Friday, January 20, 2012

पहिलो पटक सेयर कारोबार तीन घन्टा ठप्प

काठमाडौ, माघ ६ -  केही समय अघि सफ्टवेयरले राम्ररी काम नगरेर समस्या देखिएको नेप्सेमा हार्डवेयरले पनि धोका दिएको छ । बिहीबार कारोबार समयभर हार्डवेयर बिगि्रएपछि तोकिएको समयमा कारोबार हुन सकेन । प्राविधिक समस्याका कारण दिनभर कारोबार ठप्प भएको यो पहिलो पटक हो । यसअघि १५ मिनेटसम्म कारोबार रोकिएका घटना थिए । 
सधैं कारोबार हुन समय १२ देखि ३ बजेसम्म नेप्सेका प्राविधिकले समस्या सुल्झाउन सकेनन् । निर्धारित समय सकिएपछि प्रणाली चल्ने बनाएर कारोबार समय एक घन्टा थपिएको थियो । विज्ञप्ति जारी गरेर नेप्सेले कारोबार प्रणालीको सर्भरमा रहने निक कार्डमा समस्या देखिएको उल्लेख गरेको छ । 'हार्डवेयरमा समस्या आएको र प्राविधिकले छिट्टै समाधान निकाल्ने जानकारी दिउँसो नेप्सेबाट आएको थियो,' सेयर ब्रोकर एसोसिएसनका अध्यक्ष अञ्जन पौडेलले भने, 'तर ३ बजेको हाराहारीमा मात्र समाधान हुन सक्यो ।'
नेप्सेले ढिलो समाधान भएको सूचना समेत ढिला दिएका कारण एक घन्टा पूरै कारोबार हुन नसकेको ब्रोकर बताउँछन् । 'करिब आधा घन्टा मात्र कारोबार भएको छ,' पौडेलले भने । 
नेप्सेले करिब ४ महिना अघि हार्डवेयरलाई स्तरोन्नति गरेको थियो । स्तरोन्नति पछि ढिलो चल्ने लगायत समस्या हल भएका थिए । तर बिहीबार एक्कासि काम रोकिएपछि निर्धारित समय भर ब्रोकरले काम गर्न पाएनन् । 'यस्तो समस्या फेरि आयो भने के गर्ने स्पष्ट छैन,' पौडेलले भने । 
एक घन्टा तोकिएको कारोबार समयमा ८४ लाख रुपैयाँ बराबरका सेयरको खरिद बिक्री भएको छ । जसमा बैंक अफ काठमाडौंको मात्र २१ लाख रुपैयाँ बराबरको कारोबार छ । उक्त समयमा ३ सय ४७ वटा कारोबार भएका थिए । 
नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ । ० दशमलव ६१ अंकले बढेर परिसूचक ३ सय २० बिन्दुमा पुगेको छ । वाणिज्य बैंक समूहमा आएको सुधारका कारण परिसूचक बढेको हो । वाणिज्य बैंक समूह ० दशमलव ८१ र बिमा समूह ० दशमलव ६४ अंकले बढेका छन् । विकास बैंक, जलविद्युत्, वित्त र अन्य समूहमा भने गिरावट आएको छ । 
केही महिना अघिसम्म सफ्टवेयरमा समस्या आएर दैनिक कारोबारमा असर देखिएको थियो । बेलायती कम्पनी कमडाकले उपलब्ध गराएको सफ्टवेयरले राम्ररी काम नगरेपछि नेप्सेले परिवर्तनको तयारी गरेको छ । उक्त सपmटवेयर निर्माता कम्पनीले ब्रोकरलाई उपलब्ध गराउने भनेको सफ्टवेयर दिन सकेको छैन । २००९ मा नेप्से, कमडाक र ब्रोकर एसोसिएसन बीच भएको सम्झौता अनुसार ९० दिनभित्र ब्रोकरका लागि सफ्टवेयर उपलब्ध गराउनुपर्ने थियो । उक्त सफ्टवेयरका लागि ब्रोकरले ४० हजार डलर भुक्तानी गरिसकेका छन् । कमडाकले सम्झौता अनुसार दिनुपर्ने बिक्री पछिको सेवा दिन छाडेको छ । स्थानीय एजेन्ट नियुक्त गरे पनि कम्पनीले जवाफदेही भएर काम गरेको छैन । पछिल्लो समय सफ्टवेयर निर्माता कम्पनी सम्पर्कविहीन छ । 
नेप्सेले सिंगापुर सरकारको सहयोगमा नयाँ सफ्टवेयर खरिद गर्ने तयारी गरेको छ । यसका लागि ४ देखि ५ करोड रुपैयाँ रकम नेप्सेले उपलब्ध गराउनुपर्ने छ । 
नेप्सेका अनुसार सिंगापुर सरकारले ३४ करोड रुपैयाँ उपलब्ध गराउने जनाएको छ । सिंगापुरबाट सफ्टवेयर ल्याउन नसकिए भारतबाट र त्यहाँबाट पनि नभए कोरियाबाट ल्याउने तयारी नेप्सेको छ ।

No comments:

Post a Comment