काठमाडौ, पुस १७ -
अदालतमा मुद्दा दायर भई थुनछेकको आदेशसमेत भइसकेपछि अर्थ मन्त्रालयले
अनुसन्धानका लागि लेखेको चिठी प्रहरी कार्यालयमा पुगेको छ । तत्कालीन नेपाल
श्रीलंका मर्चेन्ट बैंकसम्बद्ध अभियुक्तहरूलाई बैंकिङ कसुरअन्तर्गत
अनुसन्धान गरी कारबाहीका लागि चिठी लेख्न अर्थले तीन महिनाभन्दा बढी समय
लिएपछि प्रहरीले ढिलो गरी चिठी पाएको हो । 'मुद्दा अदालतमा पुगिसकेपछि
अनुसन्धानको आदेश आएको छ,' प्रहरीसम्बद्ध स्रोतले भन्यो, 'तर ढिलैगरी भए
पनि कारबाहीका लागि अर्थको सहमति पाएको बुझेका छौं ।' शक्ति केन्द्रमा
पहुँचका कारण वित्तीय अनियमितता छुट पाउँदै आएको एनबी समूहका सञ्चालकहरू
कारबाहीमा पर्ने भएपछि राष्ट्र बैंकले प्रहरीलाई आवश्यक आदेश दिन लेखेको
चिठीमा अर्थ मन्त्रालय मौन रहेको थियो । तर अर्थले चिठी नलेखे पनि प्रहरीको
केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) ले राष्ट्र बैंकको सहयोगमा अनुसन्धान
गरेपछि मुद्दा दायर भएको थियो । पक्राउ परेका अभियुक्तहरू नेपाल श्रीलंका
मर्चेन्ट बैंकका कार्यकारी अध्यक्ष रुवी जोशी, सञ्चालकद्वय श्रीराम
लामिछाने र गौरीशंकर चौधरीसहित लक्ष्मीबहादुर श्रेष्ठ, जेन श्रेष्ठ,
चण्डीराज ढकाल, प्रकाश घिमिरे, कुमार थापा, विद्या श्रेष्ठ, नविन श्रेष्ठ,
देवबहादुर श्रेष्ठ, तिलकबहादुर श्रेष्ठ लगायतविरुद्ध अनुसन्धान गर्न अर्थले
मंसिर २९ गते गृह मन्त्रालयमार्फत लेखेको चिठी भर्खरै सीआईबीमा पुगेको छ ।
जब की मंसिर ५ गते मुद्दा दायर १९ गते पुनरावेदन अदालत पाटनले पक्राउ
परेका तीन अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
'एनबी समूहको प्रभावका कारण अनुसन्धानको आदेश दिन नचाहेको अर्थले मुद्दा
अदालतको क्ष्ाेत्राधिकारमा पुगेपछि लाज जोगाउन चिठी लेखेछ,' सम्बद्ध
स्रोतले भन्यो । नेपाल श्रीलंका मर्चेन्ट बैंकलाई नेपाल बंगलादेश बैंकमा
गाभ्न राष्ट्र बैंकले स्वीकृति दिइसकेपछि आफन्तलगायत आफ्नो प्रभावका
व्यक्तिहरूलाई बिनाधितो ऋण दिएर दुरुपयोग गरेको उजुरी परेपछि अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २९ गते कारबाहीका लागि राष्ट्र बैंकलाई
भनेको थियो । अनुसन्धानका क्रममा अनियमितता पुष्टि भएपछि राष्ट्र बैंकले थप
कारबाहीका लागि प्रहरीलाई पत्राचार गर्न भदौ १९ गते अर्थलाई अनुरोध गरेको
थियो । तर अर्थले कारबाहीका लागि प्रहरीलाई चिठी नलेख्ने संकेत पाएपछि
राष्ट्र बैंकले सोझै केन्द्रीय अनुसन्धान ब्युरोलाई चिठी लेखेर अनुसन्धान
अघि बढाएको थियो । अनुसन्धानका लागि राष्ट्र बैंकले एक जना सहायक
निर्देशकलाई सीआईबीमा काजमा खटाएको थियो । 'चिठी पठाएको भोलिपल्ट
अर्थमन्त्रीले गभर्नरलाई बोलाएर तीन जना मन्त्री एकसाथ आएर कारबाही अघि
नबढाउन भनेको सुनाउँदै कुरा के हो प्रस्ट पार्न भनेनन्,' स्रोतले भन्यो,
'गभर्नरले बि्रफिङ गरी कारबाही नगरे वित्तीय अनुशासन कायम गर्न नसकिने
बताएपछि मन्त्रीले प्रहरीलाई चिठी लेख्ने आश्वासन दिएका थिए ।' तैपनि
अर्थले चिठी लेख्ने छाँटकाँ नदेखेपछि राष्ट्र बैंकले सोझै सीआईबीमा पत्र
लेखेको थियो । राष्ट्र बैंकसम्बद्ध स्रोतका अनुसार कारबाही गर्ने निर्णय भए
पनि चिठी लेख्न राष्ट्र बैंकको सुपरीवेक्षण विभागले एक साताभन्दा बढी समय
लगाएको थियो । कारबाहीको निर्णय भएपछि एनबी समूहका अध्यक्ष जितबहादुर
श्रेष्ठ र प्रबन्ध सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठले चिठी नलेख्न शक्ति
केन्द्रमार्फत लबिङ गर्नुका साथै बैंकका जिम्मेवार अधिकारीहरूको घरघरमा
पुगेर दबाब दिएका थिए । 'एउटा चिठी पठाउन साताभन्दा बढी समय लगाएको भन्दै
गभर्नर युवराज खतिवडाले तत्काल चिठी लेख्न भनेपछि बल्ल चिठी अर्थ पुगेको
थियो,' स्रोतले भन्यो ।
अझै फरार लक्ष्मीबहादुर
प्रहरीले खोजी गरिरहे पनि लक्ष्मीबहादुर श्रेष्ठसहित उनका नजिक रहेका
व्यक्ति खुलमखुलै हिँडिरहेको स्रोत बताउँछ । 'उनी कतै गएका छैनन्,'
श्रेष्ठसँगै कारोबार गरेको स्रोत भन्छ, 'साँझ उनको अफिस गए भेटिन्छ ।'
पछिल्लो समय लक्ष्मीबहादुर श्रेष्ठले केही सेयरको बिक्री गरेको स्रोत दाबी
गर्छ । तर प्रहरी भने बजारमा हल्ला भएजस्तो अवस्था नरहेको बताउँछ । 'हामी
गम्भीर भएर लागेका छौं,' अनुसन्धानमा संलग्न प्रहरी स्रोतले भन्यो, 'उनी
कार्यालय वा अदालतमा उपस्थित भए भन्ने कुरा हल्ला मात्र हुन् ।' प्रहरीलाई
श्रेष्ठ नपक्रन कतैबाट दबाब नआएको र निगरानीको क्रम बढाइएको उनले बताए ।
'पछिल्लो समय एनबी समूहको संलग्नता रहेका अन्य कम्पनीमा पनि अनियमितता
भए/नभएको हेरिरहेका छौं,' स्रोतले भन्यो ।
No comments:
Post a Comment