काठमाडौ, माघ १७ - स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्थापनाको २५ वर्ष पूरा गरेको छ । स्ट्यान्डर्ड चार्टड ग्रुपको ७५ प्रतिशत लगानी रहेको बैंकले बनाएका योजना र वित्तीय बजारबारे प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुससँगको कुराकानी:
बैंकले नेपालमा सेवा सुरु गरेको २५ औं वर्षमा प्रवेश गर्दैछ । यो अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
नेपालका लागि हाम्रो प्रतिबद्धता १९८७ देखि हो । हाम्रो लागि यो धेरै राम्रो यात्राको सुरुवात भएको छ । यो यात्रा ज्यादै सिर्जनशील र उपलब्धिमूलक छ । स्ट्यान्डर्ड चार्टर्ड अन्तर्राष्ट्रिय बैंक हो । अन्तर्राष्ट्रिय स्तरमा हेर्दा २५ वर्ष पुग्नु आफैंमा ज्यादै सानो भए पनि यहाँका लागि उपलब्धिमूलक हो । एसियाका धेरै भागमा हामीले १ सय ५० वर्ष नाघिसकेका छौं । भारतमा १ सय ५५ वर्ष नाघिसकेका छौं । २५ वर्ष लामो सम्बन्धको एक सुरुवात हो । हाम्रो ब्रान्डको नारा यहाँ राम्रोका लागि (हेयर फर गुड) छ । यसबाट हामी लामो समयका लागि यहाँ छौं भन्न खोजिएको हो ।
केही वर्ष अघिसम्म नाफाको हिसाबमा स्ट्यान्डर्ड चार्टर्ड बैंक एक नम्बर थियो । अहिले पछि धकेलिएको छ नि ?
आफ्नो प्रतिबद्धता अनुसार काम गर्ने हो । २-३ वा १० वर्षमा बैंक बनाउन सकिँदैन । सम्बन्ध बनाउनका लागि लामो समय चाहिन्छ । हामी विश्वव्यापी छाप सहित स्थानीय क्षमता भएका बैंक हौं । त्यसैले हाम्रा लागि छोटो समयको नाफाले कुनै अर्थ राख्दैन किनकि हामी लामो समयका लागि छौं । हामी कहाँ जहिले पनि बैंकको क्षमता र कसरी व्यावसायिक वातावरण व्यवस्थापन गर्छौं भन्ने
देख्नुहुने छ ।
तर बैंकिङ क्षेत्रमा नाफा महत्त्वपूर्ण मानिन्छ । हैन र ?
मलाई त्यस्तो लाग्दैन । वित्तीय संस्थालाई जाँच्ने धेरै वटा सूचकमध्ये एउटा नाफा हो । अहिले तपाई पश्चिमा मुलुक हेर्नुहुन्छ भने सबै नाफाबाट पर भागेका छन् । उनीहरू क्षमता बनाउन लागिपरेका छन् । पुँजी, तरलता लगायतमा क्षमता बढाइरहेका छन् । नेपालमा पनि बासल ३ छिट्टै लागू हुन लागेको छ । नेपालमा हामीले बासल २ का केही प्रावधान मात्र लागू गरेका छौं । जसले पुँजी, तरलता लगायत विषयमा अहिलेको भन्दा धेरै फरक वातावरण बनाउने छ । त्यसैले नाफा भनेको एक सूचक भए
पनि अन्य धेरै सूचक पनि छन् भन्ने बिर्सन हँुदैन । जहाँ संस्थाले लामो समयसम्म स्वस्थ्य भएर चल्न सक्ने वातावरण तयार गर्नुपर्छ । यदि तपाई स्ट्यान्डर्ड चार्टर्डलाई सुशासन, जोखिम व्यवस्थापन, तरलता व्यवस्थापन र अनि मात्र नाफाबाट हेर्नुहुन्छ भने सोचाइमा फरक आउन सक्छ ।
स्ट्यान्डर्ड चार्टर्ड अन्तर्राष्ट्रिय बैंक बनेर यहाँ सर्वसाधारणसँग नजिक हुन नसकेको आरोप लाग्छ । अन्तर्राष्ट्रिय संघ/संस्थाका लागि मात्र काम गरेको भनिन्छ । के यो सत्य हो ?
