क्रममा छ । 
भारतले आपmनो मुलुकमा डलरको मूल्य ५० रुपैयाँभन्दा तल र माथि जान नदिने अघोषित नीति लिएको विश्लेषकहरू बताउँछन् । डलरको तुलनामा भारतीय रुपैयाँ धेरै कमजोर हुँदा अन्तर्राष्ट्रिय व्यापारमा फाइदा पुग्ने र डलर बाहिरिने क्रममा कमी आउँछ ।

No comments:

Post a Comment