Thursday, September 6, 2012

लगानीकर्ताले गुमाउँदा कसले कमाउँछ ?

काठमाडौ, भाद्र २१ - कमोडिटिज बजारमा लगानीकर्ताले गुमाउँदा कसले कमाउँछ भन्ने ठोस जानकारी कसैसँग छैन । बजार अध्ययन गरेको धितोपत्र बोर्ड लगानीकर्ताले गुमाउँदा एक्सचेन्जले कमाउँछ भन्छ भने एक्सचेन्ज क्लियरिङ मेम्बरतर्फ औंला देखाउँछ । वास्तविक लगानीकर्ता भने आफूले गुमाउने रकम कता जान्छ भन्ने पत्तै नपाई लगानी गरिरहेका छन् ।
'कमोडिटिजमा एक वर्ष लगानी गर्दा मैले पनि केही बुझिनँ,' एक इन्भेस्टमेन्ट कम्पनीका प्रवर्द्धकले भने, 'लगानीकर्ताले केही बुझेका छैनन् न ब्रोकरले नै ।' सुरुका कारोबारमा केही कमाएपछि गुमाएका उनले भने, 'लगानीकर्ताले पैसा गुमाउँदा कोही त धनी भएकै हुनुपर्छ तर त्यो को हो थाहा भएन ।'
धितोपत्र बोर्डको योजना तथा विकास शाखाका प्रमुख नवराज अधिकारी लगानीकर्ताले गुमाउँदा एक्सचेन्जले कमाउने बताउँछन् । 'यस्तो कारोबारमा पनि लगानीकर्ताले गुमाउँदा एक्सचेन्जले कमाउँछ,' उनले भने । अर्थतन्त्रमा योगदान, वस्तुको मूल्य निर्धारण साथै उत्पादक र उपभोक्ताबीचको फरक मेटाउने उद्देश्य कमोडिटिज एक्सचेन्जको भए पनि त्योअनुसार मुलुकमा कारोबार भएको छैन । यसको अर्थ बजारमा 'दाउ थाप्ने' दुई पक्षबीच कारोबार मात्र भइरहेको छ ।
मर्कन्टाइल एक्सचेन्जका प्रबन्ध निर्देशक दीपेन्द्र खतिवडा भने कारोबारअनुसार लगानीकर्ताबीच वा क्लियरिङ मेम्बरसँग रकम पुग्ने बताउँछन् । 'खरिद र बिक्रीको अर्डरअनुसार ग्राहकबीच राफसाफ हुन नसके त्यो क्लियरिङ मेम्बरसम्म पुग्छ,' उनले भने । नियामक नभएकाले गुमाउने व्यक्ति आफू असुरक्षित भएको महसुस हुने उनी बताउँछन् । 'त्यसैले हामीले स्थापना भएदेखि नै नियमन गर्न सरकारलाई अनुरोध गरेका हौं,' उनले भने, 'अझै भएको छैन ।'
ठूलो आर्थिक कारोबार हुने गरे पनि राष्ट्र बैंकले कमोडिटिजसम्बन्धी कुनै अध्ययन गरेको छैन । कमोडिटिज एक्सचेन्जसँग सम्बन्ध रहेका बैंकको तथ्यांक भने हेरिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । 'कमोडिटिज एक्सचेन्जसँग कारोबार हुने बैंकको माध्यमबाट पुँजी पलायन भएको छैन,' उनले भने, 'अन्य कुनै माध्यम प्रयोग भएको भए थाहा छैन ।' हालसम्म कमोडिटिज बजारबाट वित्तीय क्षेत्रमा कुनै समस्या नदेखिएको र देखिने बित्तिकै आवश्यक कदम चाल्ने उनले बताए । 'यो क्षेत्रमा चाहिने नियमनबारे उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिमा जानकारी दिएका छौं,' उनले भने, 'त्यहीअनुसार धितोपत्र बोर्डले पनि काम गरिरहेको छ ।' अर्थमन्त्रीको अध्यक्षतामा रहने उक्त समितिले देशभित्रको आर्थिक कारोबारमा प्रश्न उठे तत्काल समाधान गर्नुपर्ने हो । तर कमोडिटिजबारे एक सरकारी निकाय धितोपत्र बोर्डले नै प्रश्न उठाइरहे पनि बैठक बस्न सकेको छैन । समितिका एक सदस्यका अनुसार कमोडिटिज बजारबारे मिश्रति टिप्पणी आउने गरेको छ । 'बजारलाई केही समय बन्द गर्ने वा नियमन गर्ने दुवै विषयमा सुझाव आइरहेको छ,' उनले भने ।
कसरी हुन्छ कारोबार ?
