काठमाडौ, माघ १२ -
सरकारले विदेशी सहयोगमा सञ्चालित कार्यक्रममा देखिएका समस्याबारे दातृ
निकायले १० वर्षदेखि निरन्तर उठाइरहेका गुनासा सरकारले समाधान गर्न सकेको
छैन ।
मुलुकलाई सहयोग गरिरहेका दातृ निकायले कर्मचारी छिटो सरुवा, सार्वजनिक
खरिद, सीमित क्षमता, रकमको सुस्त परिचालन, जवाफदेहिता लगायत विषय निरन्तर
उठाउँदै आएका हुन् । दातृ निकायसँग कार्य प्रगतिबारे गर्न हरेक वर्ष आयोजना
हुँदै आएको पोर्टफोलियो परर्फोमेन्स रिभ्यू (एनपीपीआर) को यस पटकको बैठकमा
पनि यिनै विषय उठेका छन् । दातृ निकायको सहयोगबाट भइरहेको प्रगतिबारे
समीक्षा गर्दै प्रस्तुत गरिएको अध्ययनले राजनीतिक अस्थिरताले पुँजी
परिचालनमा समस्या भएको देखाउँछ ।
विश्व बैंकका अनुसार गत आर्थिक वर्षमा बजेट परिचालनमा भएको ढिलाइले
विभिन्न विकास निर्माणका कार्यक्रमलाई पछि धकेलेको थियो । जुन चालू आर्थिक
वर्षमा अझ बढी देखिने अनुमान गरिएको छ । 'खर्च व्यवस्थापनमा सुधार नहुनु,
कार्यक्रमको बजेट ढिलो पारित हुनु र निर्णय तहमा रहेका कर्मचारीको सरुवा
भइरहनुले चालू वर्षमा पुँजीगत खर्च अघिल्लोभन्दा कम हुन सक्छ,' विश्व
बैंकले समीक्षामा उल्लेख गरेको छ । गत अािर्थक वर्षमा कुल गार्हस्थ
उत्पादनको तुलनामा पुँजी परिचालनमा ठूलो गिरावट आएको र चालू वर्षमा पूर्ण
बजेट आउन नसकेकाले अझ बढी खर्च घट्ने देखिएको छ । गत आर्थिक वर्षमा कुल
गार्हस्थ उत्पादनको ३ दशमलव ६ प्रतिशत पुँजीगत खर्च भएको थियो । अघिल्लो
वर्ष ७ दशमलव ९ प्रतिशत थियो । यस वर्ष पूर्ण बजेटको अभावका कारण प्रगति
न्यून हुने विषयलाई पनि दातृ निकायले उठाएका छन् । 'पूर्ण बजेट आउन भएको
ढिलाइले विकासनिर्माण खर्चमा असर गर्नेछ,' एसियाली विकास बैंकका देशीय
निर्देशक केनिची योकोयामाले बिहीबार आयोजित कार्यक्रममा भने ।
उनले स्थानीय स्तरमा निर्वाचित निकायको कमी, संसद् र संवैधानिक निकायमा
प्रमुख नहुनुले पनि जवाफदेहिता घटाएको बताए । यसका साथै सरकारले सचिव र
परियोजनाका कर्मचारीको गरिरहने सरुवाले पनि विकास निर्माणका काममा असर
परेको दातृ निकायले बताए । गत वर्ष अघिल्लोको तुलनामा यसरी हुने सरुवा
बढेको तथ्यांक दातृ निकायले सार्वजनिक गरेको छ । दुई वर्षअघि संघीय मामिला
तथा स्थायीन विकास मन्त्रालयको सचिवको तीनपटक सरुवा भएको उदाहरण दातृ
निकायले दिए । यससँगै पछिल्ला दुई वर्षमा ऊर्जामा दुई सचिव, शिक्षामा चार,
सार्वजनिक खरिद अनुगमन कार्यालयमा ३ सचिव सहित महालेखा परीक्षणको
कार्यालयमा ३ पटक प्रमुखको सरुवा भएकामा दातृ निकायले चासो दिए । यसबाहेक
आयोजनाका कर्मचारीको सरुवा अझ छिटो भएको गुनासो दातृ निकायको छ ।
'सरकारी अधिकारीको निरन्तर भइरहने सरुवाले कार्यान्वयनमा समस्या पारेको
छ,' विश्व बैंककी देशीय प्रबन्धक तहसिन सइदले भनिन् । कार्यक्रममा
अर्थमन्त्री वर्षमान पुनले स्रोतको कम परिचालन र परियोजना कार्यान्वयनमा
ढिलाइले सार्वजनिक खर्चमा असर गरेको स्वीकार गरे । सरकार भ्रष्टाचार लगायत
विषयमा सुधार गर्न तत्पर रहेको उनले बताए । 'भ्रष्टाचारमा संलग्न देखिएका
केही व्यक्तिलाई कानुनी कारबाही सुरु भएको छ,' उनले भने । दातृ निकायले
सरकारबाट पूर्ण बजेट आउन नसकेकोमा ठूलो चासो देखाएका थिए । उनीहरूले यस्तो
अवस्था पुनः दोहोरिन सक्ने विषयमा चासो दिए । 'कार्यक्षमतामा सुधार आएको
नदेखिएसम्म दातृ निकायलाई सरकारी प्रणालीबाट विकासका कार्यक्रम बढाउन सम्भव
छैन,' बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) ले समीक्षा
प्रतिवेदनमा भनेको छ । दातृ निकायले यीबाहेक अन्य धेरै विषयले विकास
निर्माणका कार्यक्रमलाई असर गरेको बताए । विश्व बैंक र एसियाली विकास
बैंकको सहयोगमा सञ्चालित कार्यक्रममा पुँजी परिचालनको समस्या ४२ प्रतिशत
पुगेको छ, जुन अघिल्लो वर्ष १५ प्रतिशत मात्र थियो । त्यस्तै सार्वजनिक
खरिदमा देखिएका समस्या २१ बाट बढेर ३१ पुगको छ । कार्यक्रममा अर्थसचिव
शान्तराज सुवेदी र वैदेशिक सहायता महाशाखाका प्रमुख मधु मरासिनीले सरकारको
कार्य प्रगतिबारे आफ्नो धारणा राखेका थिए । कार्यपत्र प्रस्तुत गर्दै
एनपीपीआरका संयोजक कैलाश पोखरेलले यस वर्षको ५५ प्रतिशतको प्रगतिलाई ७०
प्रतिशत पुर्याउनुपर्ने बताए ।
No comments:
Post a Comment