Thursday, September 13, 2012

सरकार मौन, बजार अन्योलमा

काठमाडौं, भाद्र २८ - आफ्नै एक निकायबाट कमोडिटिज बजारमा भएका अनियमितताको पुष्टि हुँदा पनि सरकारले कारबाही अघि बढाएको छैन । सञ्चालनमा आएको ६ वर्ष हुँदासम्म नियमनको चासो नदिएको सरकारले बजारको वास्तविकता पत्ता लगाउन रुचि नदिएको हो । सञ्चालनमा रहेका एक्सचेन्ज आफैं अध्ययन गर्न र अनैतिक काम गर्नेलाई कारबाही गर्न आह्वान गर्दासमेत सरकार चुप लागेर बसेको छ ।
यस्तै अवस्था रहे अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने भएकाले नियमनको काम छिट्टै सुरु गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष रमेशचन्द्र पौडेल बताउँछन् । 'यो संसारका विभिन्न ठाउँमा सञ्चालन भइरहेको व्यावसायिक कारोबार हो,' उनले भने, 'अन्यत्र विधिवत् रूपले चल्छन्, यहाँ त्यस्तो नभएर भयावह स्थिति देखियो ।' सरकारले कुनै कदम नचली यही स्थितिमा बजार चल्दा ठूलो घोटाला हुने सम्भावना बढेको र अर्थतन्त्रमा क्षति आउने उनी बताउँछन् । 'त्यस्तो क्षति आइहाल्यो भने कसले बेहोर्ने भन्ने स्पष्ट छैन,' उनले भने, 'त्यसैले नियामक चाहिएको हो ।' बजारमा धेरै सट्टेबाजी हुने भएकाले बलियो नियामक आवश्यक रहेको उनी बताउँछन् । 'धितोपत्र बोर्डलाई अतिरिक्त अधिकार दिएर वा अर्को नियामक बनाएर छिट्टै काम थाल्न जरुरी भइसकेको छ' उनले भने, 'यसले बुझाएको कर, भएको लगानीबारे छानबिन हुनुपर्छ ।'
मञ्चका महासचिव ज्योति बानियाँ बजारलाई केही समय बन्द गरेर नियामक तयार भएपछि मात्र कारोबार गर्नुपर्ने बताउँछन् । 'नियामक भएपछि मात्र कारोबार हुनुपर्ने हो,' उनले भने । यसरी कारोबार रोक्न भने तत्काल सम्भव देखिँदैन । कमोडिटिज बजारमा कारोबार हुने कन्ट्रयाक्टको समय लामो हुने र त्यो नसकी बन्द गर्दा लगानीकर्ता जोखिममा पर्ने सम्भावना बढ्छ ।
कमोडिटिज बजार जोखिमपूर्ण र प्राविधिक भएकाले नियमनको तयारीसँगै थप अध्ययन हुनु आवश्यक रहेको धितोपत्र बोर्डका पूर्वअध्यक्ष चिरञ्जीवी नेपाल बताउँछन् । 'बजार के हो भन्ने नबुझी नियमन गर्न सकिँदैन,' उनले भने, ' र त्यसैले यसबारे अध्ययन गर्दै नियमनको काम अघि बढाउनुपर्छ ।'
बजारमा रहेको कारोबारको मार्जिन, राफसाफ कमिसन, सफ्टवेयरको गुणस्तर र ब्रोकर संख्याका साथै कमिसनबारे अध्ययन गरेपछि सबै विषय प्रस्ट हुने उनी बताउँछन् । 'प्रविधिले ज्यादै छिटो असर गर्ने बजार हो यो,' उनले भने, 'त्यसैले कमोडिटिज बजारलाई सरकारले आफ्नो दायरामा ल्याएर थप छानबिन गर्न जरुरी छ ।' एक्सचेन्ज आफैंले नियमनका लागि गुहार्दा पनि सरकार उदासीन भएको आरोप उनले लगाए । 'उनीहरू आफैं नियमन गर भनिरहेको अवस्थामा पनि सरकार उदासीन हुनु हँुदैन,' उनले भने ।
फट्याइँ गर्नेलाई कारबाही होस्, बजार बच्नुपर्‍यो एक्सचेन्ज सञ्चालनमा रहेका एक्सचेन्जले सरकारलाई छानबिन गरेर दोषीलाई कारबाही गर्ने बाटो खुला रहेको बताएका छन् । कमोडिटिज बजार नियमन भए अर्थतन्त्रमा फाइदा पुग्ने दाबी गर्दै एक्सचेन्जले बन्द हुने अवस्था आउन नदिन आग्रह गरे । 'यदि कसैले गल्ती गरेको छ भने त्यसलाई सजाय दिनुपर्छ तर बजारलाई नियमन गरेर विकास गर्नु आवश्यक छ,' पछिल्लोपटक सञ्चालनमा आएको एभरेस्ट कमोडिटिज एक्सचेन्जका विजय सत्यालले भने, 'यसले अर्थतन्त्रलाई फाइदा पुर्‍याउँछ ।' नियमन भएर विश्वासको वातावरण बनेपछि कमोडिटिज बजारमा तरलता बढ्ने र त्यसले अर्थतन्त्रमा फाइदा पुग्ने उनी बताउँछन् । 