काठमाडौ, असार २० -
चालू वर्षको चौथो त्रैमासिक सकिने समय नजिकिँदा सेयर बजारमा बिक्रीको दबाब
देखिएको छैन । सामान्यता हरेक त्रैमासिक सकिने समयमा बैंक वित्तीय
संस्थाको ब्याज/ऋण तिर्नका लागि सर्वसाधारणले सेयर बिक्री गर्न खोज्दा चाप
देखिने गर्छ । याद गर्न सकिने केही ठूला कारोबार बाहेक बिक्री गर्न बजारमा
भीड यसपटक लागेको छैन ।
ऋण भुक्तानी गर्न सेयर बिक्री गर्ने बढेपछि सेयर बजारमा गिरावट आउने र
कारोबार रकम बढ्ने गर्छ । पछिल्लो समय कारोबार ३/४ करोडको औसतमा र नेपाल
स्टक एक्सचेन्ज परिसूचक (नेप्से) २/३ अंकले मात्र तलमाथि भइरहेको छ ।
अन्तिम त्रैमासिक भएकाले सेयर धितो राखेर ऋण दिने संस्थाले असारमा
लगानीकर्तालाई साँवा/ब्याज भुक्तानीमा दबाब दिने गर्छन् । जसले गर्दा लामो
समय 'होल्ड' गरिरहेका लगानीकर्ताले पनि सेयर बिक्री गर्ने गरेको विगतको
अनुभव छ ।
गत वर्षको तुलनामा सेयरको मूल्य बढेको र राष्ट्र बैंकले मार्जिन कललाई
केही खुकुलो बनाएकाले बिक्रीको चाप नदेखिएको हुन सक्ने बजार विश्लेषक
रविन्द्र भट्टराई बताउँछन् । 'जोखिम हेरेर ऋण दिने र मार्जिन कल गर्न सक्ने
सुविधा बैंक वित्तीय संस्थालाई दिएकाले लगानीकर्तामा चाप नपरेको हुन
सक्छ,' उनले भने ।
गत वर्ष साउन १ गते नेप्से परिसूचक ३ सय ७८ दशमलव ४१ बिन्दुमा थियो ।
मंगलबार यो ३ सय ७४ दशमलव २५ बिन्दुमा छ । यही अवधिमा नेप्सेले सबैभन्दा
उच्च स्थान ४ सय ३२ दशमलव ८२ को पाएको थियो ।
यसका साथै अर्थमन्त्री वर्षमान पुनले सेयर बजार उकास्न दिएको प्रतिबद्धता
पूरा हुने आशामा लगानीकर्ता रहेकाले पनि चाप नदेखिएको ब्रोकर बताउँछन् ।
'बजेटबाट सेयर बजार सम्बन्धी केही घोषणा होला भनेर लगानीकर्ताले पर्खिरहेको
देखिन्छ,' ब्रोकर्स एसोसिएसनका अध्यक्ष अञ्जन पौडेलले भने, 'त्यसैले
बजारमा धेरै बिक्रीको दबाब छैन ।' अर्थमन्त्री पुनले केही महिनाअघि
लगानीकर्ताको तीन समूहले राखेको मागको सुनुवाइ गर्दै बजार सुधारका
कार्यक्रम घोषणा गरेका थिए ।
लगानीकर्ताको एक समूह नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष सीताराम थपलिया
पनि बजार आशावादी रहेको बताउँछन् । 'सरकारले ९ बुँदे सहमति गरेको छ,
केन्द्रीय निक्षेप प्रणाली लागू हुने क्रममा छ,' उनले भने, 'यस्ता धेरै
विषयले लगानीकर्तालाई आशावादी बनाएको छ ।' संस्थागत लगानीकर्ता आउने क्रम
बढ्नु र सेयर धितोकर्जा सहज हुनुले पनि बजारमा चाप नदेखिएको उनी बताउँछन् ।
'बजेट मार्फत धेरै सम्बोधन होला भन्ने आशा पनि छ,' उनले भने, 'सरकारले
गर्नुपर्ने अन्य प्रतिबद्धता पनि पूरा गरिरहेको छ ।'
साथै राम्रा कम्पनीको सेयर खरिद गर्न बजारमा आवश्यक लगानीकर्ता रहेकाले
पनि दबाब नदेखिएको पौडेलले बताए । यही महिनाभित्र लक्ष्मी बैंकको बल्कमा र
एभरेस्ट बैंकको ससाना धेरै कारोबार देखिएको छ । 'ठूला लगानीकर्ताले पनि
सेयर खरिद गरिरहेका छन्,' उनले भने । यसअघि दबाबमा देखिएका लगानीकर्ता पनि
'हलुका' भइसकेको थपलिया बताउँछन् । 'नयाँ लगानीकर्ताले पनि बजार प्रवेश
गरेका छन्,' उनले भने, 'जसको धैर्य गर्ने क्षमता धेरै छ ।'
अर्कोतर्फ आर्थिक वर्ष सकिने समयमा सेयर मूल्य बढाउने प्रयासमा केही
लगानीकर्ता र संस्था देखिने गर्छन् । यसरी मूल्य बढाउन सके बैंक तथा
वित्तीय संस्थाले मार्जिन कल गर्दैनन् । 'बैंक वित्तीय संस्थामा
लगानीकर्ताले र अन्य कम्पनीमा बैंक वित्तीय संस्थाले सेयर मूल्य बढाउन
खोजेको घटना असार मसान्तमा देखिन्छ' एक ब्रोकरले भने, 'यो हरेक वर्ष देखिने
सामान्य घटना हो ।'
No comments:
Post a Comment