Saturday, June 25, 2011

क्यापिटल मर्चेन्ट तरलता समस्यामा

रोशन अधिकारी
काठमाडौ, अषाढ ११ - क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स (सिएमबिएफ) ले वित्तीय अनुशासन कायम गर्न नसक्दा संस्थामा चरम तरलता अभाव भएको छ । सर्वसाधारणले निक्षेप फिर्ता माग्न थालेपछि शुक्रबार सबै कार्यालय बन्द राखेको थियो । 

'हामीले कर्जा उठाएर छिट्टै कार्यालय खोली निक्षेपकर्ताको पैसा फिर्ता दिन कडा निर्देशन दिएका छौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने । उनले संस्थामा व्यवस्थापकीय र तरलताको समस्या देखिएको बताए । 'निक्षेपकर्ता डराउनु पर्ने अवस्था छैन,' उनले भने, '२ लाख रुपैयाँसम्मको निक्षेप बिमा गरिएको छ र संस्थाका कर्जा पनि उठ्ने देखिन्छ ।'
केही समयअघि राष्ट्र बैंकले गरेको स्थलगत अध्ययनपछि संस्थाबारे विभिन्न हल्ला ठूला निक्षेपकर्ताबीच चलेको थियो । राष्ट्र बैंकको अध्ययनमा सिएमबिएफबाट प्रभावित करिब १ अर्ब ४० करोड रुपैयाँ जोखिममा देखिएको थियो । 'राष्ट्र बैंककै स्रोतबाट अध्ययनमा देखिएका कुरा ठूला र प्रभावशाली निक्षेपकर्तासम्म पुगेपछि  रकम झक्िने क्रम बढेर कम्पनीमा समस्या देखिएको हो,' राष्ट्र बैंकको उच्च स्रोतले भन्यो । अति गोप्य राखेर कारबाही अघि बढाए पनि अध्ययन प्रतिवेदनका विभिन्न जानकारी बाहिर आएको हो । घरजग्गामा भएको लगानीमा अनियमितता भएको र हाल मन्दीको अवस्था भएकाले समस्या सजिलै हल नहुने स्रोतले बतायो ।
अनुसन्धानको क्रम सुरु भएपछि प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका सबै सदस्यको सम्पत्ति रोक्का भएको छ । यसबाहेक एक साताअघि संस्थाले माग गरेको विशेष पुनर्कर्जालाई पनि राष्ट्र बैंकले दिन अस्वीकार गरेको छ । 'संस्थागत सुशासनको अभाव देखिएकाले पुनर्कर्जा तुरुन्तै नदिने भनेर फर्काइयो,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो । ठूला निक्षेपकर्ताले रकम झकिेपछि पछिल्लो समय फाइनान्समा तरलता अभाव भएर पुनर्कर्जाको माग गरेको थियो ।
संस्थाको व्यवस्थापन र सञ्चालक समितिमा रहेका विभिन्न व्यक्ति लामो समयदेखि वित्तीय क्षेत्रमै कार्यरत हुन् । कम्पनीको वेबसाइट अनुसार प्रमुख कार्यकारी अधिकृत दीपकराज शर्मासँग बैंकिङ क्ष्ाेत्रमा २४ वर्ष काम गरेको अनुभव छ ।
संस्थाले वेबसाइटमा राखेको विवरणमा दुई सञ्चालक राष्ट्र बैंकका पूर्वकर्मचारी समेत रहेको उल्लेख छ । अध्यक्षमा राष्ट्र बैंकका पूर्व डेपुटी चिफ म्यानेजर विज्ञानप्रसाद पौडेल छन् । यसबाहेक अर्का सदस्य लक्ष्मणप्रसाद पौडलले राष्ट्र बैंकको ३५ वर्षे जागिरमा सुपरिवेक्षण विभागका डेपुटी चिफ इन्सपेक्टरबाट अवकाश पाएको उल्लेख छ । विभिन्न संस्थामा उनी वित्तीय सल्लाहकारका रूपमा छन् । अन्य तीन सञ्चालक समिति सदस्यमा डम्बरबहादुर बस्नेत, सोमराज रेग्मी र सुस्मा केसी छन् ।
सिएमबिएफको चुक्ता पुँजी ९३ करोड ५० लाख रुपैयाँ छ । २०५८ माघ १९ गतेबाट कम्पनीले कारोबार सुरु गरेको हो । काठमाडौंको बत्तिसपुतलीमा कर्पोरेट कार्यालयका साथै रविभवन, डल्लु र न्युरोडमा यसका शाखा छन् । उपत्यका बाहिर पोखरा, बुटवल, हेटौंडा, वीरगन्ज, नेपालगन्ज, इटहरी, दमक र बिर्तामोडमा शाखा सञ्चालनमा छन् ।
संस्थाले २०६७ चैत मसान्तमा प्रकाशन गरेको वित्तीय विवरणअनुसार निष्त्रिmय कर्जा २ दशमलव ९६ प्रतिशत छ । सिएमबिएफले घरजग्गा क्षेत्रमा ८४ करोड रुपैयाँ लगानी गरेको उल्लेख छ । यसबाहेक सेयर धितो कर्जामा पनि उल्लेख्य लगानी छ । उक्त समय कम्पनीले ४ करोड ८ लाख रुपैयाँ मुनाफा गरेको विवरण प्रकाशित भएको थियो ।
यसका साथै पिपल्स फाइनान्समा पनि राष्ट्र बैंकले अध्ययन जारी राखेको छ । 'हामीले विभिन्न निर्देशन दिएका छौ' ज्ञवालीले भने, 'अहिल्यै सबै जानकारी आइसकेको छैन ।' यसका कार्यकारी अध्यक्ष छविलाल भुसाल केही समयअघि एकाएक सम्पर्क बाहिर गएपछि समस्या
बाहिर आएको थियो । पिपल्स फाइनान्समा पनि घरजग्गामा भएको लगानीले जोखिम बढेको अध्ययनमा देखिएको छ ।

No comments:

Post a Comment