'यसका साथै एक्सचेन्जलाई सरकारले निश्चित कृषि उत्पादनको कारोबार गर्न अनिवार्य गर्न सक्छ,' उनले भने, 'यसले कृषि बजार मात्र नभएर अर्थतन्त्रलाई फाइदा पुग्छ ।' बजारलाई आवश्यक भण्डार ऐनको व्यवस्था गरेर कृषि उत्पादनको आयात तुरुन्तै घटाउन सकिने उनी बताउँछन् । यसका साथै धितोपत्र बोर्डले माग गरे कारोबारको दैनिक विवरण उपलब्ध गराउने एक्सचेन्जले बताएका छन् । यस्तो विवरणबाट बोर्डले बजारमा दैनिक हुने कारोबार र लगानीबारे थाहा पाउन सक्छ । साथै केही सयमभित्रै बोर्डलाई कारोबारको प्रत्यक्ष जानकारी हुने गरी इन्टरनेटबाट बाटो पनि खोल्न सकिने एक्सचेन्ज सञ्चालक बताउँछन् ।
के हो कमोडिटिज कारोबार, फाइदा के छ ?
कमोडिटिज फ्युचर्स बजारले व्यावसायिक उत्पादक वा उपभोक्तालाई कुनै वस्तुको भविष्यमा मूल्यबाट हुने जोखिम कम गर्न सहयोग गर्छ । यसका लागि कारोबार हुने वस्तुको निश्चित मापदण्ड तोकिएको हुन्छ । उत्पादकले कुनै वस्तु उत्पादन हुनुअगावै मूल्य घट्ने आशंका भएमा यस्तो बजारमा बिक्री गर्न सक्छ । जसलाई भविष्यमा मूल्य बढ्न सक्ने अनुमान गर्ने उपभोक्ताले खरिद गर्छन् । यस्तो कारोबारले उत्पादनलाई मूल्य घट्ने र उपभोक्तालाई बढ्ने जोखिमबाट जोगाउँछ ।
सँगै यस्तो कारोबारले बजारमा प्रशस्त तरलता पनि उपलब्ध गराउँछ । विश्वभरका अधिकांश एक्सचेन्जमा कारोबार गर्ने धेरै लगानीकर्ता सट्टेबाजी गर्छन् । यसरी हुने सट्टेबाजीबाटै बजारमा धेरै तरलता आउने हो । यस्ता सट्टेबाजले कुनै पनि वस्तु हस्तान्तरण हुने समयअगावै आफ्नो नाफा हेरेर खरिद बिक्री गर्ने गर्छन् । त्यसैले यस्तो कारोबार ज्यादै जोखिमपूर्ण मानिन्छ ।
मुलुकमा सञ्चालित कुनै पनि एक्सचेन्जले कमोडिटिज बजारको मुख्य उद्देश्यअनुसार कृषक र उपभोक्ताबीच सम्बन्ध स्थापित गर्न सकेका छैनन् । सट्टेबाजीको स्थान मात्र उपलब्ध गराइरहेको यी एक्सचेन्जबाट हुने कारोबारमा सरकारले ध्यान दिन नसकेर समस्या आएको हो । बढी जोखिम रहने सट्टेबाजी गर्न अन्य मुलुकमा आय स्रोत खुलाउनुपर्ने र मार्जिन कम राखिने भए पनि त्यसको विपरीत काम नेपालमा भइरहेको छ ।
जसले गुमाउने लगानीकर्ता बढी छन् । कृषि उपज उत्पादकले सही मूल्य नपाउने र ग्राहकले बढी चुकाउनुपर्ने अवस्था रहेको हाम्रो मुलुकमा यो बजारलाई नियमन गरेर चलाउन सके फाइदा पुग्ने देखिन्छ । तर यसका लागि आवश्यक पूर्वाधार र योजना सरकारसँग छैन । यो बजारले अर्थतन्त्रलाई फाइदा मात्र पुर्‍याउने भने होइन । पछिल्लो पटक युरोपमा देखिएको आर्थिक संकटको एक कारका रूपमा डेरिभेटिभ र कमोडिटिज बजारलाई लिइन्छ । आवश्यक नियमन हुन सके यो बजारबाट अर्थतन्त्रमा ठूलो फाइदा पुग्न सक्छ ।
'जन्ती जाने बेला खोजेनौ, मलामीमा बोलायौँ’
कमोडिटिज बजारमा भएका अनियमितता बारे समाचार प्रकाशन हुन थालेपछि कारोबारमा सर्वसाधारणसँग नजिक रहने ब्रोकरले आक्रोश पोखेका छन् । दर्ता भएका अधिकांश एक्सचेन्जका प्रतिनिधिसँग ब्रोकरले आइतबार बजारबारे स्पष्ट धारणा ल्याउन माग गरेका छन् । 'फाइदाहुन्जेल कसैले ब्रोकरलाई बोलाएनन्,' कार्यक्रममा सहभागी बानेश्वरका एक ब्रोकरले भने, 'जन्ती जाने बेला नखोजी मलामीमा बोलायौ भनेर सबैले आक्रोश पोखे ।' आवश्यक पर्दा एकजुट नभएको र बजार बन्द हुने अवस्था ल्याएको आरोप ब्रोकरले लगाएका थिए । 'बजारमा फट्याइँ भए छानबिन हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ भन्ने माग ब्रोकरले राखेका छन्,' उक्त भेलामा सामेल एक ब्रोकर कम्पनीका प्रतिनिधिले भने । भेलामा एक्सचेन्जले भएका गल्ती सुधारेर सबै एक हुँदै अघि बढ्ने बताएका थिए ।

No comments:

Post a Comment