काठमाडौं, भाद्र १७ -
मुद्रा बजारमा ट्रेजरी बिल्सबाट आउने प्रतिफल हालसम्मकै न्यून विन्दुमा
पुगेको छ । मुद्रा बजार भन्नाले १ वर्षभन्दा कम समयावधि भएका वित्तीय उपकरण
कारोबार हुने बजार हो । यस अन्तर्गत ट्रेजरी बिल्सको ब्याजदर २१ वर्षयताकै
न्यून विन्दुमा पुगेको हो ।
योसँगै छोटो अवधिका लागि बैंक वित्तीय संस्थाबीच हुने लगानी अन्तरबैंक
कारोबारको प्रतिफल पनि ७ वर्षयताकै न्यून स्थानमा पुगेको छ । राष्ट्र
बैंकका अनुसार गत आर्थिक वर्षमा ९१ दिनको ट्रेजरी बिल्सको औसत बट्टादर १
दशमलव ३१ थियो । जसको अर्थ १ सय रुपैयाँ ९१ दिनका लागि ट्रेजरी बिल्समा
लगानी गर्दा बैंकले १ रुपैयाँ ३१ पैसा प्रतिफल पाए । सँगै अन्तरबैंक
कारोबारबाट औसत आय १ दशमलव २८ प्रतिशत भयो ।
योभन्दा अघिल्लो वर्ष ट्रेजरी बिलको औसत बट्टादर ७ दशमलव ४१ प्रतिशत र
अन्तरबैंक कारोबारको ब्याजदर ८ दशमलव ४४ प्रतिशत थियो । मुद्रा बजारबाट
आउने प्रतिफल लामो समय न्यून रहँदा बैंक वित्तीय संस्थाले लिने ब्याजदर पनि
घट्छ । जसले पुँजी पलायनको खतरा बढ्न सक्छ । 'बजारमा रकम बढी हुनु र
त्यसबाट आउने प्रतिफल कम हुनु भनेको पुँजी पलयान हुने खतरा बढ्नु पनि हो,'
एक मौदि्रक विशेषज्ञले भने, 'अल्पकालमा यो ब्याज घट्दा सरकारलाई फाइदा भए
पनि दीर्घकालीन रूपमा नकारात्मक असर पर्छ ।'
ट्रेजरी बिल र अन्तर बैंक कारोबारको ब्याजदर माग र आपूर्तिले निर्धारण
गर्ने हो । यो घट्नुको सामान्य अर्थ बैंकहरूसँग पर्याप्त रकम हुनु बुझिन्छ ।
आपूर्ति बढ्नुको प्रमुख कारण रेमिट्यान्स मार्फत भित्रिरहेको रकम हो ।
विदेशबाट भित्रिने रकम यो वर्ष अघिल्लोको तुलनामा ४२ प्रतिशतले बढेर ३ खर्ब
५९ अर्ब रुपैयाँ पुगेको छ । 'रेमिट्यान्स बढेपछि विदेशी मुद्रा सञ्चिति
बढेको छ जसले बजारमा मुद्रा प्रवाह बढायो,' उनले भने ।
बैंकसँग भएको लगानी गर्ने रकम सामान्यता तीन क्षेत्रमा जान्छ । आयात बढ्दा
र उद्योग खुल्दा लगानी आवश्यक हुन्छ र ब्याजदर बढ्छ । यी दुई क्षेत्रमा
लगानी जान नसके त्यसको असर ऋणपत्रमा पर्छ । सरकारले जारी गर्ने ऋणपत्रमा
अधिकांश बैंकले लगानी गर्न खोज्छन् । धेरैले लगानी गर्न खोज्दा सरकारले
सस्तो ब्याजमा रकम पाउँछ ।
अल्पकालीन ब्याजदर घट्नुलाई अर्थतन्त्रसँग पनि जोडेर हेर्न सकिन्छ ।
सामान्यतया अर्थतन्त्र वृद्धितर्फ लागेको बेला अल्पकालीन ब्याजदर बढ्ने र
चहलपहल नभएको समयमा घट्ने गर्छ ।
अर्कोतर्फ ट्रेजरी बिल र अन्तरबैंक कारोबारको ब्याजदर घट्दा बैंकको
लगानीबाट आउने प्रतिफलमा नकारात्मक असर पर्छ । सामान्यतया मूल्यवृद्धिभन्दा
बढी प्रतिफल आएमात्र आय भएको मानिन्छ । यस हिसाबबाट हेर्दा गत वर्ष बैंकले
अन्तरबैंक र ट्रेजरी बिल्समा गरेको लगानीबाट न्यून आम्दानी भयो ।
अन्तरबैंक कारोबार मुनाफाका लागि गरिने भए पनि ट्रेजरी बिल्समा भने
राष्ट्र बैंकको प्रावधान अनुसार निशिचत लगानी गर्नुपर्ने हुन्छ । यस्तो
लगानीलाई नाफा/घाटाका रूपमा हेर्न नहुने केन्द्रीय बैंकले बताउँदै आएको छ ।
केही अनिवार्य र थप सुरक्षाका लागि ट्रेजरी बिल्समा बैंकले लगानी गर्छन् ।
अन्तरबैंक कारोबार भने आवश्यक परेको एक संस्थालाई ब्याज आम्दानी हुने गरी
अर्को संस्थाले दिन्छ ।
गत वर्षभर बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ बराबरको अन्तरबैंक कारोबार गरेका
छन् । जुन अघिल्लो वर्ष ३ खर्ब ९७ अर्ब रुपैयाँ बराबर थियो । प्रतिफल कम
भएपछि यस्तो कारोबार झन्डै १ खर्ब रुपैयाँले कम भएको हो ।
सर्वसाधारणमा असर मुद्रा बजारमा ब्याज घट्नुले ऋणको माग कम भएको बुझिन्छ ।
उद्योग वा सर्वसाधारणले बैंकबाट ऋण लिन कम गरेपछि त्यसको असर मुद्रा
बजारसम्म पुग्छ । यसका दुई कारण हुन्छन् । बैंकले लिने ब्याजदर महँगो भएमा
वा लगानी गर्ने अवसर नहुँदा रकमको माग घट्छ ।
बढी बयाज लिएको अवस्था भए बैंकले बाध्य भएर घटाउनुपर्छ जसले सर्वसाधारण र
उद्योगधन्दालाई सस्तोमा ऋण उपलब्ध हुन्छ । यसले उद्योगको उत्पादन लागत
घटाउँछ र सर्वसाधारणको खर्च गर्ने व्ययभार बढाउँछ । सँगै बजारमा बढी रकम
प्रवाह भएर मूल्यवृद्धि पनि हुन सक्छ ।
समाधान ब्याजदर कोरिडर बजारको ब्याजदरलाई आवश्यकताभन्दा बढी र कम हुन नदिन
ब्याजदर कोरिडर लागू गरिन्छ । यसमा न्यूनतम र अधिकतम ब्याजदर तोकिएको छ ।
राष्ट्र बैंकले एक वर्षभन्दा बढी समयदेखि यसलाई लागू गर्ने बताए पनि हुन
सकेको छैन । जसको असर मुद्रा बजारका साथै वित्तीय बजारमा पनि परेको छ ।
कोरिडर लागू भएपछि मुलुकले आवश्यकता अनुसार निश्चित परिधिभित्र ब्याजदरलाई
राख्न सक्छ । जसले घटबढ हुँदा निम्तिने समस्या कम गर्न सहयोग गर्छ ।
No comments:
Post a Comment