काठमाडौ, कार्तिक १५ - दुई वर्षदेखि निरन्तर झरिरहेको सेयर बजारका लगानीकर्तालाई यस वर्षको सुरुवात पनि उत्साहजनक हुन सकेन । आर्थिक वर्ष २०६८/६९ को पहिलो त्रैमासिकको सेयर बजार हेर्दा बजारको अवस्था देखाउने पुँजीकरण, परिसूचक र कारोबार रकम कुनैमा पनि सुधार देखिएको छैन ।
परिसूचकमा पनि यस अवधिमा ४७ दशमलव ४१ बिन्दुको गिरावट आएको छ । बजार परिसूचक असोज ३० मा ३ सय ३० दशमलव ९९ बिन्दुमा पुगेको छ । यो तीन महिना अघि ३ सय ७८ दशमलव ४० थियो । नेप्सेका अधिकांश उपसमूहमा पनि गिरावट आएको छ । उत्पादनमूलक, व्यापार, जलविद्युत्, बिमा, वित्त कम्पनी, अन्य र विकास बैंक समूहमा गिरावट आएको छ ।
कारोबार रकममा पनि गिरावट कायम छ । पहिलो महिना १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा दोस्रो महिनामै उक्त रकम घटेर ४७ करोड ९० लाखमा झरेको छ । तेस्रो महिना कारोबार रकम ३९ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।
'पहिलो त्रैमासिकमा सेयर बजारलाई महत्त्व दिएर हेर्ने गरिन्छ,' सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले भने, 'यो अवधिले पूरै वर्षको प्रतिनिधित्व गर्ने गर्छ ।' नयाँ आर्थिक वर्ष सुरु भएपछि साधारणतया कारोबारमा वृद्धि देखिने गर्छ । तर पछिल्ला केही वर्षमा बजार निरन्तर घटिरहेको छ । लगानीकर्ताले अपेक्षा अनुरूप प्रतिफल नपाएपछि बजारमा गिरावट आएको भट्टराई बताउँछन् ।
लगानीकर्तालाई प्रोत्साहन गर्न सरकारले बजेटमार्फत पुँजीगत लाभकरलाई १० बाट ५ प्रतिशतमा झरेको थियो । यसका साथै राष्ट्र बैंकले पनि मौदि्रक नीतिमार्फत सेयर धितोकर्जालाई केही खुकुलो बनाएको थियो ।
सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, बिमा संस्थान लगायत ठूला संस्थालाई सेयर बजारमा लगानी गर्न आग्रह गर्दै आएको छ । तर अधिकांश संस्थाले बजारमा जोखिम रहेको भन्दै लगानी गरेका छैनन् ।
बजारमा सुधार ल्याउने आशा सहित केन्द्रीय निक्षेप प्रणाली सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि थप केही महिना लाग्ने देखिएको छ ।
सेयर बजारमा प्रत्यक्ष असर पर्ने बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार आउँदै गएको छ । तर उच्च ब्याजदर र सेयर बजारबाट आउने कम प्रतिफलका कारण लगानीकर्तामा उत्साह आएको देखिँदैन । 'हाल वाणिज्य बैंकले दिइरहेको ब्याजदरको तुलनामा सेयरबाट आउने प्रतिफल ज्यादै न्यून छ,' भट्टराईले भने ।
निक्षेप वृद्धि हुन थालेपछि तुरुन्तै ब्याजदर कम गर्न सकिने अवस्था नरहेको बैंकर बताउँछन् । 'बैंकले हाल ब्याजदर कम गरेर वृद्धि भइरहेको निक्षेपमा जोखिम लिन सक्दैनन्,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले भने ।
No comments:
Post a Comment