Thursday, January 26, 2012

'६ महिनामा पौने सात लाखलाई रोजगारी'

  • १ अर्ब अमेरिकी डलर वैदेशिक लगानी भित्र्याउने महत्त्वाकांक्षी योजना

    काठमाडौ, माघ १३ - सरकारले ६ महिनाभित्र ६ लाख ७५ हजार थप रोजगारी सिर्जना गर्ने 'महत्त्वाकांक्षी' योजना घोषणा गरेको छ । 'आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना' सार्वजनिक गर्दै बुधबार प्रधानमन्त्री बाबुराम भट्टराईले १ अर्ब डलर वैदेशिक लगानी भित्र्याउने घोषणा समेत गरे ।
    बजेट लक्ष्य हासिल गर्न 'थप सुधार सहित' बनाइएको कार्ययोजनामा १७ क्षेत्रबाट पौने ७ लाख रोजगारी सिर्जना हुने दाबी सरकारको हो । १० लाख स्वयंसेवक परिचालन गर्ने योजना समेत सरकारको छ ।
    कार्यान्वयनको समय तोकिएको कार्यक्रममध्ये अधिकांश यही आर्थिक वर्षभित्र सकिने छन् । रोजगारी वृद्धिका लागि विभिन्न कार्यक्रम लागू गरेर सरकारले ६ महिनामा अढाई लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । वित्तीय क्षेत्र सुधार, पुँजी बजार, घरजग्गा कारोबार लगायत योजनाबाट पनि ६ महिनाभित्रै रोजगारी वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ ।
    'राष्ट्रिय गौरवका परियोजना' नाम दिएर द्रुत मार्ग, मेलम्ची खानेपानी आयोजना, सिक्टा सिँचाइ आयोजनादेखि क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा दोहोर्‍याइएको छ । कृषि क्षेत्रको सुधारका लागि भूउपयोग नीति, प्रांगारिक मल, सिँचाइ योजना विस्तार, भण्डार, एक गाउँ एक उत्पादन लगायत योजना राखिएको छ । समय सीमा तोकिएका अधिकांश योजना पुरानै हुन् ।
    'घोषणा गरिएका कार्यक्रममा नयाँ खासै छैनन्,' सरकारका एक सचिवले भने, 'बजेटकै कुरा पुनः दोहोर्‍याइएको छ ।' २०१३ लाई कृषि वर्षका रूपमा घोषणा गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने नयाँ योजना सरकारले बनाएको छ । यसका साथै कणर्ाली अञ्चल र अति अविकसित हिमाली जिल्लामा कृषकलाई स्याउ बिरुवा तयार गर्न १ सय  -प्रतिबिरुवा) का दरले अनुदान दिने कार्यक्रम पनि छ । सरकारले कृषिका लागि छुट्याएका २५ योजनाबाट आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसका साथै कृषिमा रहेका अर्धबेरोजगार मध्ये ५० प्रतिशतले कार्यक्रम लागू भएपछि पूर्ण रोजगारी पाउने घोषणा सरकारको छ । यस अन्तर्गत कृषि कार्यक्रमबाट थप १ लाख ५० हजार जनाले नयाँ रोजगारी पाउने सरकारको दाबी छ । घोषणा गरिएका केही नयाँ योजनामा भने सरकारले कुनै बजेट छुट्याएको छैन । 'बजेट छुट्याएको भए पनि नयाँ कार्यक्रमलाई रकमान्तर गरेर व्यवस्था गरिने छ,' भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले कार्यक्रम पछि पत्रकारलाई भने ।
    सरकारले आगामी ६ महिनाभित्र १ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याइने योजना पनि सरकारले बनाएको छ । यसका लागि अर्थ मन्त्रालय अन्तर्गतको लगानी बोर्डलाई जिम्मा दिइएको छ ।
    निजी क्षेत्रको विकासका लागि सार्वजनिक निजी साझेदारीको निर्माण र सञ्चालन गरिने २० वटा आयोजना सूची सरकारले बनाउने भएको छ । सरकार, रोजगारदाता र मजदुर प्रतिनिधि सम्मिलित त्रिपक्षीय संयन्त्र बनाउने, नो वर्क नो पे, मजदुरको सामाजिक सुरक्षा योजना लगायत पनि कार्यक्रममा राखिएको छ ।
    जीवन बिमामा सबैको पहुँच
    आकस्मिक बिमा कोषलाई पुनर्बिमा कम्पनीमा रूपान्तर गर्ने, ऋणलाई लगानीमैत्री बनाउने, जीवन बिमा सबैको पहुँचमा पुर्‍याउने कार्यक्रम पनि समेटिएको छ । यसका साथै निजी क्षेत्रबाट स्टक एक्सचेन्ज स्थापना गर्ने वातावरण पनि सरकारले बनाउने घोषणा गरेको छ ।
    घरजग्गा ऋणको पुनर्तालिकीकरण
    सरकारले घरजग्गा क्षेत्रमा राहत दिन ऋणको पुनर्तालिकिकरणको व्यवस्था गर्ने भएको छ । जसमा घरजग्गा व्यवसायीले आवासका लागि लिएको ऋणको पुनर्तालिकिकरण गर्न पाउने
    छन् । यो व्यवस्थाले घरजग्गा व्यसायीलाई ऋण लिँदा तोकिएको समयभन्दा पछि ऋण तिर्न सुविधा दिने छ ।
    पुनर्तालिकीकरण मात्र भनिएको कार्यक्रमलाई राष्ट्र बैंकले लागू गर्नुपर्ने निर्देशन सरकारले दिएको छ । यसका लागि चैत मसान्तसम्मको समय तोकिएको छ ।




    क्षेत्र    अपेक्षित नयाँ रोजगारी
    कृषि    -    १ लाख ५० हजार
    वन संरक्षण र विकास    -    १५ हजार
    पर्यटन    -     ५० हजार
    ऊर्जा    -    ५० हजार
    भौतिक पूर्वाधार    -    २५ हजार
    ग्रामीण पूर्वाधार,
    अवास तथा सहरी विकास    -    २५ हजार
    लगानी प्रवर्द्धन    -    २५ हजार
    अन्तर्राष्ट्रिय व्यापार    -    १० हजार
    स्वदेशी उत्पादन प्रवर्द्धन    -    १० हजार
    वित्तीय क्षेत्र सुधार    -    ३ हजार
    घरजग्गा कारोबार    -    १ हजार
    सहस्राब्दी विकास लक्ष्य    -    १५ हजार
    गरिबी निवारण र
    सामाजिक सुरक्षा    -    ५ हजार
    वैदेशिक रोजगारी प्रवर्द्धन    -    ५० हजार विदेशमा
    नयाँ नेपाल निर्माण अभियान    -    १० लाख स्वयंसेवा

     

No comments:

Post a Comment