Thursday, June 23, 2011

तरलतामा सामान्य सुधार

काठमाडौ, अषाढ ९ - आर्थिक वर्ष सकिनै लाग्दा बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या केही कम भएको छ । रिपो जारी हुने क्रम बढ्दै जानु, ट्रेजरी बिल्सको बट्टादर र अन्तर बैंक ब्याजदरमा आएको कमीले तरलता अभावमा केही कमी देखिएको हो । आर्थिक वर्ष सकिने बेला सरकारले गरेको खर्चका कारण पनि वित्तीय क्षेत्रमा सहजना देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट खरिद गर्ने ट्रेजरी बिल्सको बट्टादर चैतपछि घट्दै गएको छ । तरलता अभावका कारण ९१ दिनको बट्टादर चैतमा ९ दशमलव ६ प्रतिशत पुगेको थियो । यो १४ वर्ष यताकै उच्च हो । वैशाखमा ९ प्रतिशतमा झरेको बट्टादर असारमा साढे ८ मा आइपुगेको छ । बट्टादर घट्दै जानु तरलता बढ्नुको सूचक हो ।
लामो समय दोहोरो अंकमा रहेको अन्तर बैंक ब्याजदर (बैंकहरूले एकअर्कालाई ऋण दिँदा लिने ब्याज) पनि एक अंकमा झरेको छ । पछिल्लोपटक ८ प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक कारोबार गरिरहेका छन् । अन्तर बैंक ब्याजदर यसै वर्ष १२ प्रतिशतसम्म पुगेको थियो ।
तरलताको समस्या चर्किए विशेष पुनरकर्जा र अन्तिम ऋणदाताका रूपमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउन थालेको छ । 'रिपो, पुनरकर्जा, विशेष पुनरकर्जा लगायतका माध्यमबाट तरलता प्रवाह गरिरहेका छौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'यसले केही सुधार देखिएको छ ।' सेयर बजारमा देखिएको सुधार पनि यसको असर हुन सक्ने उनले बताए ।
'राष्ट्र बैंकले तरलताका लागि दिएको विभिन्न विकल्पले बजारमा सकारात्मक असर गरेको छ,' लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले भने, 'तरलता समस्या भएकालाई राष्ट्र बैंकले सहयोग गर्छ भनेर सर्वसाधारणको आत्मविश्वास बढेको छ ।'
तरलताको अवस्था देखिएको झनिो सुधारसँगै राष्ट्र बैंकले सेयर धितो कर्जा खुकुलो गर्ने चर्चा चलेपछि सेयर बजार उकालो लाग्न थालेको छ ।

No comments:

Post a Comment