काठमाडौ, माघ २ - तत्काल सेयर किनबेचको हिसाब राफसाफ गर्ने कम्पनी केन्द्रीय निक्षेप प्रणालीमा सदस्य हुन पुँजीको प्रावधान बढी भएकाले सूचीकृत हुन सूचना सार्वजनिक भएको एक सातासम्म कुनै कम्पनीले आवेदन दिएका छैनन् । धितोपत्र बोर्डले गत साता निक्षेप सदस्य हुन सूचना सार्वजनिक गरे पनि तोकिएको खुद सम्पत्ति -नेटवर्थ) बढी भएको भन्दै सेयर ब्रोकर गएका छैनन् ।
धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ अनुसार निक्षेप सदस्यको नेटवर्थ कम्तीमा १ करोड रुपैयाँ हुनुपर्ने प्रावधान छ । 'एक करोड नेटवर्थलाई आधार मान्ने हो भने २० प्रतिशत ब्रोकर कम्पनीले पनि सदस्यता पाउँदैनन्,' स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष अञ्जन पौडेलले भने, 'यसलाई कम गर्न आग्रह गरिसकेका छौं ।' पुराना र पब्लिक लिमिटेड ब्रोकर कम्पनीको मात्र नेटवर्थ १ करोड रुपैयाँको हाराहारीमा छ । हाल ३८ सेयर ब्रोकर कम्पनीले कारोबार गरिरहेका छन् । ८ वटा कम्पनी सञ्चालनका लागि अन्तिम अनुमतिको प्रतीक्षामा छन् ।
धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने निक्षेप सदस्यले साधारणतया डिम्याटको (कागजी सेयर प्रमाणपत्रलाई विद्युतीय बनाउने) काम गर्छन् । सेयर ट्रान्सफर र राफसाफको काम पनि यस्ता कम्पनी मार्फत हुने गर्छ । सेयर बजारमा हुने हातले गरिने विभिन्न (म्यानुअल) काम सिडिएस कम्पनीले विद्युतीय माध्यमबाट गर्छन् ।
सेयर ब्रोकरलाई नै निक्षेप सदस्य बनाउनका लागि अन्य मुलुकमा लचकता दिने गरिएको पौडेल बताउँछन् । 'भारतमा नेटवर्थ २ करोड रुपैयाँ मात्र तोकिएको छ,' उनले भने, 'त्यसको तुलनामा हामीकहाँ धेरै ठूलो रकम तोकियो ।' धितोपत्र बोर्डसँग भएको छलफलबाट आवश्यक सुधार हुने आपेक्षा रहेको उनले बताए । भारतमा २ करोड नेटवर्थ सहित सुरक्षाका लागि सेयर ब्रोकरले बैंक ग्यारेन्टी पनि दिनुपर्छ । नियमावलीले भने नेटवर्थलाई सुरक्षाको आधार बनाएको छ ।
'निक्षेप सदस्य भनेपछि जोखिमको कुरा पनि सँगै जोडिएर आउँछ,' धितोपत्र बोर्डका निर्देशक निरज गिरीले भने, 'त्यसैले यसलाई १ करोड रुपैयाँ राखिएको हो ।' बोर्डले धेरै कम्पनी र वित्तीय अवस्था राम्रो भएकालाई निक्षेप सदस्यका रूपमा ल्याउन खोजेको उनले बताए । 'सेयर ब्रोकर एसोसिएसनबाट नेटवर्थका कारण समस्या भयो भन्दै आउनुभएको थियो,' उनले भने, 'बाहिर कस्ता व्यवस्था छन् भनेर बुझ्न लगाएका छौं ।'बजार सानो भएको र पछिल्ला वर्ष कम्पनीहरूको नाफा कम भएकाले उक्त प्रावधानलाई सुधार गर्नुपर्ने सेयर ब्रोकर बताउछन् ।
No comments:
Post a Comment