काठमाडौ, भाद्र २० -
दैनिक करिब ५ करोडको कारोबार हुने अनुमान गरिएको कमोडिटिज बजारबारे ६
वर्षसम्म सरकारले पूर्ण जानकारी लिन सकेको छैन । स्वदेशी मात्र नभई विदेशी
मुद्राको समेत कारोबार हुने यस बजारमा राष्ट्र बैंक र धितोपत्र बोर्डसँग
आधिकारिक तथ्यांक छैन । तर यी एक्सचेन्जले राष्ट्र बैंकको अनुमतिबिना
कारोबार गर्न नपाइने सुन, विदेशी मुद्राको कारोबार गर्छन् । यति मात्र होइन
आयल निगमलाई एकाधिकार प्राप्त पेट्रोलियमको किनबेच पनि कमोडिटिज
एक्सचेन्जमार्फत हुने गरेको छ ।
नियामक निकाय र कानुनबिना चलेका यस्ता एक्सचेन्जको अनुगमन गर्नुपर्ने
भन्दै सरकारले तोक्न लागेको निकाय बोर्डले अध्ययनको प्रयास गरे पनि कतिपय
तथ्यांक पाउन नसकेको त्यहाँका एक उच्च अधिकारी बताउँछन् । 'कमोडिटिजबारे
अध्ययन गर्दा सबैले सजिलै तथ्यांक उपलब्ध गराएनन्,' धितोपत्र बोर्डका एक
अधिकारीले भने, 'उनीहरूले प्रयोग गर्ने मूल्यबारे पनि स्रोत फरकफरक रहेको
बताए ।'
एकै वस्तुको फरक मूल्य एक्सचेन्जले कारोबार हुने वस्तु (कन्ट्राक्ट) को
मूल्य र मार्जिन रकम फरकफरक राखेका छन् । वस्तु र कारोबार सकिने समय करिब
एउटै भए पनि लगानीकर्ताले बुझाउनुपर्ने रकम र वस्तुको आधारमूल्य फरक
राखिएको छ । यसले वस्तुको मूल्यमा आउने उतारचढाव र जोखिमबारे लगानीकर्तालाई
अनुमान गर्न गाह्रो पर्छ ।
सञ्चालनमा रहेका सबै एक्सचेन्जले कारोबार हुने वस्तुको मूल्य कुन बजारबाट
लिन्छन् भनेर पनि खुलाएका छैनन् । त्यसैले एक्सचेन्जपिच्छे मूल्य फरक पर्न
गएको हो । सर्वसाधारण लगानीकर्ताले थाहा पाउने गरी मूल्यको स्रोत नखुलाएका
एक्सचेन्जमध्ये केहीले आफैं र केहीले अन्तर्राष्ट्रिय बजारबाट तथ्यांक लिने
गरेको बताउँछन्् ।
'अन्तर्राष्ट्रिय मूल्य, खरिद बिक्रीको चापलगायत हेरेर बजार निर्माताले
वस्तुको मूल्य तोक्ने गर्छन्,' नेपाल डेरिभेटिभ एक्सचेन्जका अध्यक्ष सन्तोष
प्रधानले भने । मर्कन्टाइल एक्सचेन्जका प्रबन्ध निर्देशक दीपेन्द्र खतिवडा
भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार 'ग्लोबेक्स टाइम' र 'डाइनामिक डाटा
एक्सचेन्ज' मार्फत आउने तथ्यांक प्रयोग हुने बताउँछन् ।
विभिन्न मुलुकका एक्सचेन्जमा कारोबार हुने वस्तुको मूल्य फरक हुन्छ । तर
यस्तो फरक कारोबार हुने मुलुकको मुद्रा र भौगोलिक अवस्थाले निर्धारण गर्छ ।
तर नेपालमा सञ्चालित सबै एक्सचेन्ज काठमाडौं भित्रै रहे पनि फरक मूल्य
राखेका छन् ।
कारोबारका लागि बुझाउनुपर्ने रकम र वस्तुको मूल्य फरक भए पनि कुनै
एक्सचेन्जले वास्तविक वस्तुको हस्तान्तरण गरेका छैनन् । जसले
एक्सचेन्जमार्फत हुने कारोबारलाई सट्टेबाजीमा मात्र सीमित बनाइएको छ ।
वस्तु हस्तान्तरणका लागि आवश्यक भण्डारको व्यवस्था नभएकाले समस्या भएको
एक्सचेन्ज बताउँछन् । तर कारोबार भइरहेका वस्तुबाट मुलुकलाई के फाइदा
भइरहेको छ भन्ने उत्तर कोहीसँग छैन ।
पुँजी र दायित्वबीच तालमेल छैन प्रधानका अनुसार दैनिक औसत ५ देखि ६ करोड
रकमको कमोडिटिज बजारमा कारोबार हुन्छ, जुन नेपाल स्टक एक्सचेन्ज (नेप्से)
