काठमाडौ, पुस २५ -
सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने खालका घरजग्गा व्यवसाय उकास्न
राष्ट्र बैंकले खुकुलो नीति लिने तयारी गरेको छ । ५ अर्ब रुपैयाँ फस्ने
देखिएको अग्नि समूहलगायत मुद्दामा राष्ट्र बैंकले सहजकर्ताको भूमिका खेल्न
सक्ने बताएको छ ।
अग्नि समूहलाई ऋण दिएका बैंकले उपयुक्त प्रस्ताव लिएर आए राष्ट्र बैंकले
यस्तो भूमिका खेल्ने बताइएको हो । 'धेरै जनताको पैसा फसेको छ,' राष्ट्र
बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले कान्तिपुरले आयोजना गरेको घरजग्गा
सम्बन्धी राउन्ड टेबल छलफल कार्यक्रममा भने, 'सम्बन्धित बैंकले उपयुक्त
प्रस्ताव लिएर आउने हो भने राष्ट्र बैंक सहजकर्ताको सुविधा दिन तयार छ ।'
यसबाहेक घरजग्गा क्षेत्रलाई उकास्न आवास तथा जग्गा विकास संघलाई सुझाव
लिखित रूपमा दिन पनि उनले आग्रह गरे ।
अग्नि समूहका मुख्य लगानीकर्ता सुधीर बस्नेत समस्यामा परेर विभिन्न बैंक
वित्तीय संस्थाका साथै सर्वसाधारणको रकम फिर्ता गर्न सकेका छैनन् । उनकै
समूहले प्रवर्द्धन गरेको अग्नि एयरलाई बैंकहरूले लिलामीमा लैजाने तयारी
गरेका छन् । बस्नेतको समस्याले बैंक वित्तीय संस्थाका साथै सर्वसाधारणलाई
पनि असर गर्ने देखिएपछि राष्ट्र बैंकमा मंगलबार बिहान यसबारे बैठकसमेत
बसेको थियो ।
बैठकमा सहभागी एक सदस्यका अनुसार बस्नेतको धितोमा रहेका सम्पत्ति लिलामी
गर्दै असुल गरे पनि सर्वसाधारणलाई समस्या पर्न सक्ने देखिएपछि आवश्यक परे
सुविधा दिने तयारी भएको हो । 'सहकारीमा भएको रकमबारे केही गर्न नसके पनि
बैंकबाट ऋण लिएर सञ्चालन गरेका अन्य परियोजनामा भने सहजता ल्याउन केही
सुविधा दिन सकिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो ।
स्रोतका अनुसार बस्नेत वा ऋण दिएका बैंकले परियोजना खरिद गर्ने व्यक्ति
ल्याए, हाउजिङ खरिद गरेकाले समूह बनाएर पूर्ण स्वामित्व खरिद गर्न खोजे वा
अन्य सुधारका विकल्प ल्याए राष्ट्र बैंकले सहजकर्ताको भूमिका खेल्ने छ । तर
राष्ट्र बैंकले माग नभएसम्म सहजकर्ताको भूमिका खेल्न सक्दैन । ऋण दिएका
बैंक वित्तीय संस्थाले माग गरे मात्र सुविधा दिन सकिन्छ । समूहको ओरियन्टल
कोअपरेटिभमा करिब ७ हजार सर्वसाधारणको पौने ४ अर्ब रुपैयाँ फसेको छ ।
सहकारीले लामो समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । सहकारीमा
देखिएको समस्या भने राष्ट्र बैंकले सुल्झाउन सक्दैन ।
सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले भने केही सहकारीमा देखिएका
समस्या समाधान गर्न सरोकारवाला निकाय एकै ठाउँमा बस्नुपर्ने बताए । 'सबै
सरोकारवाला निकाय एकै ठाउँमा बसेर समाधान गर्नुपर्छ,' उनले भने, 'राष्ट्र
बैंक र अर्थ मन्त्रालयले यसमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।' सहकारी
ऐनले फटाइँ गर्ने संस्थालाई सामान्य जरिवाना वा खारेज गर्ने अधिकार मात्र
दिएको छ । जसबाट सर्वसाधारणको रकम फिर्ता हुन सक्दैन । बस्नेतले प्रवर्द्धन
गरेको अग्नि एयर लिलामीमा चढेको छ भने अन्य विभिन्न हाउजिङ परियोजनामा
लगानी गर्ने बैंकले ऋण चुक्ता गर्न आउन ताकेता गरिरहेका छन् । बस्नेतले
केही समयअघि २ अर्ब रुपैयाँको हाराहारीमा आफूले ऋण तिर्न बाँकी रहेको
बताएका थिए । यो सँगै बस्नेतले आफ्ना कर्मचारीको नामबाट समेत ठूलो परिमाणमा
ऋण लिएकाले रकम अझ बढी हुन्छ । हाउजिङ बनाउन रकम लिएर काम नगरेको भन्दै
ठगी गरेको अभियोग लागेपछि बस्नेतलाई प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको छ ।
तर उनलाई थुनामा राखेर सर्वसाधारणको रकम फिर्ता नहुने भन्दै केही
बचतकर्ताले छाड्न विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन् । एकै पटक धेरै
क्षेत्रमा हात हालेका बस्नेतका सबै व्यवसायमा पछिल्लो पटक समस्या देखिएको छ
। 'कोष व्यवस्थापन, नगद प्रवाह र ऋण बुझाउने योजना नबनाएका कारण बस्नेतलाई
समस्या देखिएको हो,' एक घरजग्गा व्यवसायीले भने, 'पैसा संकलन भएको देखेर
एउटा पूरा नगरी अर्को परियोजना ल्याउँदा समस्या भयो ।' तीन वर्षदेखि ब्याज र
ऋण मात्र चुक्ता गरेर बसेकाले अधिकांशलाई समस्या परेको घरजग्गा व्यवसायीले
बताएका छन् । 'सरकारी निकायका पदाधिकारीलाई सहुलियतपूर्ण ब्याजमा हाउजिङ
उपलब्ध गराउनुपर्छ,' जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले
भने, 'यसका साथै पहिलो पटक घर खरिद गर्नेलाई सहुलियत र विदेशीलाई
अपार्टमेन्ट खरिद गर्ने वातावरण बनाउनुपर्छ ।' बैंक तथा वित्तीय संस्थाले
पनि ब्याज नघटाएको र राष्ट्र बैंकका प्रावधानले व्यवसायीलाई अप्ठेरो बनाएको
उनले बताए । हाउजिङमा देखिएको समस्याले अन्य उद्योग व्यवसायमा पनि असर
पर्दै गएकाले समाधान आवश्यक भइसकेको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष
प्रदीपकुमार श्रेष्ठले बताए ।
No comments:
Post a Comment