रोशन अधिकारी
मनिला (फिलिपिन्स), फाल्गुन १० - राजधानी मनिलाभन्दा करिब २ सय किलोमिटर बाहिरी बजारमा ५८ वर्षे रिजनाल्डो टियोङसन जिएम बैंकको शाखामा भेटिए । कुनै कम्प्युटर र इन्टरनेट सुविधा नभएको उक्त शाखाबाट रिजनाल्डो आफन्तलाई पैसा पठाउँदै थिए । 'उनी सातामा ३ दिन पैसा पठाउँछन्,' शाखाकी कर्मचारी चारमानी डोमिङ्गोले हातको मोबाइल खेलाउँदै भनिन् । दोभासेको सहारामा रिजनाल्डोले पनि मोबाइल प्रयोग गरेर पैसा पठाउँदा सजिलो भएको बताए । सोही बैंकमा खाता भएका रिजनाल्डोले आफ्नो बचत पनि मोबाइलमार्फत नै प्रयोग गर्दा रहेछन् ।
जनसंख्याको करिब एक तिहाइले मात्र बैंकिङ सेवा प्रयोग गर्ने फिलिपिन्समा पछिल्लोपटक बैंकहरूले नयाँ प्रविधिमार्फत आफ्नो लागत र ग्राहकको सुविधा बढाउँदै लगेका छन् । मोबाइल फोनमार्फत हुने कारोबार -मोबाइल कमर्स) सुरु भएको १० वर्षमा १ सयभन्दा बढी ग्रामीण बैंक र एक वाणिज्य बैंकले यस्तो सेवा दिन थालेका छन् । यसबाहेक बैंकमा खाता नभए पनि मोबाइल फोनमार्फत कारोबार गर्नेको संख्या बढ्दै गएको छ ।
मोबाइल सेवा प्रदायक र प्रविधि -प्लाटर्फम) उपलब्ध गराउने कम्पनी मिलेर विद्युतीय थैली -बालेट) मार्फत कारोबार थालेपछि केन्द्रीय बैंकले समेत विशेष विभागमार्फत नियमन थालेको छ । 'कारोबार वृद्धि, समयको बचत र कम लागतजस्ता विशेषता यसमा छ,' केन्द्रीय बैंकका एक कर्मचारीले भने । मोबाइल सेवा प्रदायक कम्पनी ग्लोब र स्मार्टले यस्ता विद्युतीय थैलीको सेवा ग्राहक र बैंक तथा वित्तीय संस्थालाई दिइरहेका छन् । केन्द्रीय बैंकबाट बैंकिङ कारोबार अनुमति नपाएका संस्थाले यस्तो सेवा सञ्चालन गर्न रेमिट्यान्स कम्पनीको इजाजत लिनुपर्छ । सेवा प्रदायकले विभिन्न स्थानमा न्यूनतम सुविधा भएको शाखा खोलेका छन् । अधिकांश स्थानमा भने एजेन्टमार्फत नै कारोबार भइरहेको छ । 'यसमा पैसा झक्िने र राख्ने दुवै काम हुने भएकाले रेमिट्यान्स कम्पनीको इजाजत अनिवार्य गरिएको हो,' उनले भने । प्रविधिमार्फत नगदलाई विद्युतीय स्वरूप दिइने गरेको छ । ग्राहकले तोकिएको केन्द्रमा गएर पैसालाई विद्युतीय थैलीमा राख्न सक्छन् । यसरी राखिएको पैसाबाट विभिन्न सेवाको बिल भुक्तानी गर्न, सामान खरिद गर्नेलगायत काम आफैं गर्न सकिन्छ । यसको भुक्तानी विधि मोबाइलबाट ब्यालेन्स ट्रान्सफर गरेजस्तै हुन्छ । यसबाहेक उक्त विद्युतीय थैलीमा रहेको पैसालाई बैंक खातामा स्थानान्तरण गर्न पनि सकिन्छ । स्थानान्तरण गरिएको पैसा झक्िन वा पुन मोबाइलमै फर्काउन पनि सकिन्छ ।
'विपन्न क्षेत्रमा सेवा विस्तार गर्नका लागि यो प्रविधिले धेरै सहयोग गरेको छ,' युटिबा र ग्लोब मोबाइलको सेवा लिइरहेको जिएम बैंक लघुवित्त विभागका एक कर्मचारीले भने, 'दुई टेबल र दुई मोबाइलबाट नै शाखा सञ्चालन गर्न सकिन्छ ।' यसबाहेक विकट स्थानका ग्राहकलाई सजिलो बनाउन बैंकहरूले स्थानीय एजेन्ट नियुक्त गर्ने गरेका छन् । यस्ता एजेन्टले पैसा संकलन गरेर एकमुष्ट बैंकमा जम्मा गर्ने काम गर्छन् ।
यसबाहेक बैंक आफैंले पनि पैसा संकलन गर्न कर्मचारी खटाउने गरेका छन् । 'विकट ठाउँबाट दैनिक छ जनाको हाराहारीबाट पैसा संकलन गर्ने गरेको छु,' जिएम बैंकका कर्मचारी अल्डि्रन डी मारक्युजले भने, 'यसबाट ८ देखि १० हजार रकम संकलन हुन्छ ।'
मोबाइल कमर्स र ई-कमर्स मोबाइल सेवा प्रयोग गरेर एक स्थानबाट अर्कोमा कुनै वस्तु ट्रान्सफर गरिनु मोबाइल कमर्स हो । यसलाई ई-कमर्स -विद्युतीय व्यापार) भन्दा फरक मानिन्छ । ई-कमर्सले कुनै पनि बैंक वा वित्तीय संस्थासम्म पुग्ने माध्यम दिएर कारोबार गराउँछ तर मोबाइल कमर्समा यो चाहिँदैन । ई-कमर्सका लागि बैंक खाता र इन्टरनेट अनिवार्य हुन्छ भने मोबाइल कमर्समा यो दुवैको अनिवार्यता छैन । इन्टरनेट प्रयोग गर्न नसक्ने र बैंक खाता नभएकालाई पनि मोबाइल कमर्सले वित्तीय सेवा दिने गर्छ । पछिल्लो समय भारत, फिलिपिन्स, इन्डोनेसिया, मेक्सिोको, मादागास्कर, मलेसिया, घाना, बंगलादेश, थाइल्यान्डलगायत मुलुकमा युटिबाले उपलब्ध गराउने मोबाइल कमर्स प्रयोग भइरहेको छ । सरोकारवालाको अवलोकन भ्रमण फिलिपिन्समा सेवा प्रदान गरिरहेको युटिबाले नेपाललाई पनि लक्षित बजारका रूपमा प्रवर्द्धन गरिरहेको छ । युटिबाले कारोबार सञ्चालन विधि र सुरक्षाबारे जानकारी दिन एक नेपाली टोलीलाई फिलिपिन्सको भ्रमण गराएको हो । युटिबाको नेपाली साझेदार केआरएस सोलुसनमार्फत राष्ट्र बैंक र नेपाल टेलिकमका अधिकारीलाई भ्रमणमा सामेल गरिएको थियो । भ्रमणका क्रममा फिलिपिन्सको केन्द्रीय बैंक, ग्रामीण विकास बैंकहरूको छाता संगठन र एक निजी बैंकले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालमा वित्तीय पहुँच विस्तार गर्न र बैंकलाई शाखारहित सेवा विस्तार गर्न कम्पनीले सहयोग गर्न सक्ने जनाएको छ ।
No comments:
Post a Comment