Saturday, March 16, 2013

प्रक्षेपणबाहिर जान थाले सूचक

काठमाडौ, चैत्र ४ - अनौपचारिक अर्थतन्त्र र राजनीतिक अस्थिरताको प्रभावले आर्थिक सूचक प्रक्षेपण गर्न नसकिने भएका छन् । पछिल्लो ७ महिनामा देखिएको शोधनान्तर स्थिति परिवर्तन यसको एउटा उदाहरण हो । एक महिनामै ५ अर्बभन्दा बढीको घटबढ हुन थालेको शोधनान्तर स्थितिमा आइरहेको परिवर्तनको ठोस कारण देखिँदैन ।'अर्थतन्त्रको धड्कन तलमाथि भइरहनु र प्रवृत्ति हेरेर प्रक्षेपण गर्न नसक्ने अवस्था आउनु राम्रो होइन,' अर्थविद, विश्वम्भर प्याकुर्‍याल भन्छन्, 'यो खतरनाक र चेतावनीपूर्ण कुरा हो ।'
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको ७ महिने तथ्यांकअनुसार शोधनान्तर स्थिति १ अर्ब ५९ करोड रुपैयाँले बचतमा छ । जुन एक महिनाअघि ६ अर्ब ७ करोड रुपैयाँले बचतमा थियो । ५ औं महिनामा भने ७ औं जस्तै शोधनान्तर स्थिति १ अर्ब ६० करोडले बचतमा थियो । यस्तो परिवर्तन चालु आर्थिक वर्षको पहिलो महिनाबाटै देखिएको हो । पहिलो महिना ३ अर्ब ५८ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति तेस्रो महिना पुग्दा ३५ करोडमा झरेको थियो ।
शोधनान्तर स्थिति भनेको मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तर हो । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि यो बचतमा हुन्छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा रोजगारी बढाउने र पूर्वाधार विकास नभएकाले सबैतिर असर देखिएको प्याकुर्‍याल बताउँछन् । 'सरकारको खर्च अनुत्पादक क्षेत्रमा बढी भएको छ,' उनले भने, 'जुन राजनीतिक स्वार्थ पूर्तिका लागि हुन्छ ।' गैरबजेटरी खर्च बढी हुनुले निजी क्षेत्रलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बढावा नदिने उनी बताउँछन् । 'पछिल्ला ५ वर्षदेखि निजी क्षेत्रबाट पनि रोजगारी वृद्धिका लागि लगानी भएको देखिँदैन,' उनले भने, 'जसले रोजगारीका लागि योग्य जनशक्ति बिदेसिने क्रम बढेको छ ।' यसका साथै बराबरीजस्तै रहेको भारतसँगको अनौपचारिक व्यापारका कारण पनि समस्या यथावत् रहेको उनले बताए । शोधनान्तर बचत घट्नुको एक प्रमुख कारण चालु खाता घाटामा जानु रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष बचतमा रहेको चालु खाता चालु वर्षको ७ महिनामा १ अर्ब ७१ करोड रुपैयाँले घाटामा छ । चालु खातामा वस्तु तथा सेवाको आयात निर्यातलगायतका शीर्षक हुन्छन् । आयातमा उच्च वृद्धि भएपछि चालु खाता घाटामा गएको छ । ७ महिनामा निर्यात ५ दशमलव ६ प्रतिशतले बढेको छ । तर आयात २४ प्रतिशतले बढेर समस्या चर्काएको हो । योसँगै रेमिटेन्स आउने क्रम घटेपछि पनि असर परेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाह आर्थिक वर्षको ७ महिनामा १९ दशमलव ६ प्रतिशतले बढेको छ ।
अनौपचारिक रूपमा अमेरिकी डलर विदेश पुर्‍याउनेको संख्या बढेपछि पनि सूचकमा असर परेको एक अर्थविद् बताउँछन् । 'सेवा क्षेत्रको आय र रेमिट्यान्स आउने क्रमलाई हेर्ने हो भने केही गलत भइरहेको देख्न सकिन्छ,' उनले भने, 'पर्यटक र विदेश जाने वृद्धि भए पनि त्यसअनुसारको आय भएको छैन ।' अवैध सुन आयातका लागि आवश्यक अमेरिकी डलर बैंक वित्तीय संस्थाले उपलब्ध गराउन नमिल्ने भएपछि कारोबारी यस्ता रकम प्रयोग गरिरहेको हुनसक्ने उनी बताउँछन् । चीनबाट आयात गरेर भारतसम्म सुन पुर्‍याउने व्यापारका कारण विदेशी मुद्रा र आयमा असर देखिएको उनले बताए ।
मूल्यवृद्धि र विदेशी मुद्रा सञ्चिति पनि उस्तै राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले मौदि्रक नीतिको अर्धवाषिर्क समीक्षा गर्दा वैशाखसम्म मूल्यवृद्धि एक अंकमै रहने, जसले वर्षकै समग्र मूल्यवृद्धिलाई पनि प्रक्षेपण भित्रै राख्न मद्दत पुर्‍याउने बताएका थिए । तर एक महिना बित्दा अनुमानले फेल खायो र माघको तथ्यांकले मूल्यवृद्धिलाई १० दशमलव १ प्रतिशतमा पुर्‍यायो । खाद्यान्न र त्यसमा पनि तरकारीको मूल्यमा आएको वृद्धिका कारण समग्र महँगीमा चाप परेको छ । अघिल्लो महिना मूल्यवृद्धि ९ दशमलव ८ प्रतिशत थियो । मुलुकमा रहेको विदेशी मुद्राको सञ्चितिमा छिटोछिटो घटबढ हुने क्रम जारी छ । राष्ट्र बैंकका अनुसार माघमा विदेशी मुद्रा सञ्चिति ४ खर्ब ३७ अर्ब रुपैयाँ छ जुन एक महिनाअघि मात्र ४ खर्ब ५० अर्ब रुपैयाँ थियो । मंसिरमा यस्तो सञ्चिति ४ खर्ब ४५ अर्ब रुपैयाँ थियो ।
शोधनान्तर स्थिति
(बचत, रुपैयाँमा)
७ महिना    -    १ अर्ब ५९ करोड
६ महिना    -    ६ अर्ब ७ करोड
५ महिना    -    १ अर्ब ६० करोड
४ महिना    -    १४ करोड
३ महिना    -    ३५ करोड
२ महिना    -    ३ अर्ब ८२ करोड
१ महिना    -    ३ अर्ब ५८ करोड


प्रकाशित मिति: २०६९ चैत्र ४ १०:४७

No comments:

Post a Comment