काठमाडौ, माघ १० -
भारतले सुनको भन्सार बढाएपछि नेपाली बजारमा अभाव चर्कने भएको छ । भन्सार
वृद्धिपछि भारतीय बजारमा सुनको मूल्य बढ्ने हुँदा चीन हुँदै नेपाल भएर अवैध
रूपमा निर्यात हुने सुनको माग थप बढ्ने छ ।
आन्तरिक व्यापारीले पनि नेपालमा भन्दा भारतमा मूल्य पाउने भएपछि अवैध
निर्यातलाई नै प्राथमिकता दिने हुन्छन् । अवैध निर्यात बढेपछि मुलुकमा अभाव
चर्किने सम्भावना देखिएको हो । यसले विवाहको सिजनमा उपभोक्ता थप मारमा
पर्ने छन् । अहिले दैनिक ४० किलोसम्म माग भए पनि बैंकहरूले १५ किलो मात्रै
आपूर्ति गरिरहेका छन् ।
अपुग सुन तोलामा २ हजार रुपैयाँसम्म थप तिरेर कालोबजारमा किनिरहेका छन् ।
व्यवसायीले उक्त रकम उपभोक्ता मूल्यमा जोड्ने हुँदा सर्वसाधारण समस्यामा
परेका हुन् । सोमबार भारतले सुनको भन्सार ४ बाट बढाएर ६ प्रतिशत पुर्याएको
छ । एक वर्षअघि २ प्रतिशत थियो । भारतको विदेशी मुद्रा सञ्चितिमा
नकारात्मक असर पर्न थालेपछि सरकारले सुन आयात निरुत्साहित गर्न यस्तो कदम
चलेको हो । 'नेपालमा पनि अभाव चर्किने सम्भावना देखिन्छ,' सुनचाँदी
व्यवसायी संघका महासचिव माणिकरत्न शाक्यले भने, 'भन्सार दरलाई पुनरावलोकन
गर्नुपर्छ ।' नेपालमा सुनको भन्सार कम भएकाले चीनबाट नेपाल आउँछ । खुला
सीमाका कारण अवैध रूपमा भारत जान्छ । वृद्धिपछि भारतमा प्रतिदस ग्राम सुनको
भन्सार दर २८ सय ८० रुपैयाँ (भारु १८ सय) पुगेको छ । नेपालमा सुन आयात
गर्दा भन्सारमा प्रति दस ग्राम २३ सय रुपैयाँ बुझाउनुपर्छ । चीनबाट आयात
गरेर भन्सार छल्दै भारत सुन पुर्याउँदा एक किलोमा २ लाख ५० हजारको
हाराहारीमा नाफा हुने अनुमान व्यवसायी गर्छन् ।
भारतले भन्सार दर बढाएपछि फाइदा अझ बढ्ने देखिन्छ । एक सुनचाँदी व्यवसायी
बढेको भन्सार दरअनुसार अब अवैध सुन भारत पुर्याउँदा करिब ३ लाख रुपैयाँ
नाफा हुने बताउँछन् । यो कारोबारमा संलग्न भारतीय रुपैयाँ बढी शुल्क लिएर
साट्ने पनि गर्छन् । जसले नाफा बढाउन थप मद्दत गर्छ । तर नेपालले आर्जन
गरेको विदेशी मुद्रा प्रयोग गरेर सुन आयात भइरहेकाले मुलुकलाई भने घाटा
हुने छ । भारतले सुनको भन्सार बढाएपछि तुरुन्तै नेपालले पनि बढाउने गरेको छ
। 'सरकारले पनि यसबारे हेरिरहेको हुनुपर्छ,' शाक्यले भने, 'हामीले पनि
सुझाव दिने तयारी गरेका छौं ।' भारतको भन्दा नेपालमा भन्सार दर बढी रहे
तस्करीले प्रोत्साहन पाउँछ ।
मुलुकको विदेशी मुद्रा सञ्चितिमा असर पर्छ । चीनमा सुन खरिद गर्न अमेरिकी
डलर प्रयोग हुने भएकाले सञ्चितिमा असर पर्ने हो । 'भन्सार दर हामीले पनि
बढाएनौं भने शोधानान्तर स्थितिमा छिट्टै असर देखिन्छ,' राष्ट्र बैंक
स्रोतले भन्यो, 'त्यसैले तत्काल बढाउन आवश्यक छ ।' भारतले दरमा पछिल्लो पटक
वृद्धि नगर्दा पनि सुन तस्करी फस्टाएको थियो । जसका कारण शोधानान्तर बचतमा
पनि असर देखिएको छ । विदेशी मुद्रा सञ्चितिको वृद्धि घट्ने र सेवा
क्षेत्रबाट हुने आय ज्यादै न्यून भएको तथ्यांक बाहिर आएको छ । बैंक वित्तीय
संस्थाबाट अवैध सुन खरिद गर्न अमेरिकी डलर नपाएपछि कारोबारीले मनी चेन्जर र
रेमिट्यान्सको रकम प्रयोग गर्न थालेको अनुमान गरिएको छ ।
No comments:
Post a Comment