तपाई यो कसरी भन्न सक्नुहुन्छ र ? हामी आएको लामो समय भइसक्यो र हाम्रो ग्राहक हेर्नुभयो भने अन्तर्राष्ट्रिय समुदाय मात्र छैनन् । हामी विदेशी सहयोगको रकम आउने माध्यम मात्र होइनौं । विश्वव्यापी रूपमा तीन वटा रेटिङ एजेन्सीबाट 'एए माइनस' पाएको बैंक हामी हौं । त्यसैले नेपालमा विश्वले छिर्ने बाटो पनि हौं । हाम्रो रिटेल बैंकिङ, स्थानीय कर्पोरेट ग्राहक हेर्नुभयो भने मुलुकका हरेक क्षेत्रमा राम्रो काम गरेका सबै हाम्रा ग्राहक छन् । यसलाई अर्को रूपमा पनि हेर्न सकिन्छ । व्यक्तिगत ऋण सुविधा उपलब्ध गराउने हामी एक मात्र बैंक हुनुपर्छ । जसमा कुनै पनि धितो आवश्यक छैन । बैंकका रूपमा हामीले धेरै ठूलो लगानी जलविद्युत् क्षेत्रमा गरिसकेका छौं । हाम्रो लगानी योजनामा पनि जलविद्युत्लाई मुख्य क्षेत्रका रूपमा राखिएको छ । नेपालमा लगानी गर्ने हाम्रो प्रतिबद्धताको कुरामा जलविद्युत् मुख्य रहन्छ र पूर्वाधारमा बढी ध्यान दिन्छौं ।
नेपालमा सञ्चालन हुने अधिकांश विदेशी साझेदार कम्पनीले वातावरण उपयुक्त नभएको बताउँछन् । तपाईको विचारमा समस्या के छन् ?
तपाईले अन्यबाट सुनेका कुरा धेरै सही हुन् । मैले पहिल्यैदेखि भन्दै आएको अर्को कुरा नेपालको निष्पक्ष 'रेटिङ' हो । किनभने विदेशमा भएकाले यहाँ व्यवसाय गर्न लाग्ने खर्च, पुँजीको लागत कति हो थाहा पाउँदैनन् । कति समयमा लगानीबाट नाफा आउँछ भन्ने कुरा थाहा पाउँदैनन् । नेपालका सबै छिमेकी मुलुकमा यस्तो रेटिङ छ । रेटिङले सुनिश्चितता दिन्छ ।
२५ औं वर्ष पूरा भएको अवसरमा केही नयाँ योजना सार्वजनिक गर्न लाग्नुभएको छ ?
हाम्रा लागि २०१२ ज्यादै महत्त्वपूर्ण छ । बैंकका लागि मात्र नभएर मुलुकका लागि पनि यो महत्त्वपूर्ण छ । २०१२ नयाँ युगको सुरुवात हुने -इपोकल) वर्ष हो । त्यसैले मेरो विचारमा सबै क्षेत्रमा स्थायित्व हुने छ, जसमा सबैले आफ्नो उत्कृष्टता दिने छन् । बैंकको कुरा गर्दा अन्य मुलुकमा रहेका केही उत्कृष्ट योजना यहाँ सुरु गर्छौं ।
उदाहरणका लागि नयाँ वर्षमा हामी विश्वभर चल्ने भिजा डेबिट कार्ड सुरु गछौं । साना तथा मझौला (एसएमई) बैंकिङमा केही नयाँ रूप ल्याउँछौ । व्यापारलाई प्रवर्द्धन गर्ने योजना पनि ल्याउँदै छौ । अन्य पनि विषय छन् । तर २०१२ परिवर्तनलाई परिचय दिने वर्ष हुने छ । २०१२ सरकारले घोषणा गरेको लगानी वर्ष पनि भएकाले हामी विदेशमा यसको प्रचार गर्ने छौं । अर्को २५ वर्ष नेपालमा बिताउँदा बैंक अर्कै स्वरूपमा पुगिसकेको हुने छ । एउटा उदाहरण पनि दिन चाहन्छु । विराटनगरको आँखा अस्पताललाई समूहले ८ करोड रुपैयाँको हाराहारीमा सहयोग गरेको छ । त्यो समुदायप्रति हाम्रो उत्तरदायित्व हो । यस्ता धेरै काम गर्न बाँकी नै छ ।
No comments:
Post a Comment