काठमाडौ, फाल्गुन १८ -
दक्षिण कोरियाली गायक पीएसवाईले आफ्ना ६ एल्बममा दर्जनौं गीत गाए । तर
उनलाई संसारभर चिनाउने काम गर्यो, पछिल्लो एकै गीत गङनम स्टाइलले ।
पत्रकार डेकेन्द्र थापाले ०५९ सालमा गाएको गीत कमैले सुनेका थिए । उनी
मारिएको ८ वर्षपछि यसलाई ४६ हजारभन्दा बढीले हेरे र सुने । कोलाबेरी डी
गाएका धनुष सोसल मिडिया मार्फत नै एकाएक चर्चित गायक बने ।
यी तीनै घटनालाई चर्चित बनाउने माध्यम बन्यो, यु-ट्युब । गएको
भ्यालेन्टाइन-डे मा स्थापनाको ८ वर्ष पूरा गरेको यु-ट्युब धेरै
भिडियोहरूलाई चर्चित बनाउने माध्यम बनेको छ । हेर्नका लागि टेलिभिजन अघि
कुरेर बस्नुपर्ने ट्रेन्डलाई यु-ट्युबले परिवर्तन गरिरहेको छ ।
लोडसेडिङमा टीभी सिरियल छुट्दा विकल्प बन्न थालेको यो वेबसाइट पछिल्लो समय
नेपाली कार्यक्रमको अन्तर्राष्ट्रिय च्यानल पनि भएको छ । त्यसका कारण
देखाउने र हेर्न चाहनेलाई सजिलो भइदिएको छ ।
सन् २००५ को फेब्रुअरीमा व्यक्तिगत भिडियोलाई लक्षित गरी खोलिएको यु-ट्युब
अहिले विश्वमै धेरै हेरिने तेस्रो वेबसाइट भएको छ । यसमा प्रत्येक मिनेटमा
भिडियो अपलोड भइरहेका हुन्छन् । यसमा चढेको भिडियो र बढेको दर्शक संख्याले
टेलिभिजन च्यानलहरूमाथि चुनौती तेर्सिएको छ ।
आवश्यक परेको समय हेर्न सकिने र दोहोर्याउन मिल्ने भएकाले पनि यु-ट्युब टेलिभिजनको प्रतिस्पर्धामा अघि आउन थालेको हो ।
'केही वर्षमा यु-ट्युबले टेलिभिजन हेर्ने ट्रेन्ड परिवर्तन गर्ने
देखिन्छ,' टेलिभिजन र आईटी ज्ञाता करुण थापा भन्छन्, 'नेपाल र विदेशमा भएका
नेपालीमा पनि यसले परिवर्तन ल्याउन थालेको छ ।' टेलिभिजन २४ घन्टा आउने भए
पनि समयका कारण प्रसारण क्षेत्रभन्दा उल्टो ठाउँमा रहेकालाई हेर्न सजिलो
छैन ।
त्यसलाई सजिलो बनाउने काम यु-ट्युबले गर्दैछ । 'अमेरिकामा रहेकाले काम
सकेर टेलिभिजन खोल्दा बेलुका नेपाली टीभीबाट भजन आउँदो रहेछ,' थापाले भने,
'कार्यक्रम दोहोर्याउँदा समय नमिल्ने भएकाले विकल्पमा यु-ट्युब भएको छ ।'
यु-ट्युबमा हेर्नेको संख्या बढ्दै गएपछि कम्पनीले त्यसको राम्रो
व्यवस्थापनमा काम अघि बढाएको छ ।
त्यसकै उदाहरण यु-ट्युबले नेपालमा सर्भर राख्नु हो । सर्भर नेपालमा हुनु,
इन्टरनेटको गति बढ्नु र मूल्य घट्नुले यो वेबसाइटको लोकपि्रयता बढाउन मद्दत
पुगेको छ । 'नेपालमै पनि म्युजिक भिडियो र सिनेमाका प्रोमो यु-ट्युबबाट
सार्वजनिक हुने क्रम बढेको छ,' थापाले भने, 'प्रतिक्रिया सजिलै आउने भएकाले
टीभीमा भन्दा यसमा आकर्षण देख्ने बढेका छन् ।'
'टेलिभिजनको च्यानलले निश्चित समयमा कुनै एउटा कार्यक्रम दिन्छ,'
अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रम निर्माता इरिक स्पाइजेलमेनलेले
