काठमाडौ, श्रावण ३ -
अमेरिकी डलरको मूल्यमा आएको उतारचढावले बैंक वित्तीय संस्थाको नाफा मात्र
नभएर केन्द्रीय बैंकको कोषमा समेत रकम थपिएको छ । राष्ट्र बैंकले मुख्यगरी
विदेशमा राखेको डलरको भाउ बढेर सटही समीकारक कोषमा उल्लेख्य रकम जम्मा भएको
छ । गत जेठदेखिको एक वर्षको अवधिमा कोषमा ३२ अर्ब ६६ करोड रुपैयाँ बढेको छ
।
विदेशी विनिमयमा हुने परिवर्तनको जोखिम धान्न यस्तो कोषको व्यवस्था गरिएको
हुन्छ । डलर कमजोर हुँदै जाँदा कोषको रकम घट्दै जान्छ । तर बढ्दा थपिएको
रकम केन्द्रीय बैंकको नाफामा भने देखाउन पाइँदैन । 'यसले डलर कमजोर हुँदा
कोष रित्तिएर आउने जोखिम कम हुने भएकाले केन्द्रीय बैंकलाई पनि राहत नै
हुन्छ,' केन्द्रीय बैंकका एक पूर्वअधिकारीले भने । उक्त कोषमा ०६८ जेठमा १२
अर्ब ८१ करोड रुपैयाँ जम्मा भएको थियो । जुन ०६९ जेठमा ४५ अर्ब ४७ करोड
रुपैयाँ पुगेको छ ।
'अमेरिकी डलरको मूल्यमा देखिएको उतारचढावपछि उक्त कोषमा रकम वृद्धि भएको
हो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'कोषमा रकम बढे पनि त्यसलाई नाफामा लैजान
पाइँदैन ।' उक्त रकमलाई आयमा राख्न नमिल्ने भएपछि राष्ट्र बैंकको नाफा भने
बढ्दैन । ०६८ असार १ गते अमेरिकी डलर ७१ रुपैयाँ ३५ पैसामा कारोबार भएको
थियो । जुन एक वर्षको समयमा १७ रुपैयाँ ५७ पैसाले बढेको थियो । ०६९ असार १
गते राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य ८८ रुपैयाँ ९२ पैसा तोकेको थियो ।
एक वर्षमा डलर करिब १५ प्रतिशतले बढ्यो । यस अवधिमा डलर ऐतिहासिक उचाइमा
पुग्यो ।
डलरको वृद्धिले वाणिज्य बैंकहरूको भने नाफा नै बढाएको छ । वाणिज्य
बैंकहरूले यस्तो खरिद बिक्री राष्ट्र बैंकसँग गर्ने हो । वाणिज्य बैंकसँग
डलरको खरिद बिक्री गर्नका लागि राष्ट्र बैंकले सातामा तीन दिन छुट्याएको छ ।
जसलाई दैनिक बनाउन बैंकहरूले माग गरेका छन् ।
यस वर्ष वाणिज्य बैंकको आम्दानीको स्रोतमध्ये वृद्धिदरका आधारमा विदेशी
मुद्राबाट हुने नाफा पनि प्रमुख बनेको छ । लगानी वृद्धि हुन नसकेको अवस्था र
घरजग्गा क्षेत्रको ऋणमा समस्या देखिए पनि विदेशी विनिमय मुनाफाले केही
राहत दिएको छ । वाणिज्य बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत
आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकले विदेशी विनिमयबाट ६८
करोड ३२ लाख रुपैयाँ मुनाफा गरेका छन् ।
घट्न थाल्यो मूल्य
१५ दिन अघिसम्म दैनिक नयाँ रेकर्ड बनाउन थालेको अमेरिकी डलरको मूल्य
पछिल्ला दिन घट्न थालेको छ । असार १४ गते ९२ रुपैयाँमा कारोबार भएको एक
अमेरिकी डलरको मूल्य त्यसयता ३ रुपैयाँ ३४ पैसाले घटेको छ । राष्ट्र बैंकले
तोकेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलरको खरिद मूल्य ८७ रुपैयाँ ७४
पैसा छ ।
स्थिर विनिमय दर रहेको कारण भारतमा डलरको अधिमूल्यनसँगै नेपालमा पनि मूल्य
बढेको थियो । भारतले अमेरिकी डलरको बढ्दो मूल्य नियन्त्रण गर्न विभिन्न
कदम चालेपछि पछिल्लो समय मूल्य केही झरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा समेत अमेरिकी डलरको अधिमूल्यन हुन थालेपछि भारितय
बजारमा पनि असर परेको छ । भारतका बैंकहरूले डलरको मूल्य घट्न सक्ने
सम्भावनाका कारण बजारमा धेरै डलर पठाएका छन् । जसको कारण आपूर्ति वृद्धि
भएर भारतीय बजारमा पनि मूल्य घटेको
छ । भारतमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ खरिद गर्न अमेरिकी डलरको प्रयोग हुने गरेको छ ।
No comments:
Post a Comment