काठमाडौ, पुस २१ -
नेकपा-माओवादीका कार्यकर्ताले नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडेक्स) मा
शुक्रबार आक्रमण गरेका छन् । चन्दा नदिएकामा तीनकुनेस्थित कम्पनीको
कार्यालयमा आक्रमण गरेका हुन् । यसअघि सोही पार्टीका कार्यकर्ताले असोजमा
कमोडिटिज एन्ड मेटल एक्सचेन्जको कार्यालयमा तोडफोड गरेका थिए । त्यसअघि पनि
अर्को एक कमोडिटिज कारोबार गर्ने संस्थामा आक्रमण भइसकेको छ । एक्सचेन्जमा
तोडफोड गर्ने व्यक्ति/समूहलाई सरकारले कारबाही नगरेकाले आक्रमणका शृंखला
बढ्न थालेको व्यवसायीको गुनासो छ । पछिल्लो समय नेकपा-माओवादीले अधिवेशनका
लागि भन्दै विभिन्न व्यावसायिक प्रतिष्ठानसँग चन्दा माग्ने क्रम तीव्र
बनाएको छ । सरकारी नियमनभन्दा बाहिर रहेकाले आर्थिक लाभ लिन सजिलो भएकाले
कमोडिटिज एक्सचेन्जलाई चिठी लेखेर लाखौं रकम माग्ने र आक्रमण गर्ने क्रम
बढेको हो । एनडेक्सले उक्त पार्टीले सुरुमा ५० लाख र पछि २५ लाख रुपैयाँ
चन्दा मागेको उल्लेख गरेको छ । संस्थाले ४/५ महिनाअघि दिन नसक्ने जानकारी
दिएको र शुक्रबार आक्रमण भएको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रधानले
बताए । एनडेक्सका अनुसार करिब पौने ११ बजे ९/१० जनाको समूहमा आएका
व्यक्तिले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर तोडफोड गरेका थिए ।
आक्रमणकारीले एक थान मोबाइल खोसेर लगेको कम्पनीले जनाएको छ । साथै मुख्य
गेट, सात ढोका, ९ कम्प्युटरलगायत पनि तोडफोड भएको कम्पनीले उल्लेख गरेको छ ।
आक्रमणबाट करिब १५ लाख रुपैयाँको क्षति भएको दाबी कम्पनीले गरेको छ ।
कम्पनीका अनुसार तोडफोडपछि माओवादीको प्रचारप्रसार समितिको पर्चा छरिएको छ ।
'चन्दा आतंक, मानसिक तनाव दिइरहने र व्यवसाय पनि गर्न नदिने हो भने
मुलुकबाट पलायन हुनुको विकल्प छैन,' एक अर्का कमोडिटिज एक्सचेन्जका
सञ्चालकले बताए । लामो समयदेखि कमोडिटिज एक्सचेन्जलाई राजनीतिक दल र
गुन्डागर्दीमा संलग्नले निसाना बनाएका छन् । 'माओवादी फुटेर नयाँ पार्टी
बनेपछि चन्दा माग्दै आउने क्रम बढेको छ,' अर्का कमोडिटिज सञ्चालक भन्छन्,
'सुरुमा ठूलो रकम माग्ने र पछि आफैं घटाउने, घटाएको रकम पनि नपाएपछि आक्रमण
गर्ने क्रम देखिन्छ ।' पछिल्लो समय व्यवसायमा गिरावट आएका कारण कुनै पनि
संस्था चन्दा दिन सक्ने हैसियतमा नरहेको उनले बताए । 'सरकारले नियमन नगर्ने
र सडकमा रहेका दलले चन्दा माग्ने हो भने व्यवसाय चलाउन सकिँदैन,' उनले भने
। पछिल्लो ६ वर्षदेखि सञ्चालनमा रहेका कमोडिटिज एक्सचेन्जलाई सरकारले
नियमन गरेको छैन । जसले यस्ता एक्सचेन्ज खुल्ने क्रम पनि बढेको छ ।
कारबाही गर: महासंघ
कमोडिटिज एक्सचेन्जमा चन्दा माग्ने र आक्रमण गर्ने क्रमले तीव्रता पाएपछि
उद्योग वाणिज्य महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आक्रमणमा संलग्न अराजक समूहलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न
महासंले सरकारसँग माग गरेको छ । 'विद्यमान राजनीतिक अन्योललाई छिटो अन्त्य
गरी राजनीतिक दलले सहमतिका साथ मुलुकलाई छिटो निकास नदिने हो भने यस्ता
अराजक गतिविधि बढ््दै जाने' महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
No comments:
Post a Comment