काठमाडौ, अषाढ २५ - घरजग्गा क्षेत्रमा आएको शिथिलताका कारण बैंकिङ क्षेत्रमा समस्या आएको र पुँजी पलायन हुन थालेको भन्दै व्यवसायीले सुधारका लागि सरकारसँग आग्रह गरेका छन । ७ दिनभित्र माग पूरा नभए विरोधका कार्यक्रम सुरु गर्ने चेतावनी दिइएको छ ।
ब्याजसमेत तिर्न नसक्ने अवस्था अाएकाले घरजग्गा क्षेत्रमा दिइएको ऋण पुनर्तालिकीरण गर्नुपर्ने माग उनीहरूको छ । यसरी पुनर्तालिकिकरण गरिएको कर्जाको कम्तीमा एक वर्ष जोखिम व्यवस्थापन गर्न नपर्ने व्यवस्था पनि राख्न माग गरेका छन् । कर्जा जोखिम व्यवस्थापन (प्रोभिजनिङ) सहितको पुनर्तालिकीकरणले वित्तीय संस्थाको नाफामा असर पर्ने देखिएको छ । घरजग्गा क्षेत्रको ऋणलाई एकै पटक 'ब्रेक' लगाइएकाले समस्या आएको संघका द्वितीय उपाध्यक्ष इच्छाबहादुर वाग्ले बताउँछन् । 'राष्ट्र बैंकले यो क्षेत्रको लगानी एकै पटक झार्दा समस्या आएको हो,' वाग्लले भने, 'हरेक क्षेत्रमा ४० प्रतिशत लगानी गर्न पाइने नियम छ ।'
घरजग्गा क्षेत्रलाई नियमन नभएर नियन्त्रण गर्दा समस्या आएको उनले बताए । 'जग्गाको भाउ धेरै बढेको हो,' उनले भने, 'तर नियन्त्रण सीमा तोक्नुभन्दा पनि अरू उपाय थिए ।'
सरकारले पुँजी पलायन लगायत विषयमा ध्यान नदिएर मुलुकभित्रै भइरहेको कारोबारमा अंकुश लगाएको व्यवसायीले बताएका छन् ।
घरजग्गा क्षेत्रको लगानीमा सीमा बढाउन पनि व्यवसायीलेे माग गरेका छन् । हाल २५ प्रतिशतसम्म रहन सक्ने घरजग्गा क्षेत्रको लगानीलाई बढाएर ४० प्रतिशत पुर्याउनुपर्ने माग उनीहरूको छ । बजार मूल्यको ७० प्रतिशतसम्म ऋण उपलब्ध हुनुपर्ने उनीहरूले बताएका छन् । घरजग्गा क्षेत्रको लगानी अनुत्पादक भएको र अस्वाभाविक मूल्यवृद्धि देखिएको भन्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई यस क्षेत्रको लगानी घटाउन निर्देशन
दिएको थियो । १ करोड २० लाख रुपैयाँसम्म मूल्य पर्ने घर वा अपार्टमेन्ट खरिद गर्न लिइने कर्जालाई रियलस्टेट नभई घरकर्जाका रूपमा राख्नुपर्ने माग छ ।
निक्षेप जम्मा गर्दा स्रोत खुलाउनुपर्ने प्रावधानका कारण समस्या आएको भन्दै व्यवसायीले यसको सीमा १० लाखबाट बढाएर ५० लाख पुर्याउनुपर्ने माग गरेका छन् । घरजग्गा खरिद गर्दा आयस्रोत खुलाउनुपर्ने नियम हटाउन पनि उनीहरूको माग छ । पुँजीगत लाभकर हटाउनुपर्ने र घरजग्गा व्यवसायलाई उद्योगले पाएसरह सुविधा पाउनुपर्ने उनीहरूले बताएका छन् । विदेशी नागरिकले पनि फ्ल्याट खरिद गर्न पाउनुपर्ने समेत व्यवसायीको माग छ । बैंकबाट लगानी हुन छाडेपछि घरजग्गाको खरिद बिक्रीमा उच्च गिरावट आएको छ ।
No comments:
Post a Comment