काठमाडौ, आश्विन ३ -
गत वर्ष कम्पनीले गरेको नाफामा हिस्सा पाउने आशामा सेयर बजारका
लगानीकर्तामाझ चहलपहल बढेको छ । सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक
भएर प्रतिफल घोषणा हुने क्रमसँगै बजार चलायमान देखिएको छ । मंगलबार सेयर
बजारमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार हुने कम्पनीको
संख्या पनि ९२ पुगेको छ ।
हरेक आर्थिक वर्ष सकिएपछि करिब ५ महिनासम्म बजारमा सकारात्मक असर देखिन्छ ।
थोरै समय मात्र यस्तो प्रवृत्ति स्थायी हुने गर्छ । पछिल्लो सयम बजार धेरै
बढ्ने वा घट्ने क्रम रोकिएको छ । कारोबार रकम पनि ६ करोडको हाराहारी
भइरहेको छ । 'प्रतिफल आउने सूचना र हल्लासँगै सेयर बजारमा कारोबार बढेको
छ,' स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष अञ्जन पौडेल भन्छन्, 'घोषणा
गरिसकेकासँगै तयारीमा रहेका कम्पनीको पनि सेयर मूल्यमा सुधार देखिएको छ ।'
कम्पनीले घोषणा गर्ने प्रतिफलबाट फाइदा लिन सेयर लगानीकर्ताले यस्तो समय
खरिद बिक्री बढाउँछन् । पाइने प्रतिफलसहित सेयर मूल्यमा सुधार आएर फाइदा
हुने सम्भावना रहन्छ । तर कम्पनीले प्रतिफल घोषणा नगरे लगानीकर्ताले अर्को
एक वर्ष पर्खनुपर्ने अवस्था आउँछ । 'दसैंतिहारअघिसम्म सेयर खरिद गर्नुपर्छ र
फाइदा हुन्छ भन्ने मानसिकता लगानीकर्तामा पाइन्छ,' पौडेलले भने ।
बजार शिथिल रहेको बेला केही ठूला बैंकले बोनस सेयरसहित लाभांशको घोषणा
गरेपछि सकारात्मक असर परेको विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । 'यसका
साथै केही अन्य कम्पनीले पनि बोनससहित लाभांश दिने आशामा बजार बढेको
देखिन्छ,' उनले भने । नेपाल टेलिकमको बजार हिस्सा २० प्रतिशतभन्दा बढी
भएकाले पनि उक्त कम्पनीको सेयर मूल्यको परिवर्तनले परिसूचक सुधार भएको उनी
बताउँछन् । यसका साथै राजनीतिक सहमति हुने आशाले पनि बजारलाई असर गरेको छ ।
तर राजनीतिले सेयर बजारमा धेरै लामो समयसम्म असर गरेको उदाहरण छैन ।
बजार सुधार नभए पनि सूचीकृत कम्पनीबारे सार्वजनिक नकारात्मक समाचारले पनि
धेरै असर गरेको छैन । यसको अर्थ बजार स्थिर भएको दाबी पौडेलको छ । 'लामो
समय बजार स्थिर रहेपछि बढ्ने आशा लगानीकर्तामा हुन्छ,' उनले भने, 'त्यसैले
खरिद गर्ने समय पर्खिएकाले लगानी बढाएका हुन सक्छन् ।'
इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष ईश्वरीप्रसाद रिमाल बजारलाई मुख्य दुई
विषयले असर गरेको बताउँछन् । 'ख र ग वर्गका वित्तीय संस्थाले लगानी बढाएका
छन्,' उनले भने, 'बैंकको ब्याज घटेर पनि सेयर बजारमा लगानी बढेको छ ।'
विकास बैंक र फाइनान्स कम्पनीले जलविद्युत्, अन्य र होटललगायत सेयरमा
लगानी बढाएका छन् । कम्पनीले दिने प्रतिफल अन्य क्षेत्रबाट आउनेभन्दा बढी
भएपछि यस्तो देखिएको हो । अर्कोतर्फ पछिल्लो समय बैंकले निक्षेपमा दिने
ब्याजदर घटेको छ । गत वर्षसम्म १० प्रतिशतभन्दा बढी ब्याज पाइरहेका
सर्वसाधारण सेयर बजारमा आकषिर्त भएको रिमाल बताउँछन् । 'ब्याजदर १०/१२ बाट
घटेर ३/४ प्रतिशत आइसक्यो,' रिमालले भने, 'त्यसैले बैंकमा किन राख्ने भन्ने
धारण लगानीकर्तामा देखिएको छ ।' सेयर बजार र बैंकको ब्याजदर ठीक विपरीत
हुने गर्छ । ब्याजदर बढेको समय सेयर बजारमा लगानी घट्ने गर्छ । पछिल्लो समय
सेयरधितो कर्जा प्रवाह पनि बढेको लगानीकर्ता बताउँछन् ।
सरकारले ठूला संस्थागत लगानीकर्तालाई बजार भित्र्याउन प्रयास गरे पनि सफल
हुन सकेको छैन । यसका साथै सेयर बजार सुधारका लागि ल्याइएका अन्य
कार्यक्रमले पनि धेरै असर गर्न सकेका छैनन् । केही समयदेखि नेपाल स्टक
एक्सचेन्ज (नेप्से) परिसूचक ४ सयको हाराहारीमा बसेको छ । लगानी गर्दा होस
पुर्याऊँ
बजारमा केही सकारात्मक कुरा आएपछि सेयरमा छिट्टै प्रभाव देखिन्छ । अधिकांश
समय यस्ता प्रभाव क्षणिक हुने गरेका छन् । यस्तो अवस्थामा हल्लाको भरमा
लगानी गर्दा धोका पाउने सम्भावना पनि रहन्छ । त्यसैले लगानीकर्ता आफैंले
विचार गरेर मात्र निर्णय लिनुपर्ने भट्टराई बताउँछन् । 'कम्पनीले दिने
प्रतिफल र सम्भावना हेरेर लगानी गर्नुपर्छ' उनले भने, 'सम्भावना देखिँदैन
तर सेयर मूल्य मात्र बढेको छ भने विचार गर्नुपर्छ ।'
No comments:
Post a Comment