बजारमा लगानीकर्ता र बजार निर्माता -क्लियरिङ मेम्बर) बीच रकम लेनदेन हुन्छ । यसको अर्थ लगानीकर्ताले कमाउँदा बजार निर्माताले गुमाउँछ । यदि एक लगानीकर्ताले खरिद र अर्कोले बिक्री गर्ने तयारी गरेको भए त्यो रकम लगानीकर्ताकै तहमा पनि राफसाफ हुन सक्छ । तर यस्तो सम्भावना कम रहन्छ ।
छुट्टै व्यवस्थापन, लगानी र सुशासनमा चल्नुपर्ने क्लियरिङ एजेन्ट र एक्सचेन्जको सम्बन्ध पनि स्पष्ट भइसकेको छैन । कतिपय एजेन्ट कम्पनीमा एक्सचेन्ज आफैंले लगानी गरेको आशंका छ । 'बजार सुरुवाती अवस्थामै भएकाले कतिपय विषयमा हामीलाई पनि जानकारी थिएन,' एक कमोडिटिज एक्सचेन्जका सञ्चालकले भने, 'देखिएका गल्ती सुधार गर्दै लगेका छौं ।'
कमोडिटिज एक्सचेन्ज र क्लियरिङ एजेन्टबीच सम्बन्ध रहँदा लगानीकर्ताले सही तथ्यांक नपाउने र गुमाउने सम्भावना बढी रहन्छ । एक्सचेन्जसँग सम्बन्ध भएका यी एजेन्टले प्रयोग गर्ने तथ्यांक र विधिबारे स्पष्ट नीति नभएकाले गुमाउनेमा लगानीकर्ता बढी छन् ।
धितोपत्र बोर्डले गरेको अध्ययनअनुसार पछिल्लो ४ वर्षमा एक्सचेन्जले सरकारलाई २३ करोड ९८ लाख रुपैयाँ राजस्व बुझाएका छन् । बुझाइएको रकममा ठूलो योगदान लगानीकर्ताको छ । अध्ययनले ४ वर्षको क्रममा लगानीकर्ताले १ अर्ब २७ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको उल्लेख छ । सोही अवधिमा एक्सचेन्जमा भएको कारोबार भने ५० अर्बको हाराहारीमा भएको प्रतिवेदनमा छ ।
ब्रोकरको प्रतिस्पर्धा र कमिसन बढ्यो लगानीकर्तालाई कमोडिटिज बजारमा 'खेलाउने' तीन पक्ष हुन्छन् । जसमा एक्सचेन्ज, बजार निर्माता र ब्रोकर सामेल छन् । हरेक कारोबार गर्दा लगानीकर्ताले कमिसन बुझाउनुपर्छ । यस्तो रकम यी तीन पक्षले बाँडेर लैजान्छन् । सञ्चालनमा रहेका एक्सचेन्जले ८० प्रतिशतभन्दा बढीसम्म ब्रोकरलाई कमिसन दिने गरेका छन् । 'ब्रोकरलाई ८० र बाँकी दुईलाई १०/१० प्रतिशत कमिसन हुन्छ,' नेपाल डेरिभेटिभ एक्सचेन्जका अध्यक्ष सन्तोष प्रधानले भने, 'कारोबार आकारअनुसार ब्रोकरले सोभन्दा बढी पनि पाउन सक्छ ।' कम्पनीको संख्या बढेपछि सबैभन्दा ठूलो प्रतिस्पर्धा ब्रोकर तान्न भएको छ ।
एक्सचेन्ज र बजार निर्माताले हरेक कारोबारबाट कमिसन पाए पनि ब्रोकरले भने आफ्नो ग्राहकमार्फत हुने खरिद बिक्रीमा मात्र पाउँछन् । यो प्रक्रियामा फाइदा बाँड्ने क्रम चेन मार्केटिङमा जस्तै प्रयोग गरिएको छ । 'मैले खाता खोलेको ग्राहकले गरेको कारोबारबाट मात्र कमिसन आउँछ,' पुतलीसडकमा रहेका एक ब्रोकरले भने, 'ग्राहकले जति बढी कारोबार गरे त्यत्ति नै बढी फाइदा हुने हो ।' यस्तो प्रवृत्तिले पछिल्लो समय बजारमा नकारात्मक असर परेको अर्को एक कमोडिटिज एक्सचेन्जका सञ्चालकले बताए । 'पहिलेभन्दा ब्रोकरलाई दिने कमिसन बढाउनुपर्ने बाध्यता भयो,' उनले भने, 'नयाँ खुलेका कम्पनीले ग्राहक तान्न बढाएपछि हामीले पनि गर्नुपर्‍यो ।' यसका साथै केही एक्सचेन्जले आफैं ब्रोकरको पनि काम गर्दै कारोबार थालेपछि बजारमा समस्या भएको उनी बताउँछन् ।

No comments:

Post a Comment