न्युयोर्करमा लेखेका छन्, 'यु-ट्युबको च्यानलले त्यसको विपरीत धेरै अवसर
दिएको छ ।' टेलिभिजन च्यानललाई तिर्नुपर्ने शुल्कका अगाडि यु-ट्युब
हेर्दा हुने खर्च न्यून भएकाले दर्शक बढेको उनले लेखेका छन् ।
यसै कारणले हुन सक्छ युरोप र अमेरिकाका विभिन्न टेलिभिजन च्यानलले
यु-ट्युबमा पनि लाइभ गर्न थालेका छन् । त्यसमा ब्लुमबर्ग, सिनेट, अलजजिरा,
फेसन टीभी हुँदै कलर्ससम्म आइपुगेको छ । टेलिभिजनका कार्यक्रम मात्रै
खोज्नुभयो भने अंग्रेजी, जर्मन, हिन्दी हुँदै नेपालबाट प्रसारण हुने
अधिकांश भेटिन थालेको छ ।
अर्को कारण स्मार्टफोन र टेलिभिजनको संख्या बढ्नु पनि हो । आइफोनमा
आईटीभीदेखि एन्ड्रोइडका अधिकांश ग्याजेटमा यु-ट्युबले उपस्थिति बनाएको छ ।
वाईफाई र थ्रीजी सेवा खोज्न धेरै हिँड्नु पर्दैन । त्यसैले टेलिभिजन अब
कोठाभित्र नभएर बाटोबाटोमा पुग्न थालेको छ ।
'किताब पढ्नका लागि किन्डल भनेजस्तै टीभी हेर्नका लागि यु-ट्युब माध्यम
बन्दै आएको छ,' थापाले भने । स्मार्ट टेलिभिजनमा उपलब्ध भइसकेको यु-ट्युबले
अन्य उपायबाट पनि आफ्नो उपस्थिति बढाउँदै गएको छ । गएको साता मात्रै
यु-ट्युबले बेलायती कम्पनी फिस्याटसँग सम्झौता गरेर टेलिभिजनमा आफ्नो पहुँच
बढाएको छ ।
निःशुल्क टेलिभिजन च्यानल उपलब्ध गराउने फिस्याटमा जोडिएर यु-ट्युबले
चुनौती भने परम्परागत टेलिभिजनलाई दिइरहेको छ । यसका साथै केबल टेलिभिजन र
अन्य माध्यममा पनि यसले उपस्थिति बढाउँदै लगेको छ । टेलिभिजनका कार्यक्रम
मात्र नभएर यु-ट्युबले आफ्नो छुट्टै बनाउनका लागि तयारी गरेको बेलायती
पत्रिका गार्जियनले उल्लेख गरेको छ ।
त्यसमा विभिन्न प्रख्यात निर्माताले बनाएका कार्यक्रम प्रसारण गर्न ६०
नयाँ च्यानल यु-ट्युबमा खोलिने लेखिएको छ । यु-ट्युब सोसल मिडियामा सजिलै
जोडिन सक्ने भएकाले पनि चर्चित बन्नुको एक कारण हो । 'टेलिभिजनका कार्यक्रम
दर्शकलाई आकषिर्त गर्ने हुनुपर्छ भन्ने भनाइ छ,' थापाले भने, 'जसलाई
यु-ट्युबमार्फत सजिलै गर्न सकिन्छ ।'
सामाजिक सञ्जाल फेसबुक, टि्वटरलगायत आफ्नै वेबसाइटमा पनि राख्न मिल्ने
भएकाले यु-ट्युब सजिलो टीभी बन्न थालेको छ । 'नेपालमा रहँदा विदेशी सुन्नु
परे पनि विदेशमा पुगेपछि नेपाली गीत खोज्ने धेरै छन्,' थापाले भने,
'त्यस्तै माग पूरा गर्न यु-ट्युबमा भएका लोकगीत राखेर एउटा वेबसाइट बनाइएको
रहेछ ।'
विदेशमा नेपाललाई जोड्ने एउटा माध्यम भइसके पनि नेपालमै भने टेलिभिजनलाई
चुनौती दिन केही समय लाग्ने थापा बताउँछन् । 'अलिकति व्यवस्थापन हुन बाँकी
छ,' उनले भने, 'छरिएर रहेका विषयलाई समेट्ने हो भने यु-ट्युब धेरै सजिलो
भएको छ ।' हुन पनि, के हेर्ने ? यु-ट्युबमा सबै, जहिले पनि देखिन्छ ।
No comments:
Post a Comment