कान्तिपुर संवाददाता
काठमाडौ, वैशाख २७ - घट्दो सेयर बजारले लगानीकर्तालाई मात्र नभएर सेयर जारी गर्ने तयारीमा रहेका कम्पनीलाई पनि असर गरेको छ । बजारकै बियरिस प्रवृत्तिका कारण गत वर्षको तुलनामा सेयर -प्राथमिक र हकप्रद) निष्कासन गर्ने कम्पनी र सेयर संख्या दुवै घटेको छ ।
धितोपत्र बोर्डको तथ्यांकअनुसार आर्थिक वर्षको १० महिनामा प्राथमिक निष्कासनका ५७ दशमलव १४ प्रतिशतले घटेको छ । यो समयमा ९ कम्पनीले ७६ करोड १० लाख रुपैयाँ बराबरका सेयर निष्कासन गर्न अनुमति लिएका छन् । गत वर्षको सोही अवधिमा २१ कम्पनीले दुई अर्ब १२ करोड रुपैयाँ बराबरका सेयर निष्कासन गर्न अनुमति लिएका थिए ।
हकप्रद सेयर निष्कासन गर्ने कम्पनी बढे पनि संख्या भने घटेको छ । धितोपत्र बोर्डको पछिल्लो तथ्यांकअनुसार २८ कम्पनीले पाँच अर्ब २६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनका लागि अनुमति लिएका छन् । अघिल्लो वर्ष २२ कम्पनीले सात अर्ब १८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति लिएका थिए । हकप्रद जारी गरी चुक्ता पुँजी वृद्धि गर्नुपर्ने अधिकांश कम्पनीले प्रक्रिया पूरा गरिसकेकाले रकम घटेको विश्लेषक बताउँछन् । 'राष्ट्र बैंकको निर्देशनअनुसार अधिकांश कम्पनीले चुक्ता पँुजी वृद्धि गरिसकेकाले यस आर्थिक वर्षमा कम हकप्रद जारी भएको हो,' विश्लेषक रवीन्द्र भट्टराईले भने ।
अर्कोतर्फ नयाँ बैंक तथा वित्तीय संस्था थपिने क्रम रोकिएकाले पनि सेयर जारी हुने क्रममा गिरावट आएको देखिन्छ । घटिरहेको बजारका कारण लगानीकर्ताको निराशा, तरलता अभावलगायतका कारणले निष्कासन भएको सेयर पनि बिक्री हुने क्रम घटेको छ । आर्थिक वर्षमा हकप्रद जारी गर्न अनुमति लिनेमध्ये सानिमा विकास बैंकले सबैभन्दा ठूलो रकमको निष्कासन गरेको थियो । वाणिज्य बैंक बन्ने तयारीमा रहेको सानिमाले एक अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रदका लागि अनुमति लिएको थियो ।
No comments:
Post a Comment