Monday, June 20, 2011

'विनिमय दर पुनरावलोकन नेपालको इच्छाअनुसार'

रोशन अधिकारी
मुम्बई, अषाढ ६ - भारतीय रिजर्भ बैंकका गभर्नर डी सुब्बराओले नेपाली र भारतीय मुद्रा बीचको स्थिर विनिमय दरमा कुनै परिवर्तन नहुने बताएका छन् । आवश्यकताअनुसार नेपालको अनुरोधमा मात्र परिवर्तन गर्न सकिने उनले बताए । 'यसमा नेपालका तर्फबाट अनुरोध आए केही हुन सक्छ,' नेपाली पत्रकार सँगको छलफलमा उनले भने, 'भारतले यसको परिवर्तनबारे कुनै सोच बनाएको छैन ।' 

२०४८ सालदेखि दुई देशबीच १ सय भारतीय रुपैयाँ (भारु) बराबर १ सय ६० रुपैयाँमा स्थिर विनिमय दर तोकिएको छ । दोस्रो वर्ष पनि नेपालमा शोधनान्तर घाटा भएपछि  विनिमय दर पुनरावलोकन हुनुपर्ने केही अर्थविद्को धारणा छ । राष्ट्र बैंकले भने परिवर्तनको तुरुन्तै सम्भावना नरहेको बताउँदै आएको छ । भारतसँग रहेको व्यापार निर्भरताले विनियम दर परिवर्तन गर्दा बजार भाउ निरन्तर आकासिने खतरा हुन्छ । यसअघि करिब तीन दशक पहिले विनियम दर परिवर्तन हुँदा दुई वर्षसम्म उच्च मूल्यवृद्धिको मार खेप्नुपरेको
थियो । गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाली रुपैयाँ भारुसँग १५ प्रतिशतले अधिमूल्यन भएको जनाएको थियो । यसअनुसार परिवर्तन हुँदा मूल्यमा निकै चाप पर्ने हुँदा नेपाल राष्ट्र बैंक पनि परिवर्तन गर्ने मनस्थितिमा छैन ।
भारतीय अनुरोधमा नेपालमा कारोबार रोकिएको ५ सय र १ हजार दरका भारतीय नोट खुला गर्न सकिने बारे सोधिएका प्रश्नमा सुब्बराओले कुनै प्रतिक्रिया दिएनन् । ठूला दरका भारतीय नोटको खुला कारोबार हुन नसक्दा भारतमा व्यापार गर्ने, पर्यटक र विद्यार्थीलाई समस्या भएकाले नेपालले खुलाउन अनुरोध पनि गर्दै आइरहेको छ ।  तर नेपालको बाटो भएर नक्कली भारतीय रुपैयाँ भित्रिएको सूचनाका आधारमा भारतीय रिजर्भ बैंकले कारोबारमा रोक लगाएको हो ।
खुला सिमाना रहे पनि सम्पत्ति शुद्धीकरण रोक्न कुनै समस्या नरहेको गभर्नर सुब्बराओले बताए । भारतको आर्थिक विकाससँगै मूल्यवृद्धि ठूलो समस्या बनिरहेको उनले बताए । 'आर्थिक वृद्धिदरलाई कायम राख्दै मूल्यवृद्धि कम गर्नु अहिलेको चुनौती हो,' उनले भने ।
पछिल्लो समय भारतमा मुद्रास्फीति दर ९ प्रतिशत नाघेको छ । यसलाई कम गर्न एक साताअघि रिजर्भ बैंकले रिपो दर (बैंकहरूलाई केन्द्रीय बैंकले दिने ऋणको ब्याजदर) बढाएको छ । मूल्य वृद्धि कायम रहे दर पुनः बढ्ने गभर्नरले बताएका छन् । यो ब्याजदरका कारण सर्वसाधारणले लिने ऋण महँगो भएको छ ।
प्रतिशतको वृद्धिदरको रफ्तारले अघि बढिरहेको भारतसँग गाँसिएको नेपालको कुल गार्हस्थ्य उत्पादन यस वर्ष ३ दशमलव ४७ ले बढ्ने अनुमान छ । पछिल्लो विश्वव्यापी आर्थिक मन्दीको असर विकसित र विकासोन्मुख मुलुकमा फरक प्रकृतिमा परेको सुबराओले बताए । 'पश्चिमी मुलुकमा वित्तीय क्षेत्रबाट घरजग्गा क्षेत्रमा असर परेको थियो,' उनले भने, 'त्यसको विपरीत भारतमा भने घरजग्गा क्षेत्रबाट वित्तीय क्षेत्रमा असर देखिएको हो ।' यस्तो असरलाई न्यूनीकरण गर्दै लैजान भारतीय केन्द्रीय बैंकले लिएको कदमले सुधार भएको उनी बताउँछन् ।

No comments:

Post a Comment