Wednesday, January 11, 2012

एकअर्को संस्थामा ब्याज आम्दानी हुने खाता खोल्न पाइने

काठमाडौ, पुस २८ - विकास बैंक र फाइनान्स कम्पनीले अर्को वित्तीय संस्थामा ब्याज आम्दानी हुने गरी खाता खोल्ने सुविधा पुनः पाउने भएका छन् । तरलता सहज भएर लगानीको वातावरण बनेपछि केन्द्रीय बैंकले यस्तो तयारी गरेको हो । २०८६ पुस मसान्तसम्मका लागि यस्तो सुविधा दिइएको हो । सुविधा अनुसार ख र ग वर्गका वित्तीय संस्थाले क, ख र ग वर्गका संस्थामा खाता खोलेर पैसा राखी ब्याज आम्दानी गर्न पाउने भएका हुन् ।
राष्ट्र बैंकले भदौबाट सबै वर्गका वित्तीय संस्थालाई यस्तो सुविधा लिनबाट रोक लगाएको थियो । आफैं निक्षेप संकलन गरेर भन्दा अन्यबाट पैसा लिएर लगानी गर्ने क्रम र विकृृति बढेको भन्दै केन्द्रीय बैंकले यसलाई रोकेको थियो । पछिल्लो समय बैंक वित्तीय संस्थामा तरलता बढेपछि अर्को संस्थाबाट आएको रकम लगानी गर्ने क्रम घट्ने अनुमान केन्द्रीय बैंकको छ । कात्तिकसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकमा ७ खर्ब ३५ अर्ब ७१ करोड, विकास बैंकमा १ खर्ब २२ करोड, फाइनान्स कम्पनीमा ८२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप छ । 
ब्याज आम्दानी हुने गरी खाता खोल्न नपाइने व्यवस्था पछि मोफसलका वित्तीय संस्थालाई सबैभन्दा बढी समस्या परेको थियो । समस्या बुझेपछि राष्ट्र बैंकले मोफसलका ख र ग वर्गका वित्तीय संस्थालाई मंसिरबाट ब्याज आम्दानी हुने खातामा पैसा राख्न मिल्ने व्यवस्था गरिएको थियो ।
यसका साथै प्रमुख कार्यकारी अधिकृतको तलब/भत्ता एक तह मुनिको कर्मचारीको भन्दा कम भए ५ प्रतिशत बढाउन सक्ने प्रावधान राष्ट्र बैंकले बनाएको छ । व्यवस्था अनुसार एक तह मुनिको कर्मचारीको कुल तलब भत्ताको ५ प्रतिशत बढीसम्म प्रमुख कार्यकारी अधिकृतले पाउन सक्ने छन् । राष्ट्र बैंकले मार्गनिर्देशन जारी गरेर प्रमुख कार्यकारी अधिकृतको तलबभत्तामा विभिन्न प्रावधान तोकेको छ ।

No comments:

Post a Comment