रोशन अधिकारी
काठमाडौ, फाल्गुन १२ - घरजग्ग्गा कारोबारमा सुस्तता आएपछि वाणिज्य बैंकले ऋणीलाई जग्गा बिक्री गर्न दबाब दिन थालेका छन् । कारोबार कम हुनुका साथै राष्ट्र बैंकले तोकेको सीमाभित्र ऋण ल्याउन पनि बैंकहरूले यो कदम चाल्न थालेका हुन् । बैंकहरूले भने यसलाई सुझाव भन्दै आएका छन् ।
अधिकांश वाणिज्य बैंकले छोटो समयमै यस क्षेत्रको लगानी घटाउन थालेका छन् । लामो समयका लागि दिइएको ऋण भए पनि बिक्रीलाई दबाब दिएर यस क्षेत्रको ऋण घट्न थालेको हो । 'जति बढी समयसम्म बिक्री नगर्यो त्यति नै मूल्य घट्ने सम्भावना रहन्छ,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'ब्याज तिर्न नसक्ने अवस्था आइसकेकाले ग्राहकलाई बिक्रीको सुझाव दिइरहेका छौं ।'
वाणिज्य बैंकले कारोबार उच्च भएको समयमा जग्गाको मूल्यको ८० प्रतिशतसम्म लगानी गरेका छन् । कारोबार घटेपछि मूल््य बढ्ने क्रम रोकिएको छ । बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ पनि सुरुको मूल्य नपाउने अवस्था आउँदा बिक्री गरेर समयमै सुरक्षित हुन सुझाव दिने गरेको बताए । 'एकातर्फ ब्याजको बोझ हुन्छ,' उनले भने, 'अर्कोतर्फ लामो समय राख्न मूल्य के हुने हो थाहा हुँदैन ।' लामो समय 'होल्ड' गर्दा ग्राहकका साथै बैंकले पनि नोक्सानी बेहोर्नुपर्ने भएकाले बिक्री गर्नु बुद्धिमानी हुनेे उनले बताए ।
सञ्चालनमा रहेका वाणिज्य बैंकले घरजग्गाका विभिन्न क्षेत्रमा करिब १ खर्ब लगानी गरेका छन् । जसमध्ये ठूलो हिस्सा जग्गामा मात्र छ । घरजग्गा व्यवसायी पनि बैंकले 'चिन्ता लिनु' स्वाभाविक भएको बताउँछन् । 'बजारमा सुधार नभए बैंकलाई पनि ठूलो असर पर्छ,' जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनीले भने, 'त्यसैले यस्तो कुरा आउनु स्वाभाविक हो ।' केही घरजग्गा व्यवसायीले भने जग्गा बिक्री गरी ऋण चुक्ता गर्न वा कुल ऋणको २५ प्रतिशत भुक्तानी गरिहाल्न बैंकले दबाब दिएको बताए ।
अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा माछापुच्छ्रे, डिसिबिएल र किस्ट बैंकले १ अर्ब ँपैयाँको हाराहारीमा यस क्षेत्रबाट ऋण घटाएका छन् । नयाँ खुलेका र सीमा भित्र रहेका केही बैंकले भने लगानी बढाएका छन्् । बढ्नेमा ग्लोबल, जनता, लक्ष्मी, लुम्बिनी, मेगा, नेपाल बैंक, एनआइसी, एनएमबी, एसबिआई बैंक छन् । कमर्ज एन्ड ट्रस्टले भने घरजग्गामा लगानी गरेको छैन ।
पछिल्लो समयमा जग्गाको कारोबार गर्न ऋण लिएकाले ब्याज तिर्न छाडेपछि बैंकहरूको खराब कर्जा र नोक्सानी दुवै बढ्दै गएको छ । बैंकहरूले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १२ वटाको खराब कर्जा बढेको छ ।
यसका साथै आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब १ करोड रुपैयाँको कर्जा नोक्सानी व्यवस्था गरेका वाणिज्य बैंकको दोस्रो त्रैमासिकमा यो रकम २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
घरजग्गा क्षेत्रको कारोबार घटेर ब्याज उठ्न छाडेपछि बैंकहरूले पनि राष्ट्र बैंकलाई लगानीको सीमामा पुनर्विचार गर्न आग्रह गरेका थिए । यसबाहेक घरकर्जालाई
खुकुलो बनाउनुपर्ने माग पनि उनीहरूको छ ।
'घर आधारभूत आवस्यकता भएकाले यसमा हुने लगानी जोखिममा हुँदैन' बैंकर्स संघका एक पदाधिकारीले भने, 'घर कर्जालाई खुकुलो बनाउन हामीले आग्रह गरेका छौं ।' घरजग्गा व्यवसायीले पनि जग्गा कारोबारमा नभएर घरकर्जालाई मात्र भए पनि खुकुलो बनाउन आग्रह गर्दै आएका छन् ।
'हामीले केही समयअघि कार्यक्रम गरेर समस्या र समाधानका बारेमा राष्ट्र बैंकका पदाधिकारीलाई जानकारी गराएका थियौं,' लोहनीले भने, 'केही महिनामै खुकुलो हुने आस गरेका छौं ।'
घरजग्गाको कारोबारमा शिथिलता आएपछि यसबाट उठ्ने राजस्वमा पनि उच्च गिरावट आएको छ । अघिल्लो वर्षसम्म तोकिएको लक्ष्यभन्दा दोब्बर राजस्व उठ्ने गरे पनि यसवर्ष आधा समेत उठेको छैन । तथ्यांकअनुसार आर्थिक वर्षको ६ महिनामा काठमाडौंका ५ मालपोत कार्यालयले १ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठाएका छन् । यस अवधिको लक्ष ३ अर्बभन्दा बढी लक्ष तोकिएको थियो ।
No comments:
Post a Comment