रोशन अधिकारी
काठमाडौ, जेष्ठ ९ - गाभ्ने र गाभिने (मर्जर एन्ड एक्विजिसन) बारे हालै जारी विनियमावलीले दिएको सहुलियत सहित दुई वित्तीय संस्थाले गाभिन अन्तिम स्विकृती पाएका छन् । बिभिन्न छुट र सुविधासहित पोखराको हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्स गाभिने भएका हुन् । 'दुवै संस्था गभिएर 'एच एन्ड बी' डेभलपमेन्ट बैंक बन्ने गरी अन्तिम स्वीकृति दिएका छौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने ।
गाभिएर राष्ट्रियस्तरको बनेपछि संस्थाको मुख्य कार्यालय काठमाडौंमा हुनेछ । 'यसबाहेक काठमाडौंमा ५ र बाहिर १० शाखा खोल्ने सुविधा संस्थाले पाएको छ,' ज्ञवालीले भने, 'मर्जर हुँदा देखिएका प्रशासनिक समस्याको समाधान राष्ट्र बैंकले नै गरिदिनेछ ।'
बैंक तथा वित्तीय संस्थाको संख्या आवश्यकताभन्दा बढी भएको र समस्या देखिन थालेपछि केन्द्रीय बैंकले मर्जरलाई प्रोत्साहन गर्दै आएको छ । केही समयअघि गाभिन सक्ने निर्देशन दिन सक्ने अधिकारसहित मर्जर विनियमावली लागू गरिएको छ । योसँगै विभिन्न बैंक तथा वित्तीय संस्थाले मर्जरको काम अघि बढाएका छन् । यी दुई संस्थाले लामो समयदेखि गाभिनका लागि गृहकार्य गरिरहेका थिए ।
वीरगन्ज फाइनान्सका कम्पनी सचिव सुरेन्द्रबाबु पन्तका अनुसार नयाँ संस्थाको चुक्ता पुँजी ९० करोड रुपैयाँ हुनेछ । दुवै संस्थाले छुट्टाछुट्टै क्षेत्रमा काम गरिरहेकाले कुनै पनि शाखा गाभिने छैनन् । हिमचुली क्षेत्रीय स्तरको विकास बैंक र वीरगन्ज राष्ट्रियस्तरमा काम गरिरहेका संस्था हुन् ।
'हाम्रा पूर्व र हिमचुलीका पश्चिम क्षेत्रमा शाखा भएकाले कार्यक्षेत्र वृद्धिमा सहयोग हुनेछ,' पन्तले भने, 'त्यसैले शाखा गाभ्नु नपर्ने भएको छ ।' दुवै संस्थाले कुनै पनि कर्मचारी कटौती नगर्ने भएका छन् । जसोदा सैंजूले नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्ने तयारी छ । वीरगन्ज फाइनान्सको कर्पोरेट कार्यालय रहेको कमलादीमा एच एन्ड बीको मुख्य कार्यालय रहने छ ।
यसअघि चार वटा मर्जर भइसकेका छन् । चारमध्ये तीन मर्जरमा एकै प्रवर्द्धक रहेका संस्था थिए । एनबी समूह प्रवर्द्धक रहेको नेपाल बंगलादेश बैंक र एनबी फाइनान्स, खेतान समूहले प्रवर्द्धन गरेको लक्ष्मी बैंक र हाइसेफ फाइनान्स गाभिइसकेका छन् । यसपछि एनबी बैंक र नेपाल श्रीलंका मर्चेन्ट बैंक पनि गाभिएका छन् ।
छुट्टाछुट्टै प्रवर्द्धक रहेका नारायणी फाइनान्स र नेसनल फाइनान्स पनि एक वर्षअघि गाभिएका थिए ।
मर्जरलाई प्रोत्साहन गर्दै प्रवर्द्धकको सेयर स्वामित्व, तरलता, खर्च, शाखा विस्तारलगायत क्षेत्रका राष्ट्र बैंकले छुट दिइरहेको छ । क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिँदा विभिन्न सुविधा दिने नीति केन्द्रीय बैंकको हो । यी वर्गका जुनसुकै संस्था एक आपसमा गाभिन सक्ने छन् ।
No comments:
Post a Comment