काठमाडौ, पुस १ - राष्ट्र बैंकले वित्तीय सुशासन कायम नगर्ने संस्थालाई सिधै खारेजीमा लैजान सक्ने गरी कानुनी व्यवस्था गर्न लागेको छ ।
हाल वित्तीय सुशासन उल्लंघन गरेर तोकिएका मापदण्ड पूरा नगर्ने संस्थालाई राष्ट्र बैंकले पहिलो चरणमा सुविधा रोक लगाउने गरेको छ । अनुसासन उल्लंघन घटनाको प्रकृति अनुसार शीघ्र सुधारात्मक कारबाही पनि
गरिन्छ । संस्था चल्न नसक्ने अवस्थामा भए निक्षेपकर्ताको पैसा फिर्ता गर्न खारेजीको निर्णय हुन्छ । यसका लागि पुनरावेदन अदालतमा खारेजीको माग गर्दै निवेदन दिनुपर्छ । केन्द्रीय बैंकले निवेदन दिएपछि अदालतले छानबिन अधिकृत नियुक्त गर्छ । अधिकृतको प्रतिवेदनलाई आधार बनाएर खारेजीको निर्णय गरिन्छ । खारेजीमा परेको संस्थाले निक्षेप सुरक्षण गरेको भए ३ महिनाभित्र सर्वसाधारणले २ लाख रुपैयाँसम्मको निक्षेप फिर्ता पाउँछन् । यी सबै प्रक्रिया पूरा गर्न न्यूनतम ६ महिना लाग्ने अवस्था छ ।
फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडिआइसी) अमेरिकी सरकारको स्वामित्वमा भएको संस्थान हो । १९३३ मा स्थापना भएको संस्थानले बैंकहरूको निक्षेप सुरक्षण गर्छ ।
१९३० को दशकमा अमेरिका सहित विश्वका अधिकांश मुलुकमा बिगि्रएको आर्थिक अवस्था -ग्रेट डिप्रेसन) पछि यस्तो संस्थानको अवधारणा आएको हो । उक्त समयमा भएका बैंक रन -बैंकलाई नपत्याएर एकै पटक धेरैले पैसा झिक्ने काम) भएपछि निक्षेप सुरक्षण गर्न संस्थान खोलिएको थियो । सुरुमा २ हजार ५ सय डलरसम्म सुरक्षण गरेको संस्थाले हाल २ लाख ५० हजार अमेरिकी डलरसम्मलाई सुरक्षा दिएको छ । २००८ मा भएको वित्तीय संकटमा संस्थानले २५ वटा अमेरिकी बैंकलाई हस्तक्षेप गरेर आफ्नो अधीनमा लिएको थियो । एफडिआइसीलाई चल्न नसक्ने संस्थालाई खारेज गर्न सक्नेसम्मको अधिकार छ ।
एफडिआइसी जस्तै निक्षेप तथा कर्जा सुरक्षण निगममा पनि सरकारको स्वामित्व छ । तर निगमलाई भने उत्तिकै अधिकार सम्पन्न हुन सकेको छैन ।
राष्ट्र बैंकले प्रारम्भिक रूपमा गरिरहेको कामले पूर्णता पाए प्रक्रिया पूरा गर्न महिना दिनभन्दा बढी समय लाग्ने छैन । 'यस्तो सुविधा उपलब्ध गराउनका लागि छुट्टै ऐन आवश्यक हुन्छ,' स्रोतले भन्यो, 'त्यस्तो ऐनले खारेजीको सबै अधिकार निगमलाई दिएको हुने छ ।' राष्ट्र बैंकले ऐन बनाउन गरिरहेको अध्ययनलाई विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले सहयोग गर्ने प्रतिबद्धता दिएका छन् ।
दुई बाहेक सबैको निक्षेप सुरक्षण
सञ्चालनमा रहेका २९ वाणिज्य बैंकले निक्षेप सुरक्षण गराएका छन् । मंसिर २९ गतेसम्म यी बैंकले निक्षेप सुरक्षण गरेका हुन् ।
कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक सबैले निक्षेप तथा कर्जा सुरक्षण निगमसँग यसका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार २ लाख रुपैयाँसम्मको व्यक्तिगत खातामा रहेको निक्षेपको जिम्मा निगमले लिन्छ ।
सम्झौता भएका संस्था खारेजीमा गए निगमले निर्णय भएको तीन महिनाभित्र सर्वसाधारणलाई २ लाख रुपैयाँसम्मको रकम फिर्ता दिन्छ । गत वर्षबाट सुरु भएको निक्षेप सुरक्षण योजना अन्तर्गत अधिकांश विकास बैंक र फाइनान्स कम्पनीले सम्झौता गरिसकेका छन् । यस वर्षको बजेटले सुरक्षणको रकम ५ लाख रुपैयाँ पुर्याउने उल्लेख गरेको छ । निगमले अर्धवाषिर्क समीक्षा गरेर छिट्टै नयाँ योजना र परिमार्जन गर्ने जनाएको छ ।
No comments:
Post a Comment