मा हुने दैनिक कारोबारको बराबरी हो । नेप्सेको कारोबारको धितोपत्र बोर्डलाई
पूरा जानकारी हुन्छ । यसबाहेक कम्पनीको प्रकृति हेरी राष्ट्र बैंक र बिमा
समितिले पनि तथ्यांक लिइरहेका हुन्छन् ।
दैनिक ५ करोडको कारोबार हुने अनुमानका आधारमा वर्षभरि यी एक्सचेन्जले १५
अर्ब रुपैयाँको हाराहारीमा कारोबार गर्छन् । यति ठूलो रकमको कारोबार हुने
गरे पनि सरकारले भने बजारलाई पारदर्शी बनाउन र नियमन गर्न यतिका वर्ष कुनै
कदम चालेको छैन । अर्बौंको कारोबार गर्ने एक्सचेन्जमा भने १५ करोड
रुपैयाँको हाराहारी मात्र लगानी भएको छ । जसले कारोबार रकमको आधारमा
कम्पनीले लिन सक्ने दायित्व ज्यादै कम भएको देखाउँछ ।
लगानीको सीमा छैन कमोडिटिज बजारमा लगानी गर्दा कुनै सीमा तोकिएको छैन ।
यसको अर्थ कुनै एक लगानीकर्ताले दिनमा जति पनि रकम यो बजारमा लगाउन सक्छ ।
अन्तर्राष्ट्रिय बजारमा जोखिम हेरेर लगानीकर्तालाई कारोबारमा सीमा लगाइएको
हुन्छ । साथै सबैका लागि यो बजार खुला गरिएको पनि
हुँदैन । 'कमोडिटिज बजारमा लगानी जोखिमपूर्ण भएकाले निश्चित आय भएका भन्दा
बढीलाई मात्र लगानी गर्न दिने प्रावधान हुन्छ,' बजार विश्लेषक रविन्द्र
भट्टराई भन्छन् । पहिलो चरणमा खुलेका एक्सचेन्जले केही समय ग्राहकको बैंकमा
रहेको मौज्दातअनुसार मात्र कारोबार गर्न दिए पनि पछि हटाएका छन् ।
अस्वस्थ प्रतिस्पर्धा कमोडिटिज एक्सचेन्जबाट 'लाभ' देखेपछि छोटो अवधिमै
यससँग जोडिने व्यक्ति र कम्पनीको संख्या बढेको छ । मुलुकमा ६ कमोडिटिज
एक्सचेन्ज, १५ क्लियरिङ एजेन्ट र २ सयको हाराहारीमा ब्रोकर कम्पनी छन् ।
सीमित बजार भएकाले कम्पनीबीचको प्रतिस्पर्धाका कारण ग्राहक मर्कामा पर्ने
क्रम बढेको छ ।
'सरकारी निकायले सबैको छानबिन गरेर वास्तविकता बाहिर ल्याउनुपर्यो,'
खतिवडाले भने, 'बजारमा नराम्रा कुरा हटाएर दिगो बजारका रूपमा विकास गर्न
आवश्यक भइसक्यो ।' एक्सचेन्जदेखि ब्रोकरको तहसम्म बढेको प्रतिस्पर्धाको
मारमा लगानीकर्ता पर्न थालेका छन् ।
'बजारमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छ,' प्रधानले भने, 'बजारमा रहेका
सकारात्मक कुरा अघि बढाउन र नकारात्मक कुरा हटाउन आवश्यक भएको छ ।'
कम्पनीको संख्या बढ्ने तर बजार सीमित भएपछि ग्राहकको तथ्यांक किनबेच पनि
हुन थालेको छ । यसका साथै सबैभन्दा तल बसेर कारोबार गर्ने ब्रोकरले पनि
ग्राहकलाई आकषिर्त गर्न विभिन्न उपहारसहित आम्दानीको ग्यारेन्टी पनि गर्न
थालेका छन् ।
सफ्टवेयरमा एकरूपता र गुणस्तरीयता छैन सञ्चालनमा रहेका एक्सचेन्जले फरकफरक
सफ्टवेयरमार्फत लगानीकर्तासँग कारोबार गरिरहेका छन् । यी सफ्टवेयरको
गुणस्तर र त्यसमा हुन सक्ने फेरबदलबारे कुनै पनि निकायलाई जानकारी छैन ।
पछिल्लो समय लगानीकर्ताबाट सफ्टवेयरमै चलखेल भएर ठगिएको भन्ने गुनासो आउने
क्रम बढेको छ । 'अन्तर्राष्ट्रियस्तरअनुसार एक्सचेन्जको मूल्यमा एकरूपता,
सफ्टवेयर प्रयोग र संस्थागत सुशासन ल्याउन जरुरी छ,' प्रधानले भने ।
No comments:
Post a Comment